बामपन्थी सरकारलाई चिनियाँको साथ, कुल विदेशी लगानी प्रतिवद्धताको ७८% चीनबाटै



काठमाडौं । चालु आर्थिक वर्षमा सबैभन्दा चीनबाट विदेशी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार गत साउन १ गतेदेखि कात्तिक ४ गतेसम्मको तथ्यांकलाई हेर्दा १३ अर्ब २६ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिने भएको छ ।

कुल ८ देशबाट ८२ कम्पनीमार्फत् नेपालमा सबै कम्पनीबाट गरी ४ हजार ५७३ जनाले रोजगारी पाउनेछन् ।

सबैभन्दा धेरै चीनबाट मात्रै ७० वटा कम्पनीमार्फत् १० अर्ब ३४ करोड ९० लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । चिनियाँ लगानीकर्ताको चासो होटल तथा रेष्टुराँमा देखिएको छ । जहाँ ५ अर्ब ६२ करोड रुपैयाँ लगानी हुनेछ ।

पछिल्लो समय नेपालमा चिनियाँ पर्यटक बढेसँगै चिनियाँ रेष्टुराँ खुल्ने क्रम बढेकाले चिनियाँ लगानी त्यसैतर्फ बढेको जानकारहरु बताउँछन् । चीनले ३६ वटा होटल तथा रेष्टुराँ लगानी गर्ने भएको उद्योग विभागले जानकारी दिएको छ ।

दोस्रो नम्बरमा रहेको भारतबाट ४ वटा कम्पनीमा २ अर्ब ३० करोड रुपैयाँ विदेशी लगानी आएको छ । जसबाट १२६ जनाले रोजगारी पाउनेछन् । तेस्रो नम्बरमा रहेको बेलायतबाट २१ करोड रुपैयाँमा २ वटा कम्पनीमा विदेशी लगानी हुनेछ । जसबाट ४१ जनाले रोजगारी पाउनेछन् ।

पछिल्लो समय गार्मेन्ट व्यवसायमा निकै प्रगति गरेको बंगलादेशले निर्यातमा समेत अग्रस्थानमा छ । बंगलादेशले नेपालमा पनि गार्मेन्ट उद्योग स्थापनाका लागि १५ करोड रुपैयाँको लगानी गर्ने भएको छ ।

त्यस्तै, जापानबाट १० करोड १० लाख रुपैयाँ, हङकङबाट ५ करोड रुपैयाँ, पाकिस्तानबाट ५ करोड रुपैयाँ र अष्ट्रेलिया ५ करोड रुपैयाँको विदेशी लगानीको नेपाल भित्रिएको छ ।

कुन क्षेत्रमा कहाँबाट कति प्रतिवद्धता ?

उद्योग विभागका अनुसार चालु आवको ३ महिनामा चीनबाट मात्रै ३६ वटा होटल तथा रेष्टुराँमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता आएको छ ।

चिनियाँ लगानीकर्ताहरुले ५ अर्ब ६२ करोड रुपैयाँ लगानीको ल्याउने भएका छन् ।

चिनियाँ लगानीकर्ताबाट सबै क्षेत्रमा गरी कुल १० अर्ब ३४ करोड ९० लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएमध्ये जसमध्ये सबैभन्दा ५४ प्रतिशत लगानी पर्यटन क्षेत्रमा भएको छ । जसमा अधिकांश होटल र रेष्टुराँ छन् ।

३६ वटामध्ये एउटा होटलमा मात्रै नेपाली लगानीकर्ता साझेदार छन् । जसको १० प्रतिशत मात्रै लगानी हुनेछ । भने बाँकी सबै ३६ वटा होटल तथा रेष्टुराँमा शतप्रतिशत चिनियाँ लगानी हुनेछ । ३६ वटा होटल तथा रेष्टुराँबाट १ हजार ४९८ जनाले रोजगार पाउनेछन् ।

३ महिनामा आएको प्रतिबद्धता अनुसार सबैभन्दा ठूलो चिनियाँ लगानीमा काठमाडौंमा मार्गरेट होटल एन्ड रेष्टुराँ सञ्चालनमा आउनेछ । जसमा चिनियाँ पक्षको ३० करोड रुपैयाँ लगानी हुनेछ । होटलमा ४८ वटा बेड हुनेछन भने रेष्टुराँमा ६० जना बस्ने क्षमताको हुनेछ ।

चिनियाँ लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि ३० करोड रुपैयाँसम्म लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

कृषि तथा वन क्षेत्र

कृषि क्षेत्रमा चीन सरकारले ५ करोड लगानीमा कोस्ड स्टोर सञ्चालन गर्ने भएको छ । उद्योग विभागका अनुसार तीन क्षेत्र निर्माण, खनिज, उर्जाका लागि भने यस अवधिमा कुनै पनि लगानी आएको छैन ।

सूचना तथा प्रविधि क्षेत्रमा भने सफ्टवेयर निर्माण तथा विकासका लागि अष्ट्रेलिया र चीनमार्फत विदेशी लगानी भित्रिएको छ । २ देशबाट ७ वटा कम्पनीमार्फत यो लगानी भित्रिने भएको हो ।

जसमध्ये अष्ट्रेलियाबाट एउटा सफ्टवेयर कम्पनी सञ्चालनका लागि ५ करोड रुपैयाँको विदेशी लगानी र चीनबाट ६ वटा कम्पनीमार्फत् २५ करोड रुपैयाँका दरले १ अर्ब ५० करोडको लगानी भित्रिने भएको हो ।

उत्पादन मुलक क्षेत्रमा भने जम्मा ७ वटा उद्योगका लागि लगानी गर्ने प्रतिवद्धता आएको छ । जसमा बंगलादेश र भारतबाट एक–एक वटा कम्पनीमा लगानी गर्न आउने भएका छन् । बंगलादेशबाट गार्मेन्ट उद्योगका लागि १५ करोड रुपैयाँको लगानी आएको छ भने भारतबाट उत्पादनमूलक उद्योगका लागि ५ करोड रुपैयाँको लगानी गर्ने प्रतिवद्धता आएको छ ।

उत्पादनमुलक क्षेत्रमा पनि सबैभन्दा बढी चीनबाट ५ वटा कम्पनीले लगानी गर्ने भएका छन् । ती ५ वटा कम्पनीमा ७० करोड ८० लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता गरेका हुन् । चिनियाँ कम्पनीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ६ करोड रुपैयाँदेखि २४ करोड ८० लाख रुपैयाँसम्म लगानीको प्रतिबद्धता जनाएका छन् ।

सेवामूलक क्षेत्रमा भने ६ वटा देशले चासो देखाएका छन् । जसमा सबैभन्दा ठूलो प्रतिवद्धता भारतबाट आएको छ । भारतले एउटा इन्भेस्टमेन्ट कम्पनी सञ्चालनका लागि २ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

त्यस्तै, चीनले मात्रै २२ वटा कम्पनीमार्फत २ अर्ब ४७ करोड १० लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस क्षेत्रमा बेलायतले स्पा सेन्टरमा ५ करोड रुपैयाँ र कन्सट्रक्सन एन्ड अपरेसन अफ बिजनेस कम्पेक्स इन्डस्ट्रीमा १६ करोड रुपैयाँ गरी बेलायतबाट कुल २१ करोड रुपैयाँको प्रतिवद्धता आएको छ ।

पाकिस्तानबाट कन्स्ट्रक्सन कम्पनी सञ्चालनका लागि ५ करोड रुपैयाँ, जापनबाट ५ करोड १० लाख रुपैयाँ लगानी भित्रिने भएको उद्योग विभागले जानकारी दिएको छ ।


पुष्प दुलाल