३ वर्षमा ४९ जिल्लाका २१ लाखले गरे स्वास्थ्य बीमा, यो वर्ष सबै जिल्लामा पुर्याइने



काठमाडौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमा योजना कार्यक्रममा ३ वर्षमा ४९ जिल्लाका २१ लाख जनसंख्या आबद्ध भएका छन् ।

२०७२ चैतबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हालसम्म ७ वटा प्रदेशका ४९ वटा जिल्लामा सञ्चालन भइसकेको छ ।

कमजोर आर्थिक अवस्थाका कारणले गर्दा नै उपचार गराउन नसक्नेहरुलाई स्वास्थ्य सेवाको पहँुचमा पुर्याउन सरकारले कार्यक्रम ल्याएको थियो ।

‘हालसम्म ४९ वटा जिल्लाका २१ लाख जनसंख्या लाभान्वित भइसकेका छन्’ स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमाशंकर प्रसादले भने ।

बोर्डका अनुसार हालसम्म बीमितबाट २ अर्ब ५० करोड रुपैयाँ प्रिमियम शुल्क संकलन भइसकेको छ भने २ अर्ब ५० करोड दाबी भुक्तानी समेत भइसकेको छ ।

‘३ वर्षमा ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजना थियो’ उनले क्लिकमाण्डुसँग भने ‘यससँग सम्बन्धित ऐन कानुन निमार्णमा ढिलाइ भएकाले कार्यक्रम योजनाअनुसार अगाडि बढ्न सकेको छैन ।’

उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने लक्ष्य लिएको बताए ।

स्वास्थ्य बीमा कार्यक्रम ग्रामीण भेगका गरिब परिवारलाई लक्षित गरी ल्याइएको थियो । सरकारले ३ वर्ष अगाडि कैलाली बाग्लुङ र इलामबाट कार्यक्रम सुरु गरेको थियो ।
प्रसादले कार्यक्रमलाई ग्रामीण भेगबाट काठमाडौ विस्तार गर्ने बताए ।

स्वास्थ्य बीमा कार्यक्रम देशका सबै नागरिकहरुलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले ल्याइएको थियो ।

जनताका लागि नै भनेर ल्याइएको सरकारी कार्यक्रममा निजी स्वास्थ्य संस्थाहरुको संलग्नता न्यून हुँदा जनताहरु यसबाट लाभांवित हुन नसकेको प्रसादले बताए ।
कार्यक्रममा सरकारी स्तरका सबै र निजी स्तरका ५० भन्दा शैय्या भएका अस्पताल आवद्ध छन् ।

कार्यक्रममा आबद्धलाई बीमितबाट संकलित रकम अपुग भएमा सरकारले नै उपचारको खर्च व्यहोर्छ । यसले गर्दा निजी स्वास्थ्य संस्था घाटामा जाने डरले निजी क्षेत्र कार्यक्रममा आबद्ध नभएको हुन सक्ने उनको अनुमान छ ।

के हो स्वास्थ्य बीमा कार्यक्रम ?
स्वास्थ्य बीमा भन्नाले सामान्यतयाः कुनैपनि बीमा सस्थाहरुले स्वास्थ्यमा हुने जोखिमको भार बहन गर्नु हो । रोग तथा दुर्घटनाका कारण हुने स्वास्थ्यसम्बन्धी खर्चको जोखिमका लागि गरिने बीमालाई स्वास्थ्य बीमा भनिन्छ ।

स्वास्थ्य बीमामा स्वास्थ्य सम्बन्धि दुर्घटनाबाट हुने हानी नोक्सानी, स्वास्थ्य खर्च, अपांगता वा आकस्मिक मृत्यु र अंगभंगताको बीमा हुन्छ । स्वास्थ्य बीमा गराउने बीमितको रोग तथा चोटपटकमा उपचार गराउँदा लागेको खर्च स्वास्थ्य बीमा गराउने संघ सस्थाले बेहोर्छ ।

हाल निजी क्षेत्रका बीमा कम्पनीहरुले पनि स्वास्थ्य बीमा योजना ल्याएका छन् ।

नेपालमा सरकारीस्तरबाट नै २०४० सालबाट स्वास्थ्य बीमा सुरु भएको हो । सुरुवाती अवस्थामा यो कार्यक्रमबाट संस्थागतरुपमा स्वास्थ्य बीमा गरिन्थ्योे । तर विगत ३ वर्षयता सरकारले नै सबै नागरिकमा स्वास्थ्य बीमाको पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सुरु गरेको थियो । सोही अनुसार चालु आर्थिक वर्षको बजेटमा पनि ७७ वटै जिल्लामा स्वास्थ्य बीमा पुर्याउने लक्ष्यसहित सरकारले यो कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट छट्याएको छ ।

स्वास्थ्य बीमा गरेपछि बिरामी पर्दा वा चोट–पटक लाग्दा उपचार खर्च बीमा बापत पाइन्छ । सरकारले पनि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय तिरेपछि ५ जनासम्मको परिवारका सदस्यले १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने व्यवस्था गरिदिएको छ ।

यदी कुनै परिवारमा ५ जनाभन्दा बढी सदस्य भएमा २०० रुपैयाँ थप गरी ७०० रुपैयाँ वार्षिक प्रिमियम तिरेपछि १ वर्षमा २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचारको सुविधा पाउँछन् ।

स्वास्थ्य बीमा योजनाले कस्मेटिक सर्जरी, गर्भपतन र लिंग परिवर्तनदेखि बाहेकका सम्पूर्ण स्वास्थ्य उपचार समेटेको छ ।

योजनामा आबद्ध बीमितले व्यक्तिले स्वास्थ्य सेवा उपभोग गर्ने समयमा औषधी, चिकित्सकसँग स्वास्थ्य परीक्षण, आकस्मिक सेवा, निःशुल्क अस्पताल भर्ना आदि सुविधा पाउँछन् ।

यसबाहेक स्वास्थ्य सम्बन्धी कुनै अतिरिक्त खर्च बेहोर्नुपरेमा बीमा योजनाको सञ्चालकबाट सो खर्च पाउँछन् । नेपाल सरकारले सहुलियतमा वितरण गर्ने १ हजार १३३ प्रकारका औषधी स्वास्थ्य बीमा योजनाले निशुल्क दिएको छ । भने यीदेखि बाहेकका औषधीहरु बीमितले प्रयोग गर्नुपर्ने भएमा स्वयम्ले खर्च व्यहोर्नुपर्छ ।

स्वास्थ्य बीमा योजनामा कसरी आवद्ध हुने ?
स्वास्थ्य बीमा योजनामा व्यक्तिगत र संस्थागत गरी २ प्रकारका छन् । परिवार तथा व्यक्ति एकलरुपमा गर्ने बीमालाई व्यक्तिगत स्वास्थ्य बीमा भनिन्छ । त्यस्तै, संस्थाले संस्थागतरुप गर्ने बीमालाई संस्थागत स्वास्थ्य बीमा भनिन्छ ।

व्यक्तिगत वा संस्थागत रुपमा स्वास्थ्य बीमामा आवद्ध हुन आफ्नो वडामा रहेका दर्ता सहयोगीमार्फत् स्वास्थ्य बीमा योजनाको फारम भरी यस योजनामा आवद्ध हुन सकिन्छ ।

व्यक्तिगत स्वास्थ्य बीमा गर्न परिचय खुल्ने परिचयपत्र चाहिन्छ । स्वास्थ्य बीमा गर्ने सो व्यक्ति ५ वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्छ ।

परिवारमा ५ जनासम्मको व्यक्ति गत स्वास्थ्य बीमा गराउँदा वार्षिक ५०० रुपैयाँ र ५ जनादेखिमाथि वार्षिक ७०० रुपैयाँ बीमा शुल्क बुझाउनु पर्ने हुन्छ ।

त्यस्तै, संस्थागत स्वास्थ्य बीमा गर्नका लागि कुनै कम्पनी वा उद्योगको प्यान नम्बर, लेटरप्याडसहित कम्तीमा ५ देखि १० जना र बढीमा सीमा नलगाई कम्पनीले नै प्रिमियम दिने गरी बीमा गर्न सकिन्छ ।

यसको भुक्तानी पनि कम्पनीकै नाममा हुन्छ । यदी बीमित व्यक्ति दीर्घरोगी छ, गर्भवती छ वा बीमा गरे लगत्तै २८ दिनभित्रै कुनै बिरामी परेमा भने बीमा कम्पनीले उपचार व्यहोर्दैन । अरु विरामी वा अगभंग हुँदा सरल तरिकाले भुक्तानी गर्छ ।

सात प्रदेशको स्वास्थ्य बीमा अवस्था
प्रदेश १ मा हालसम्म १४ वटा जिल्लामध्ये ९ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । जसमा ५ लाख ३५ हजार जना आवद्ध भइसकेका छन् । प्रदेशका बाँकी ५ जिल्लामा यो वर्ष कार्यक्रम पुर्याउने लक्ष्य बोर्डको छ ।

प्रदेश २ मा स्वास्थ्य बीमा योजनामा हालसम्म ५६ लाख १ हजार १७ जना आवद्ध भइसकेका छन् । कुल ८ वटा जिल्ला रहेको यस प्रदेशमा महोत्तरी, पर्सा, रौतहट, धनुषा र सिराहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइसकेको छ । बाँकी ३ वटा जिल्लामा यो कार्यक्रम अझै पुग्न सकेको छैन ।

प्रदेश ३ को ५ वटा जिल्लामा कार्यक्रम पुगेको छ । जसमा भक्तपुर, मकावानपुर, चितवन, रामेछाप र सिन्धुलीमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ भने बाँकी ८ वटा जिल्लामा कार्यक्रम सुचारु हुन बाँकी छ ।

गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये ७ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । जहाँ ३ लाख ४५ हजार २७३ जनालाई स्वास्थ्य बीमा योजनाले समेट्न सफल भएको छ । भने ४ वटा जिल्लामा कार्यक्रम पुग्न बाँकी छ ।

प्रदेश ५ का १२ वटा जिल्लामध्ये ८ वटा जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ । जसमा पाल्पा, बर्दिया, रोल्पा, पूर्व रुकुम, प्युठान, अर्घाखाँची, कपिलवस्तु र बाँके जिल्लाका ३ लाख ९३ हजार ९७० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भइसकेका छन् । यस प्रदेशका ४ वटा जिल्लामा भने कार्यक्रम पुग्न सकेको छैन ।

त्यस्तै, कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये ८ वटा जिल्लामा कार्यक्रम पुगेको छ । जसमा जाजरकोट, सुर्खेत, पश्चिम रुकुम, जुम्ला, कालिकोट, हुम्ला, डोल्पा र मुगु जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइसकेको छ । कार्यक्रममा हालसम्म १ लाख ८० हजार ४०० जना आवद्ध भइसकेका छन् । कर्णाली प्रदेशका सल्यान र दैलेखमा मात्र यो कार्यक्रम सुचारु हुन बाँकी छ ।

सुदुपश्चिम प्रदेशका ९ वटामध्ये ७ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । जसमा कैलाली, अछाम, बैतडी, बाजुरा, बझाङ, दार्चुला र कञ्चनपुर जिल्लाका २ लाख ३१ हजार जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जसमध्ये कैलाली जिल्लाबाट मात्रै १ लाख २९ हजार ८१८ जना कार्यक्रममा आवद्ध भइसकेका छन् । प्रदेशका बाँकी डोटी र डडेल्धुरामा भने यो कार्यक्रम सुचारु हुन बाँकी छ ।


क्लिकमान्डु