मेरो सेयरको नयाँ सफ्टवेर प्रयोग गर्दा समस्या आयो ? यसरी पाउनुहोस् छुटकारा



काठमाडौं । मेरो सेयर प्रयोगकर्ताका लागि यतिबेला यसको प्रयोगको विषयले निकै अन्योलता सिर्जना गरेको छ । पहिलाको सफ्टवेयर चलाउँदै आएका लगानीकर्ताहरुले नयाँ सिस्टम चलाउन समस्या भएको र नयाँ सिस्टम पनि नबुझेको गुनासो गर्दै आएका छन् ।

लगानीकर्ताले यसमा समस्या देखियो भनेर गुनासो गरेपछि यसको प्रयोगको विषयमा हामीले केही जानकारी गराउन खोजेका छौं ।

पहिलो डिपी आईडी, आफ्नो क्लाइन्ट कोड राखेर पासवर्ड राखेपछि एकाउन्ट खुल्छ । एकाउन्ट खुलेपछि ड्यासबोर्ड पहिलाको भन्दा निकै फरक खालेको देखिन्छ ।

जुन पहिलाको ड्यासबोर्ड भन्दा निकै सूचना मुलक रहेको छ । यहाँ अघिल्लो दिनको क्लोजिङ प्राइजको आधारमा सेयर मूल्य त्यसको भ्यालु कति छ, तत्काल कुनै कम्पनीको आईपीओ खुला भएको छ भने त्यसको जानकारी र बाँडफाँड भएको छ भने त्यसको पनि जानकारी ड्यासबोर्डमा नै रहेको छ ।

यस्तै बजार मूल्यका आधारमा आफूसँग भएको होल्डिङको आधारमा टप ५ वटा कम्पनी पनि थाहा पाउन सकिन्छ । त्यस्तो छिटो बन्द हुन लागेका ५ वटा कम्पनीको पनि जानकारी पाउन सकिन्छ । जसले गर्दा कुन कम्पनीको आईपीओको आवेदन दिने समय, हकप्रद भर्ने समयको बारेमा जानकारी पाउन सकिन्छ । त्यस्तै बजारमा आएका कम्पनीमध्ये टप ५ कम्पनीको पनि जानकारी पाउन सकिन्छ ।

ड्यासबोर्डमा नै भारित औषत गणना गर्न बाँकी रहेका कम्पनीको पनि जानकारी पाउन सकिन्छ । ड्यासबोर्डलाई अझै परिमार्जन गर्ने तयारीमा सिडिएससी रहेको छ ।

लगइन गर्नासाथ चाहिने विषयलाई ड्यासबोर्डमा नै राख्ने तयारीमा रहेको सिडिएससीले जनाएको छ । माइ डिटेल्समा पहिला कै जस्तो छ । माइ सेयरमा पनि पुरानै अनुसार रहेको छ । यसमा परिवर्तन भएको छैन ।

ट्यान्ज्याक्सन हिस्ट्रीमा भने केही परिमार्जन गरेको सिडिएसले जनाएको छ । पहिलाकोमा कुन कुन कम्पनी कहिले ट्रयान्ज्याक्सन भयो भन्ने थियो । अहिले यसमा डेबिट र क्रेडिट पनि देखिने सिस्टम राखिएको छ । पहिला ट्र्न्ज्याक्सन क्वान्टिटी मात्रै हुनेमा अहिले डेबिट र क्रेडिट पनि राखिएको छ । यो लगानीकर्ताको लागि आवश्यक ठानेको सिडिएससीले जनाएको छ ।

अहिले लगानीकर्ता बढी झुक्किएको ठाँउ भनेको माई आश्वा हो । यसमा लगानीकर्ता निकै झुक्किएको भनिरहेका छन् । यसमा भने विन्डो नयाँ रहेको छ । नयाँ भए पनि यो झनै सहज खालको रहेको छ । यसमा पहिलो क्लिकमा करेन्ट इस्यु भएका कम्पनीको बारेमा देखाउँने छ । यसको दायाँ भागमा भएर एप्लाई फर इस्युमा गएर क्लिक गरेपछि कतिवटामा आफूले आवेदन दिन पाउने हो त्यो मात्रै बाहिर देखाउँछ ।

मानौ कुनै कम्पनीको हकप्रद सेयर खुला भएको छ । त्यसमा आवेदन दिनको लागि तपाईसँग सेयर हुनै पर्छ । यो अप्सनमा क्लिक गरेपछि तपाइले आवेदन दिन पाउने भए देखाउँछ नपाउने भए केही पनि देखाउँदैन । आफुले आवेदन दिने कम्पनी वा साधारण सेयर खुलेका कम्पनीको बारेमा पूर्ण जानकारी चाहिएको खण्डमा त्यसको जानकारी पनि त्यही एक क्लिकमा जानकारी पाउन सकिन्छ ।

एप्लाई गर्नको लागि भने पहिलोकै जस्तै हो कुनै पनि परिवर्तन भएको छैन । त्यही भएको एप्लिकेशन रिपोर्टमा नयाँ सिस्टम बनेको भएर पुरानो डाटा राखिसकेको छैन । जुन समयमा यो सिस्टम सुरु भयो त्यो समयमा इस्यु भएको कम्पनी बाहेकअरु कम्पनीको अहिले देखाएको छैन ।

यो सिस्टममा एक पटक एप्लाई गरेपछि एप्लाई गरेको कम्पनीको सेयर बाँडफाँड भएको वा नभएको देखि आवश्यक सबै रिपोर्ट पाउन सकिन्छ । जुन लगानीकर्ताको हितमा नै हुन्छ । पुरानो डाटाको लागि लिंकेज हुनेछ । पहिलाको सिस्टम फरक भएकोले लिंकेज गर्न लागेको बताइएको छ ।


क्लिकमान्डु