जलविद्युतमा हालसम्मकै ठूलो वैदेशिक लगानी, ४५ अर्ब ३० करोडको लगानी सम्झौता आज




काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा विभिन्न ९ वटा अन्तर्राष्ट्रिय दातृ निकायले हालसम्मकै ठूलो लगानीसम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् ।

शुक्रबार राजधानीमा आयोजना हुने कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा माथिल्लो त्रिशुली एक आयोजनाका प्रबद्र्धकसँग सम्झौता हुन लागेको हो ।

कुल २१६ मेगावाट क्षमताको आयोजना निर्माणका लागि कोरियाली लगानीकर्ताले नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट नामक कम्पनी स्थापना गरेको छ ।

कम्पनीका अनुसार आयोजानामा विश्व बैंक समूहको आईएफसी एसियाली विकास बैंक चिनियाँ स्वामित्वको एसियन इनफ्रास्ट्रक्चर बैंक, कोरियन एक्जिम बैंक, कोरियाली विकास बैंक, कमन वेल्थ नेदरल्याण्ड डेभलोपमेन्ट फाइनान्स कम्पनी, फ्रेञ्च डेभलोपमेन्ट फाइनान्सियल इन्स्च्यिुट र ओपेक फन्डले ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

निर्माण अवधिको ब्याज समेत गरी कुल ६४ अर्ब ७३ लाख रुपैयाँ लागन अनुमान गरिएको आयोजना २०८१ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लामो समय अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने वा नगर्ने भन्ने विवादमा परेको आयोजनाको गत वर्ष मात्रै उक्त सम्झौता भएको थियो ।

तोकिएको समयभन्दा करिब ४ वर्षपछि उक्त सम्झौता भएको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेनट कम्पनीले आयोजना अब भने तोकिएको समयमा पूरा गर्ने दाबी गरेको छ ।
सन् २००७ मा अनुमति पत्र लिएको उक्त कम्पनीले लामो प्रयासपछि शुक्रबार वित्तीय सम्झौता गर्ने चरणमा आइपुगेको हो ।

आयोजनामा कोरिया साउथ वेस्ट पावरको ५२ प्रतिशत सेयर स्वामित्व छ । आम कोरियाली लगानीकर्ता समेत उसको सेयर हिस्सा ७८ प्रतिशत छ भने नेपाली साझेदारको १० प्रतिशत र आईएफसीको १२ प्रतिशत हिस्सा छ ।

सन् २०१६ को डिसेम्बरमा परियोजना विकास सम्झौता गरेको कम्पनीले गत वर्ष मात्रै प्राधिकरणसँग पीपीए गरेको हो ।

रसुवाको धुञ्चे र मैलुङको बीचमा पर्ने हाकुमा निर्माण हुने विद्युतगृहमा ७२ मेगावाट क्षमताका ३ वटा टर्वाइन राखिनेछ । आयोजनाबाट उत्पादित विद्युत २२० केभी क्षमताको प्रसारण लाइनमार्फत् निर्माणधिन त्रिशुली थ्री बी सव–स्टेसनमा जोडिनेछ ।


क्लिकमान्डु