बोनस सेयरको आश गर्दा एभरेष्ट बैंकबाट लगानीकर्ताको एकसातामा २ अर्ब चैट !



काठमाडौं । सेयर बजारमा गिरावट आउनुमा कतिले सरकार तथा नियामक निकायलाई दोष दिने गरेका छन् भने कतिपयले कम्पनीले दिने लाभांशलाई आधार मानेर पनि बजारबाट कमाउने गर्दछन् ।

कतिपय अवस्थामा लगानीकर्ताको उच्च महत्वकांक्षाले नै आफ्नो लगानी डुबाउने गरेको पाइन्छ । जसको उदाहरण पछिल्लो समय लाभांश घोषणा गरेको एभरेष्ट बैंकलाई नै लिन सकिन्छ ।

तर एभरेष्ट बैंकका लगानीकर्ता भने आफ्नै कारण डुबेका छन् । बैंकले गत आवको वितरणयोग्य नाफा हेर्दा बैंकले लगानीकर्तालाई लाभांश दिने क्षमता २७ प्रतिशत थियो । बैंकले लगानीकर्तालाई असोज २७ गते २० प्रतिशत नगद र ५ प्रतिशत बोनसहित २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले लाभांश घोषणा गरेयता लगानीकर्ताले आफ्नै कारण प्रतिकित्ता २५ रुपैयाँ गुमाएका छन् । असोज २३ गते बैंकको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको थियो । जुन दिन बैंकले लाभांश घोषणा गर्यो त्यो दिन अर्थात २७ गते बैंकको सेयर मूल्य प्रति कित्ता १४ रुपैयाँले घटेर ५६० रुपैयाँ रह्यो ।

यता २८ गते ५५४, २९ गते ५४६, ३० गते ५४७ र कात्तिक ३ गतेसम्म आईपुग्दा बैंकको सेयर मूल्य प्रति कित्ता ५४९ रुपैयाँ रहेको छ ।

बैंकले लाभांश घोषणा गरेपछि घटेको सेयर मूल्यको कारण बैंकको बजार पूँजीकरण समेत घटेको छ । बैंकले लाभाशं घोषणा गर्नुअघि बैंकको बजार पुँजीकरण ४६ अर्ब ७ करोड ४१ लाख ९७ हजार ६३८ रुपैयाँ रहेको थियो ।

आइतबार अर्थात् कात्तिक ३ गतेसम्म आईपुग्दा बैंकको बजार पुँजीकरण २ अर्ब ६७ लाख १५ हजार ९२५ रुपैयाँले घटेर ४४ अर्ब ६ करोड ७४ लाख ८१ हजार ७१३ रुपैयाँमा आएको छ ।

बैंकले लगानीकर्तालाई दिएको लाभांश हेर्ने हो भनेपनि आव २०६९/०७० मा ५०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस, २०७०/०७१ मा ५० प्रतिशत नगद र १२ प्रतिशत बोनस, २०७१/०७२ मा ६.५७ नगद र ३० प्रतिशत बोनस दिँदा आव २०७२/०७३ मा नगद लाभांश नदिइ बैंकले ७० प्रतिशत बोनस दिएको थियो ।

यता आव २०७३/०७४ बैंकले १.७४ प्रतिशत नगद र ३३ प्रतिशत बोनस दिएको थियो । त्यसयता बैंकले लगानीकर्तालाई दिने बोनसमा कडाइ गरेको छ । आव २०७४/०७५ बैंकले लगानीकर्तालाई बोनस नदिइ २० प्रतिशत नगद लाभांश दिएर निरास बनाएको थियो ।

यस्तै आव २०७५/०७६ मा भने लगानीकर्तालाई जम्मा ५ प्रतिशत बोनस दिएर २० प्रतिशत नगद दिएको छ ।


पुष्प दुलाल