धितोपत्र बोर्डका अध्यक्ष कार्कीले ४ वर्षमा के-के गरे ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले जाँदा जाँदै आफूले गरेका कामको फेहरिस्ता सार्वजनिक गरेका छन् ।

असोज २९ गते देखि ४ वर्षे कार्यकाल पुरा गरेर बोर्डबाट बिदा हुन लागेका कार्कीले आफूले गरेको कामको फेहरिस्ता सार्वजनिक गरेका छन् । उनी २०७२ कार्तिकदेखि ४ वर्षको लागि बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

उनले सार्वजनिक गरेको कामको फेहरिस्ता निकै लामो देखिएको छ । जसमा कार्कीले पहिलो चरणको सुधार नेप्सेमा हुँदा नै गरेको र दोस्रो चरणमा भने बोर्डमा रहेर सेयर बजारमा सुधार गरेको दाबी गरेका छन् ।

आफ्नै कार्यकालमा पाँच सरकार र पाँच अर्थमन्त्रीसँग काम गर्दा पनि आर्थिक तथा वित्तीय क्षेत्रमा लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा विज्ञता, बैंक तथा धितोपत्र बजार संचालन साथै नियमन दुबैको अनुभव, कानूनको ज्ञान, व्यवस्थापकीय क्षमता, सुधारमा प्रतिवद्धता, लगनशिलता र इमान्दारिताको साथै बोर्ड टिमको कारणले धेरै राम्रो काम गरेको दाबी गरेका छन् । उनले आफूले गरेको काम सम्झदाँ आफैैलाई गर्व लागेको समेत जनाएका छन् ।

उनले डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणाली र अटोमेशनले गर्दा धितोपत्र बजार पारदर्शी र आधुनिक भई नेपाल दक्षिण एशियामा अग्रपंक्तीमध्येमा आएको, आइपिओदेखि लिष्टिंग ट्रेडिंगसम्म छ महिनाबाट एक महिनामा हुने र आइपिओ बाँडफाँट तीन महिनाबाट एक हप्तामा हुने व्यवस्थाले समय र लगानी लागत उल्लेख्य घटेको उनको दाबी छ ।

आफ्नै डिम्याट खाता र बैंक खतामा सेयर तथा रकम स्वतः जम्मा हुने व्यवस्था, प्राथमिक बजारमा १० कित्तासम्म आवेदन दिन पाउने, साथै आवेदकले न्यूनतम १० कित्ता पाउने व्यवस्था, आस्वामार्फत स्थानीय निकायसहित ७७ जिल्लामा पहुँच, दोस्रो बजार सवै प्रदेशसहित प्रमुख आर्थिक केन्द्रहरुमा विस्तार, लगानीकर्ताको संरचना समावेशीरुपमा वृद्धि, धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससीओको सदस्यतामार्फत अन्तर्राष्ट्रिय मान्यताप्राप्तसहित बोर्र्डको संस्थागत क्षमता अभिवृद्धि इत्यादि उपलब्धिहरु रहेको जनाएका छन् ।

कार्कीले प्राथमिक बजार सुधार तथा विकास, डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणालीपश्चात घन्टौ लाईन वस्नुपर्ने, सिमित स्थानबाटमात्र दरखास्त दिन सक्ने, लामो समयसम्म आफ्नो रकम होल्ड हुने तथा पूरा ब्याज नपाउने जस्ता समस्याहरुको समाधान गरेको जनाएका छन् ।

उनले एक नेपाली एक डिम्याट खाताको साथै ५० को सट्टा १० कित्तासम्म आवेदन दिन पाउने, साथै न्यूनतम १० कित्ता पाउने व्यवस्थामार्फत बजार समावेशी भएको जनाएका छन् । कार्की आफैले एफपिओको मूल्य निर्धारणका मापदण्ड तय तथा एकचोटी एफपिओ निश्काशन गरेपछि ५ वर्षसम्म निष्काशन गर्न नपाउने , अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको जनाएका छन् ।

उनले २०६४ सालको कारोबार अटोमेशनपछि २०७२ माघदेखि नामसारी राफसाफ अटोमेशनको शुरुआत गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था गरिएको जनाएका छन् । धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक बनाई ४० प्रतिशतसम्म कम गरिएको, लगानीकर्ताले मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था गरेको, एक मात्र क्लियरीङ्ग बैंकको सट्टा तीन क्लियरीङ्ग बैंक थप गर्ने व्यवस्था गरेको र दोस्रो बजार विस्तार र विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा उपत्यकाबाहिरको प्रमुख केन्द्रहरुबाट समेत आवेदन दिनसक्ने व्यवस्था मिलाएको जनाएका छन् ।

कार्कीले आफूले गरेको काममा ब्रोकर र मर्चेन्ट बैंकिङ्ग सेवा÷क्षेत्र विस्तार सुदृढीकरणः मर्चेन्ट बैंकरको पूँजी वृद्धिसहित संस्थागत परामर्शको सेवाको कार्यक्षेत्र थप र सेवा सुदृढसहित काडमाडौं बाहिर शाखा विस्तार,धितोपत्र व्यवसायीको पूँजी वृद्धिसहित कार्यक्षेत्र (मार्जिन कारोवार) वृद्धि, सेवा र शाखापूर्वाधार सुदृढ र शाखा विस्तारको व्यवस्था मिलाएको जनाएका छन् ।

उनले खुलामुखी सामूहिक लगानी योजना संचालन गर्ने व्यवस्था गेरेको, भेन्चर क्यापिटल, प्राइभेट इक्युटी र हेज फण्डको संचालन गर्न विशिष्टिकृत लगानी कोषको व्यवस्था गरेको र ब्रोकरबाट मार्जिन कारोवार हुने व्यवस्था मिलाएको जनाएका छन् ।

धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहन गर्न न्यूनतम १० प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्न पाउने, प्रिमियममा यस्तो निष्काशन गर्न पाउने साथै सरकारबाट १५–२५ प्रतिशतसम्म आयकर छुट सहितको प्याकेज प्रोग्रामको व्यवस्था गरिएको जनाएका छन् ।

उनले ओटिसीबजार कारोवार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरी ओटिसी बजारलाइ सक्रिय-प्रभावकारी बनाइएको र धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्बन्धित निक्षेप सदस्य (डिपी) बाट हुने व्यवस्था गरेको जनाएका छन् ।


क्लिकमान्डु