दशैंअघि नै बैंकमा सकियो पैसा, अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता)को अभाव निकै हुन थालेको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव हुन थालेपछि बैंकहरुको भारित औषत अन्तर बैंक ब्याजदर यति बेला बढेर ५.३६७८ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकका अनुसार साउन र भदौमा सामान्य रहेको भारित औषत अन्तर बैंक ब्याजदर न्यून रहेपनि एकाएक भदौ मसान्तमा यो अंक बढेको थियो । यति बेला भदौको रेकर्ड पनि असोजमा तोडिएको छ । असोज लागेपनि बैंक तथा वित्तीय संस्थामा तरलताको निकै अभाव देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले साउन सुरु भएयता पनि विभिन्न समयमा आधार दरसहित नयाँ–नयाँ ब्याजदर पनि सार्वजनिक गरि नै रहेका हुन्छन । त्यसले पनि बैंकमा निक्षेप कर्ताका आकर्षण कम रहेको देखिएको छ । अझ यो त चाडबाडको मौसम भएकाले बैंकहरुलाई तरलता व्यवस्थामा झनै समस्या हुने देखिएको छ ।

भदौ मसान्तमा अन्तरबैंक ब्याजदर ४.५०३ प्रतिशत रहेको थियो । असोज १ गते भने यो अंक बढेर ५.०३३९ प्रतिशत पुगेको थियो । असोज २ गते १ गतेको तुलनामा केही घटेर ४.४१६८ प्रतिशत रहेको छ ।

त्यस यता असोज १० गते मात्रै औषत अन्तर बैंकिङ ब्याजदर घटेर ३.८३२९ प्रतिशत रहेको थियो । बाँकी हरेक दिन ४ प्रतिशत भन्दा बढी नै रहेको छ ।

भदौ १२ मा १.०६१५ प्रतिशत रहेको बैंकको औषत अन्तर बैंकिङ ब्याजदर एक महिनाको अवधिमा बढेर ४.३०६३ प्रतिशतले बढेको छ । एक महिनाको तुलनामा यसरी बैंकको औषत अन्तर बैंकिङ ब्याजदर बढ्दा बैंकहरुमा तरलताको अभाव निकै बढेको बताइन थालेको छ ।

असोज १५ गतेसम्म बैंकहरुको औषत अन्तर बैंकिङ ब्याजदर ५.३६७८ प्रतिशत पुगेको छ ।


पुष्प दुलाल