रोल्पाका महरा ‘सर’ शक्तिकेन्द्रका खेलाडीदेखि यौन दुराचारीसम्म



काठमाडौं । बलत्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरा तत्कालीन नेकपा (माओवादी) भित्र गच्छदार प्रवृत्तिका रुपमा चिनिन्थे ।

सधै शक्ति र सौकतमा रहन रमाउने महरा आर्थिक मामलामा यसअघि पनि बदनाम पात्र हुन् । चिनियाँ व्यापारीसँग ५० करोड बराबरको रकम मागेको विषय होस वा विवादास्पद व्यापारी अजय सुमार्गीको हेलो नेपाललाई कानून मिचेर मोबाइल सेवा सञ्चालन गर्न दिने विषय नै किन नहोस महरा सधै विवादमा घेरामा पर्दै आएका थिए ।

विशेष गरी आफ्ना अध्यक्ष प्रचण्डलाई सधै थर्काएर पद र शक्तिमा रहन सिपालु महरा अन्ततः नराम्ररी फसेका छन् । उनलाई अब कुनै पनि अर्थमा छुट दिने र सहन गर्ने भन्ने विषय हुनै सक्दैन । सामाजिक सञ्जाल भन्छ, ‘महरामा कुने नैतिकता बाँकी छ भने राजीनामा दिएर मार्ग प्रशस्त गरिदिए हुन्छ । दोष अनुसारको अभियोग भोगे पनि हुन्छ ।’

महरा सधै पदका लोभी थिए र देखिए । उनले कहिल्यै पनि म पदमा जान्न र अरु साथीलाई अवसर देऊ समेत भन्न सकेनन् । कारण उनलाई पदको ठूलो लगाव थियो । पछिल्लो पटक त उनी यौन अराजकतामा समेत नराम्ररी फसेका रहेछन् ।

आरोप लगायो, कोहीले फसायो भनेको भरमा अब कोही पत्याउने वाला छैन । त्यसो त एक थान विज्ञप्ती जारी गरेको भरमा समेत अब उनले छुट पाउने अवस्था छैन । सामान्य नागरिकले कुने महिलालाई अनैतिक नजरले हरेको खण्डमा के कति कारवाही हुन्छ भन्ने त कानून बनाउने निकायको संर्वोच्च संस्थाका मुखियालाई पक्कै पनि थाहा नै होला, आम मानिसले भनिदिइहाल्ने अवस्था छैन ।

महरालाई प्रचण्डले सधै काँधमा बोके र पदको अवसर पनि दिए । तर हजुरबाऊ समेत भइसकेका उच्च पदमा रहेका व्यक्ति, अरुलाई कानून सिकाउने, व्यवहार सिकाउने र सबैका हेडसर समेत ठहरिएका महरा किन बौलाए त ? तथ्यहरु क्रमशः खुल्दै जाला तर उनी विगतको माओवादी र हालको नेकपा भित्रका अर्का गच्छदार हुन्, गच्छदार प्रवृत्तिका मान्छे हुन् ।

विजयकुमार गच्छदार नेपाली काँग्रेसका उपसभापति छन् । उनी व्यक्ति होलान्, तर गच्छदार प्रवृत्ति भने सबै पार्टीमा छ, त्यसको प्रतिबिम्ब समेत देखिएको छ ।

महराले २०४८ सालदेखि सधै लाभको पद लिएका छन । उनका विद्यार्थी धेरैजसो राजनीतिमा नै छन् । उनी हालसम्म ५ पटक सांसद भए । महराको संसदमा पहिलो उपस्थिति ०४८ मै भएको हो । तत्कालीन संयुक्त जनमोर्चाबाट उनी रोल्पाबाट विजयी भएका थिए ।

तत्कालीन संयुक्त जनमोर्चाले देशभरबाट जम्मा ९ सिट जितेको थियो । ०६४ र ०७० का दुई संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन जितेर सभासद भए । गृहजिल्लामा चुनाव लड्न नपाएपछि दाङ झरे, २०७४ मा ।

त्यहाँ स्थानीय नेताको टिकट खोसे । शंकर पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर, आफू प्रतिनिधिसभाका लागि सुरक्षित भए ।

अनि ०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य भएर आए । महराका लागि कुवेर ओलीले उम्मेदवारी फिर्ता लिए । २०६३ मा बनेको अन्तरिम संसदमा माओवादीका तर्फबाट कृष्णबहादुर महराले नेतृत्व गरेका थिए । त्यहाँबाट सिंहदरबार छिरेका महरालाई त्यसपछि पछाडि पर्नुपरेको छैन ।

उनका लागि सिंहदरबारको ढोका सधैँ खुला रहँदै आएको छ । प्रचण्डले उनका लागि २४ घण्टा नै ‘मार्ग प्रशस्त गरिदिएका छन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार–०६३ मा महरा सञ्चारमन्त्री भएका थिए । प्रचण्ड नेतृत्वको सरकार–०६५ मा पनि महरा फेरि सञ्चार मन्त्री भएका थिए ।

यतिमा मात्र उनको रुचि पुगेन । २०६७ मा गृहमन्त्री भए । त्यसपछि उनी प्रचण्ड नेतृत्वको सरकारमा २०७३ मा उपप्रधानसहित अर्थमन्त्री भए । सरकार परिवर्तन भयो, देउवा प्रधानमन्त्री भए । फेरि महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाए । देउवा सरकारबाट बिदा भएपछि अहिले सभामुख ।

माओवादी आन्दोलनमा लड्ने धेरै र लाभ लिने थोरै मध्येका एक हुन महरा । साधन–स्रोत र अवसरको न्यायोचित वितरण नभएको भनेर पटक–पटक विवाद जन्मिए र माओवादी पार्टी पटक–पटक फुट्यो पनि । हाल नेकपा बनेको छ ।

प्रचण्डलाई धम्की र दबाबमा राखेर लाभको पद लिनेहरूलाई केही मतलव भएन । माओवादीभित्र लाभका पद चरम दुरुपयोग गर्ने मध्येका एक पात्र हुन महरा । माओवादी शान्ति प्रक्रियामा आएदेखि हालसम्म पनि सबैभन्दा बढी लाभको पद लिनेमा उनै पर्छन ।

कूल ५० करोडको टेपकान्ड होस् वा टेलिकम कम्पनीलाई लाइसेन्स दिँदा नै होस, महराको विवादित अनुहार सार्वजनिक भएको थियो ।

बेइजिङ र दिल्लीलाई एकै पटक डिल गर्न सक्ने ‘डबल डिप्लोमेसी’ महराको सबैभन्दा ठूलो क्षमताका रुपमा समेत मान्छेहरुले लिने गरेका थिए । विगतमा मोहन वैद्य र प्रचण्डको बीचमा बसेर खेलो फड्को गर्ने राजनीतिक व्यापारीका रुपमा परिचित थिए महरा । भन्न त नारायणकाजी श्रेष्ठलाई त्यस्तो आरोप लगाउँथे, तर नारायणकाजी भन्दा पनि बढी विवादास्पद र डलब स्ट्याण्डर्ड भएका प्रवृत्ति हुन् महरा ।

महराको ज्यादतीका कारण नेकपालाई समेत नैतिक संकट परेको छ । नखाऊ भने दिनभरीको शिकार, खाँउ भने कान्छा बाबुको अनुहार जस्तै ।

त्यसो त नेकपाले महराको विषयमा केही न केही निर्णय अवश्य नै गर्ला, त्यो समयको माग नै बनीसकेको छ । तर महरा भने एउटा काइते विज्ञप्ती जारी गरेर पानीमाथिको ओभानो बन्ने प्रपञ्चमा लागेका छन् ।

चीनमा सामान्य भ्रष्टाचार र नैतिकता माथि प्रश्न उठ्दा नै मृत्युदण्ड दिने चलन छ । नेपालमा मृतइुदण्ड त छैन, तर कानूनी कारवाही गर्ने तथा गराउने छुट भने महरालाई दिन सकिदैन, सामाजिक सञ्जालमा आएका प्रतिक्रिया यस्तै यस्तै छन् ।

तत्कालीन माओवादीमा महरा धेरैका ‘सर’ हुन् र थिए । तर अब सरको गल्तीमा छुट दिन सकिने कुनै स्थान छैन । अब उनी विगतमा जनयुद्धमा जेल नबसेको भएपनि अब भने मार्ग त्यतैतिर प्रशस्त गरेका छन् । बलत्कारको काण्डमा ।

गच्छदार प्रवृत्तिको श्रृखला

२०४८ मा सांसद

२०६३ मा अन्तरिम विधायक

२०६३ मा सञ्चारमन्त्री

२०६४ संविधानसभा सदस्य

२०६५ सञ्चारमन्त्री

२०६७ गृहमन्त्री

२०७० संविधानसभा सदस्य

२०७३ उपप्रधानमन्त्री, अर्थमन्त्री

२०७४ उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री

२०७४ सभामुख

पटक पटक विदेश विभाग प्रमुख र पार्टी प्रवक्ता


क्लिकमान्डु