यी हुन् धितोपत्र बोर्डका अध्यक्ष कार्कीले पूरा गर्न नसकेका कामहरु




काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले आफ्नो ४ वर्षे कार्यकालको अन्तिम समयमा कामको समीक्षा गरेका छन् ।

कार्यकालको अन्तिम समयमा आइतबार समीक्षाको क्रममा उनले आफूले गरेको काम र पाइपलाइनमा रहेका कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।

कार्कीका अनुसार बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई प्रतिस्पर्धात्मक सेवा प्रदान गर्ने काम अन्तिम चरणमा छ । त्यस्तै प्रशिक्षण प्रतिष्ठान र प्रादेशिक कार्यालयको स्थापना, अर्थतन्त्रको आकार र वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बोर्डबाट २ वटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय भएअनुसार अनुमति प्रदान गरी यस्तो बजार सञ्चालन गराउने कार्य अन्तिम चरणमा छ ।

वस्तु विनिमय बजार सञ्चालनका लागि बोर्डबाटै निर्णय भएर अहिले त्यो फाइल अर्थमन्त्रालयमा सह-सचिवको टेबुलमा रहेको उनको भनाइ छ ।

कार्कीले आफूले गरेको काममध्ये पाइपलाइनमा रहेकोमा बोर्डको सुधारका लागि धितोपत्र सम्बन्धी ऐन संशोधनको प्रस्ताव अर्थमन्त्रालयमार्पmत् संसदमा प्रस्तुत भएको उल्लेख गरेका छन् ।

यसका साथै धितोपत्र व्यवसायी (ब्रोकर र मर्चेन्ट बैंकिङ) नियमावली, धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर), नियमावली, सामूहिक लगानी कोष नियमावली, क्रेडिट रेटिङ नियमावली, धितोपत्र दर्ता निष्काशन नियमावलीमा महोत्वपूर्ण संशोधन गरी प्रस्तावित संशोधन अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको कार्कीको भनाइ छ ।

कार्कीका अनुसार ब्रोकरलाई डिलरसिप र एड्भाइजरी सेवा प्रदान गर्नुका साथै धितोपत्र व्यावसायी गाभिने/प्राप्ती हुने, सबै नियमन संस्थामा स्वार्थ बाँझिन नहुने, राइट सेयर दोब्बर भर्न पाउने, सार्वजनिक निष्काशनमा बुक विल्डिङ विधि अपनाउने काम पनि पाइपलाइनमा छ ।

यस्तै स्थानीयले पाउने सेयरको लगइन पिरियड घटाउने, लाइफ इन्स्योरेन्स कम्पनीले म्युचुअल फण्ड सञ्चालन गर्न पाउनेलगायतका व्यवस्था गरिएको कार्कीको भनाइ छ ।
यताभित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थमन्त्रालय स्वीकृतीका लागि पठाउने क्रममा रहेको कार्कीले जानकारी गराए ।

कार्कीले आफ्नो ४ वर्षे कार्यकालमा गरेको कामबाट पाइपलाइनमा रहेका काम सार्वजनिक गर्नुका साथै चूनौतीहरु पनि सार्वजनिक गरेका छन् ।

सेयर बजारमा अध्यक्ष कार्कीले देखेका चुनौतीमा पुँजी बजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने रहेको छ ।

यसका लागि नीतिगत निर्णय भइसकेको भएपनि नेप्सेको कर्पोरेट निजीकरण सुधारको साथै आधुनिक अर्काे स्टक एक्स्चेन्ज स्थापना गरी प्रतिस्पर्धात्मक रहेको उल्लेख गरेका छन् ।
स्वस्थ र आधुनिक बजारको विकास र विस्तार गर्ने, जसबाट आधुनिक सुविधा उपलब्ध भइ दैनिक ५ अर्बको कारोबार हुनसक्ने कार्कीको बुझाइ छ ।

ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउनु तथा अन्तर्राष्ट्रिय स्तरको धितोपत्र कारोबारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाई गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई बजारमा प्रवेश गराउने कार्यलाई चूनौतीको रुपमा लिएका छन् ।

यस्तै नियमन निकायसहित बजार सहभागीहरुको क्षमता अधिवृद्धि गरी नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय रुपमा स्तरोन्नती गराउनुलाई पनि मूख्य चूनौतीका रुपमा कार्कीले लिएका छन् ।


क्लिकमान्डु