दशैंअघि सार्वजनिक यातायातको भाडा नबढ्ने, अटो प्राइस लागू गर्न व्यवसायीको सुझाव



काठमाडौं । सरकारले दशैं अगाडि सार्वजनिक यातायात क्षेत्रको भाडा नबढाउने भएको छ । सरकार, अधिकारकर्मी र व्यवसायीबीच भएको सहमति अनुसार दशैं अगाडि सार्वजनिक यातायातको भाडा नबढाउने सहमति भएको यातायात विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । लामो समयदेखि व्यवसायीहरुले सार्वजनिक यातायातको भाडा बढाउनका लागि पहल गर्दै आएका थिए ।

यातायात व्यवसायी र सरकारबीच गत असोज ६ गते भएको सहमति अनुसार मंसिर २९ गतेभित्र नयाँ वैज्ञानिक भाडादर कायम गरी लागू गर्ने सहमति भएको थियो । तत्कालिन समयमा बढीमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको थियो ।

‘व्यवसायी, अधिकारकर्मी र हामीबीच बैठक भयो, दशैं अघि भाडा नबढाउने सहमति भएको छ’ महानिर्देशक गोगनबहादुर हमालले भने ।

दशैं, तिहारजस्ता चाडपर्वको अवसरमा यात्रुहरुको आवतजावत बढी हुने भएकाले भाडा वृद्धि गर्दा त्यसो मार यात्रुमा पर्ने हुनाले छठ पर्वपछि मात्रै भाडा बढाउने हमालले बताए ।

पछिल्लो समय २०६९ सालमा सार्वजनिक यातायातमा वैज्ञानिक भाडा समायोजन भएको थियो । भने गत असार १ गते नयाँ भाडादर कायम गरिएको सूचना जारी गरेको थियो । तर त्यसको विरोध भएपछि सरकारले तत्कालै उक्त निर्णय फिर्ता लिएको थियो ।

त्यस्तै, दशैंका लागि टिकट बुकिङ खुलाउनका लागि भने फेरि बैठक बस्ने विभागले जनाएको छ । हमालका अनुसार यातायात व्यवसायीसँग आगामी भाद्र २५ र २६ गते पुनः बैठक बसेर टिकट बुकिङबारे निर्णय गरिनेछ ।

यातायात व्यवसायीले भने दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्नु अगाडि नै वैज्ञानिक भाडा हुनुपर्ने माग राख्दै आएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर सुवालले अहिले कुनै पनि निर्णय नभए पनि छठपछि भाडा बढाउनेमा संकेत गरे ।

उनले अब वैज्ञानिक भाडा दर लागू गर्दा अन्तर्राष्ट्रिय मूल्य अनुसार स्वतालित मूल्य प्रणाली (अटो प्राइस) विधि अपनाउनु राम्रो हुने बताए ।

उनले भने, इन्धनको मूल्य जस्तै गरी यातायातको भाडा निर्धारणमा पनि स्वचालित मूल्य प्रणाली लागू गरियो भने सबैलाई सहज हुन्छ ।

सहमति अनुसार दशैंपछि एउटा कार्यदल गठन गर्ने र सोही कार्यदलको सुझाव अनुसार भाडा समायोजन गर्ने सहमति भएको छ ।

अटो प्राइस लागू गर्दा इन्धनको मूल्य, पार्टपुर्जा तथा सवारी साधनसँग सम्बन्धित यन्त्र तथा उपकरणको मूल्य घटबढका आधारमा बनाउनुपर्ने सुवालको सुझावछ ।

अटो प्राइस निर्धारण गर्दा ३५ प्रतिशत इन्धनको मूल्य र ६५ प्रतिशतमा यन्त्र उपकरण, श्रमिकको ज्याल र बीमालगायतका कुरा समावेश गरिन्छ ।


क्लिकमान्डु