विकास बैंकमा २४ प्रतिशतसम्म कल डिपोजिट, कस्को कति ? (सूचिसहित)



काठमाडौं । राष्ट्र बैंकले कल डिपोजिटमा कडाइ गरेपनि बैंकहरुले घटाउन सकेका छैनन् ।

नियामक राष्ट्र बैंकले ०७७ असार मसान्तसम्म कल डिपोजिट वाणिज्य बैंकहरुलाई १० प्रतिशत, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई १५ प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ ।

जुन बैंकले कल डिपोजिटको मात्रा बढाउँछ त्यो बैंक बढी जोखिममा हुने बैंकरहरु बताउँछन् ।

तर गत आर्थिक बर्षको वाणिज्य बैंकहरुको वित्तीय विवरणलाई हेर्दा १६ बैंकहरुको कल डिपोजिट १० प्रतिशतभन्दा बढी छ । प्राइम बैंक र मेगा बैंकको त २० प्रतिशतभन्दा बढी छ । अबको ९ महिनामा ११/१२ प्रतिशतले कल डिपोजिटको हिस्सा घटाउन यी दुई बैंकलाई निकै सकस पर्ने देखिन्छ ।

१६ बैंकको कल डिपोजिट १०% भन्दा बढी, प्राइमको २२.६९ र मेगाको २१.२९%, कस्को कति ?

गत आर्थिक वर्षमा २८ वाणिज्यको कूल निक्षेप २८ खर्ब ७८ अर्ब रुपैयाँ छ । जसमा ३ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ अर्थात् ११.६९ प्रतिशत कल डिपोजिटको मात्रा छ ।

विकास बैंकमा २४ प्रतिशतसम्म

राष्ट्र बैंकको निर्देशन अनुसार ०७७ असार मसान्तसम्ममा विकास बैंकहरुले कूल निक्षेपमा कलको हिस्सा १५ प्रतिशतमा झारिसक्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार ०७६ असार मसान्तमा विकास बैंकहरुको कल डिपोजिट १८.६७ प्रतिशत छ । सञ्चालनमा रहेका ११ वटा राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये ३ वटामा कल डिपोजिटको हिस्सा निकै बढी छ ।

राष्ट्र बैंकका अनुसार ०७६ असार मसान्तमा कैलाश विकास बैंकको २४.२४ प्रतिशत, लुम्बीनी विकास बैंकको २४.१ प्रतिशत र ज्योति विकास बैंकको २३.८४ प्रतिशत कल डिपोजिट छ । गरिमा विकास बैंकको २१.१९ प्रतिशत, गण्डकी विकास बैंकको १९.७० प्रतिशत, देव विकास बैंकको १९.६० प्रतिशत, मुक्तिनाथ विकास बैंकको १८.९५ प्रतिशत कल डिपोजिट छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको १७.३४ प्रतिशत, ओम डेभलपमेन्ट बैंकको १७.२१ प्रतिशत र कामना विकास बैंकको १७.१७ प्रतिशत कल डिपोजिट छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये सबैभन्दा कम कल डिपोजिटको हिस्सा महालक्ष्मी विकास बैंकमा छ । महालक्ष्मीमा जम्मा १४.५१ प्रतिशत मात्रै कल डिपोजिटको हिस्सा छ ।

जति धेरै कल डिपोजिट, उति धेरै समस्या

राष्ट्र बैंकले बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम पनि बढी भएको निष्कर्श निकाल्दै गत आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् कल डिपोजिटको सीमा घटाउने घोषणा गरेको थियो ।

गत जेठ ९ गते निर्देशन नै जारी गरेर राष्ट्र बैंकले ०७७ असार मसान्तसम्ममा कूल डिपोजिटमा कल डिपोजिटको हिस्सा तोकेको हो ।

जुन बैंकले कल डिपोजिटको मात्रा बढाउँछ त्यो बैंक बढी जोखिममा हुने बैंकरहरु बताउँछन् । किनभने कल डिपोजिटमा रहेको निक्षेप जुनसुकै बेला पनि बाहिरिने भएकाले त्यसलाई आधार मानेर ऋण दिँदा बैंकहरुमा समस्या जुनसुकै बेला समस्या आउन सक्छ ।

‘सामान्ययता कूल निक्षेपमा १० देखि १५ प्रतिशतसम्म कल डिपोजिटको हिस्सा हुनु ठीकै हो । तर, २० प्रतिशत माथि कल डिपोजिटको हिस्सा हुनु भनेको त्यो बैंक जोखिममा छ भन्ने संकेत हो,’ एक बैंकरले भने ।

कल डिपोजिटले समस्या थप बढाएपछि नियामक राष्ट्र बैंकले पनि बैंकहरुको कल डिपोजिटमा आँखा लगाएको हो ।

के हो कल डिपोजिट ?

विभिन्न संघसंस्था तथा कम्पनीहरुले छोटो समयको लागि बैंकमा राख्ने निक्षेपलाई कल डिपोजिट अथवा कल निक्षेप खाता भनिन्छ । धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ । यस्तो खातामा तत्काल धेरै रकम बचत गरिन्छ ।

तर रकम कति समय सम्म बैंकमा रहन्छ भनेर निश्चित भने हुँदैन । अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा अन्य खाताहरुको तुलनामा कम ब्याज दिन्छन् । यसकारण यो खाताको ब्याजदर प्रायः परिवर्तन भरहन्छ ।

बैंकमा ठुलो परिमाणमा कल डिपोजिटमार्फत एकै पटक धेरै रकम जम्मा हुने र बैंकबाट निकालिने हुँदा तरलताको समस्या आउने ठूलो जोखिम हुन्छ ।


पुष्प दुलाल