जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट पर्यटन मन्त्रीको ‘स्टन्ट’ मात्रै



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार मन्त्रालयमा वार्षिक कार्ययोजना सार्वजनिक गरे । जसमा उनले १४१ वटा कार्ययोजना सार्वजनिक गरे ।

अल्पकालिन र दीर्घकालिनरुपमा काम गर्ने योजना अनुसार सार्वजनिक गरिएको कार्ययोजनामा ७० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिने उल्लेख गरेका छन् ।

यो विषयलाई लिएर हवाई सेवाप्रदायकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जेष्ठ नागरिकलाई सहुलियत दिने मन्त्री भट्टराईको भनाइ राम्रो भए पनि यसमा अहिले केही भन्न नसकिने बताए ।

उनले भने, ‘मन्त्रीज्यूले यस विषयमा छलफल गर्नुपर्छ भन्नु भएको छ, छलफलपछि मात्रै निर्णय हुनेछ ।’

हवाई भाडा आजका दिनमा पनि धेरै नभएको भन्दै बस्नेतले छुट दिनुपर्छ भन्ने भनाइ व्यवहारिक रुपमा प्रभावकारी हुन्छ नै भन्न नसकिने बताए ।

उनका अनुसार हवाई भाडा अहिले पनि सस्तो छ । फेरि जेष्ठ नागरिक नै ठूलो संख्यामा यात्रा गर्दैैनन् । निम्न आय हुनेहरु बाध्यकारी अवस्थामा बाहेक हवाई यात्रा गर्नेहरु धनी वर्गकै यात्रुहरु हुन । उनीहरुलाई छुट दिने कति प्रभावकारी हुन्छ यो भने छलफलपछि नै टुंगो लाग्छ ।

उनले भने, ‘खासमा हामी बसको भाडासँग प्रतिष्पर्धा गरिरहेका छौं, कतिपय अवस्थामा बस भाडाभन्दा पनि सस्तो दरमा टिकट उपलब्ध गराइरहेका छौं, त्यसैले यस विषय प्रभावकारी हुन्छ भन्नेमै शंका छ ।’

मन्त्रीले १४१ बुँदामा उक्त धोषणा गरे पनि त्यो व्यवहारिक रुपमा प्रभावकारी भने देखिन्न ।

उनका अनुसार हवाई भाडा लामो समयदेखि बढ्न सकेको छैन् । सुनको मूल्य प्रतितोला १० हजार हुँदा पनि हामीले ३ हजार रुपैयाँमा उडाइरहेका थियौं, आज ७३ हजार रुपैयाँभन्दा बढी हुँदा पनि खासै बढेको छैन् ।

त्यसैले आजका दिनमा हवाई भाडा महंगो भयो भन्ने तर्कसंगत नभएको उनको भनाइ छ ।

किनभने दिने भनिएको छुट फूल भाडामा हो । हवाई भाडा न्यूनतम र अधिकतम गरी निर्धारण गरिएको हुन्छ । जसमा फूल भाडामा ५० प्रतिशत छुट दिँदा पनि सस्तो दरको टिकटमा नपाउन सकिन्छ ।

जस्तै, कुनै गन्तव्यको भाडा ८ हजार रुपैयाँ तोकिएको छ भने न्यूनतम भाडा ३५ सयसम्म पनि उपलब्ध हुन सक्छ । यस्तोमा छुट नपाउनेले ३५ सय रुपैयाँमा हवाई यात्रा गर्ने र छुट पाउनेले ४ हजार रुपैयाँमा यात्रा गर्नुपर्ने हुन्छ ।

त्यसैले मन्त्रीको उक्त योजना फगत स्टन्ट मात्रै हुने देखिन्छ ।

पर्यटन व्यवसायीलाई लामो समयदेखि उठाउँदै आएको अर्को विषय विदेशी र नेपाली नागरिकलाई लिइँदै आएको भाडामा पनि एकरुपता ल्याउनु पर्ने विषय बोल्दै बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले भने, ‘नेपालको समग्र हवाई क्षेत्रले वर्षमा १५ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन गरिरहेको छ, यस्तो अवस्थामा विदेशी र नेपाली नागरिकको भाडामा एकरुपता ल्याउनु पर्छ जस्तो लाग्दैन् ।’

उनका अनुसार यो व्यवसायीहरुले उठाएको विषय भए पनि मन्त्रीले त्यसमा अग्रसरता नदेखाएकाले यो कार्यान्वयनका लागि अगाडि बढ्छ भन्ने देखिएको छैन ।


पुष्प दुलाल