अटो शो शुभारम्भ गर्दै अर्थमन्त्रीले भने- आयात बढ्दा रोग लाग्यो कि भनेर उपचार गर्न खोजेका हौं



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगातार आयात बढेपछि सरकार गंभीर भएर उपचार गर्न लागि परेको बताएका छन् । मंगलबार राजधानीको भृकुटीमण्डपमा नाटा अटो शोको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले आयात बढ्नुलाई रोगसँग तुलना गरे ।

‘आयात बढ्नु भनेको रोक जस्तै हो, बढी आयात हुँदा रोग लाग्यो कि भन्ने डर लागेकोछ, सरकार रोगको निदान गर्न लागि परेको छ,’ मन्त्री खतिवडाले भने, ‘म व्यवसायी साथीहरुलाई आयात कम गर्न देशभित्रै एसेम्बल प्लान्ट राखेर सवारीसाधन उत्पादन गर्न आग्रह गर्छु ।’

उद्योगी तयार भए सरकार पनि छलफल गर्न तयार भएको उनले जानकारी दिए । सरकारले सवारीसाधनको एसेम्बललाई प्रत्साहनको नीति लिएपनि अहिलेसम्म व्यवसायीहरु आकर्षित हुन सकेका छैनन् ।

‘एसेम्बल गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुनुपर्छ, २० प्रतिशतन्दा बढी मूल्य अभिवृद्धि भयो भने सरकार छलफ लगर्न तयार छैन,’ उनले भने, ‘उद्योगीले कुनै व्यापार गरेर नाफा गर्छ भने सरकारले घाटामा व्यापार गर भन्न मिल्दैन ।’

२० प्रतिशत पनि मूल्य अभिवृद्धि नगर्ने अर्थतन्त्रमा पनि सहयोग नपुग्ने भन्दै त्यस्तो अवस्थामा सरकारले सहयोग गर्न नसक्ने उनको भनाई थियो ।

विद्युतीय गाडी ल्याउने बहानामा ९० प्रतिशत इन्धन खर्च गर्ने अनि विद्युतीय सवारी ल्याएको भनेर सरकारसँग छुट नमाग्न अर्थमन्त्रीले व्यवसायीहरुसँग आग्रह गरे ।

‘विद्युततीय सवारीसाधन एसेम्बल गर्ने हो भने कति प्रतिशत मूल्य अभिवृद्धि गर्ने हो भन्नुस् सरकार आर्थिक सहयोग गर्न तयार छ,’ उनले भने ।

सार्वजानिक सवारीसाधन विद्युतीय हुन आवश्यक रहेको अर्थमन्त्रीले बताए । नेपालमा जनताले सक्कली सवारीसधन चलाउन पाउनुपर्ने र त्यसका लागि आयातकर्ताले सक्कली सामान आयात गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री खतिवडाले आफ्नो आम्दानीले धान्नेभन्दा बढीको सवारीसाधन नकिन्न सुझाब दिए ।

‘चिल्लो खायो भने चिल्लोले राम्रो गर्छ तर धेरै खायो भने रोग लाग्छ,’ खतिवडाले भने, ‘आफ्नो आर्थिक हैसियत हेरेर मात्रै गाडी चढ्नुस् ।’

मोफसलमा सडक राम्रो बनेको छ तर उपत्यकामाचाहीँ मेलम्चीका कारण बन्न नसकेकोा उनले बताए ।

‘केही समयमा सवारीसाधनका उपभोक्ताले तिरेको करको सदुपयोग हुन्छ, यो वर्ष सबैभन्दा धेरैमध्येको दोस्रो धेरै बजेट भौतिक पूर्वाधारमा छुट्याएको छु,’ उनले भने ।

१० वर्षमा सवारीको आयात ४ गुणाले बढेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री खतिवडाले अहिलेको जस्तो सवारीसाधनको आयात बढ्न जरुरी नभएको बताए ।

अहिले सवारीसाधन करको समस्या नभएको बताउँदै दर्ता र नविकरणमा देखिएको समस्या चाँडै समाधान हुने विश्वास दिलाए ।

‘सरकार सवारीसाधनबाट कर उठाएर राज्य चलेको भनेर नबुझ्दा हुन्छ, ८० प्रतिशत भन्सारशूल्कले धान्न नसकेर अलिकति अन्तशुल्क बढाएको मात्रै हो,’ उनले भने ।

त्यसैगरी खतिवडाले सवारीसाधनको अवस्था परीक्षणका लागि सरकारले निकट भविष्यमै भेइकल फिटनेश सेन्टर तयार गर्ने बताए ।

व्यवसायीहरुको प्रदर्शनी हल बनाउने मागमा व्यवसायीहरुलाई प्रस्तावप लिएर आउन आग्रह गरे ।

देशमा लगानीको वातावरण विग्रियो भन्नेहरुप्रति अर्थमन्त्री खतिवडाले रोष प्रकट गरे ।

‘अहिले देशमा व्यावसायिक वातावरण विग्रियो भनेर सर्वत्र चर्चा छ । यदि बिग्रेको हो भने गत वर्ष कम्पनीहरु कसरी दोब्बर दर्ता भए, निर्यात १९ प्रतिशतले बढी कसरी भयो ? बैंकबाट ऋण कस्ले लियो ? ७ प्रतिशतको आर्थिक वृद्धि कसरी भयो ?’ मन्त्री खतिवडाले प्रश्न गरे ।

आजदेखि शुरु भएको अटो शो १५ गतेसम्म सञ्चालन हुनेछ । अटो शोमा ९५ ब्राण्डको सहभागीता छ । नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएशनले प्रत्येक वर्ष दशैंअघि अटो शो गर्दै आएको छ । वर्षमा एकपटक हुने नाडा अटो शो देशकै सबैभन्दा ठूलो अटो शो हो ।


पुष्प दुलाल