सिएमसीका कारण १ वर्ष पर धकेलियो तनहुँ सेती




काठमाडौं । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आव्हान भएपछि आयोजनाको निर्माण कार्य एक वर्षपछि धकेलिएको हो ।

बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आव्हान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि ४ कम्पनीले बोलपत्र पेश गरेका छन् ।

चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनामरकालिका कन्ट्रक्सनरनेपाल जेभीले पेश गरेको बोलपत्रको मूल्यांकन गर्ने काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक रमेशमान श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार ती कम्पनीले पेश गरेको प्राविधिक बोलपत्रको मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिनेछ । प्राविधिक बोलपत्रको मूल्याङ्कन सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउने अन्तिम तयारी गरेका छौँँ, प्रबन्धक श्रेष्ठले भने, एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौँ ।

आगामी कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने तयारी थालिएको छ ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो ।

आयोजनाका प्रबन्धक श्रेष्ठका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति १६.१७ र वित्तीय प्रगति १२.३३ प्रतिशत रहेको छ । सिएमसीसँग ठेक्का तोडेर नयाँ ठेक्का आव्हान गर्दा निर्माणको काम एक वर्ष ढिलाइ भएको श्रेष्ठले बताए ।

आयोजनाको २०० मिटर टेष्ट टनेल खनिसकिएको छ भने एक हजार २०० मिटरको मुख्य टनेल खन्न बाँकी छ । ठेक्का रद्द नभएको भए अहिलेसम्म केही कामहरु शुरु भइसक्थे , उनले भने, पुनः बोलपत्र आह्वान गर्दा काम प्रभावित भएको छ, यसले आयोजनाको निर्माणकार्यलाई पछाडि धकेलेको छ ।

निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ ।

सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासलगायत संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

सिनो हाइड्रोले आयोजनाको पहुँचमार्गसम्म पुग्न एक हजार १०० मिटर ट्रयाक खोलिसकेको छ भने ४०० मिटर ट्रयाक खोल्न बाँकी छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ ।


क्लिकमान्डु