बैंकलाई ब्रोकर लाइसेन्स: युवा नेतृ झाँक्रीको समितिले रेवतबहादुरको नियतमाथि अध्ययन गरोस्



काठमाडौं । संघीय संसद् अन्तर्गतको अर्थ समितिले साउन ३० गते दिएको निर्देशनको हवला दिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने काम तत्कालका लागि बन्द गरेको छ ।

नेप्सेले अर्थसमितिलाई देखाएर उक्त निर्णय गरे पनि समितिले भने उक्त कुरा अस्वीकार गरेको छ ।

समितिले गठन गरेको उपसमितिकी संयोजक रामकुमारी झाँक्रीले नेप्सेलाई बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिन रोक्न कुनै पनि निर्देशन नदिएको बताइन् ।

‘हामीले नेप्सेलाई त्यस्तो कुनै पनि निर्देशन दिएको छैन, उपसमितिको एक पटक पनि बैठक नबसेकोले त्यस्तो कुनै निर्देशन दिन मिल्दैन,’ झाँक्रीले क्लिकमाण्डूसँग भनिन् ।

तर यता नेप्सेले समितिलाई देखाएर बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने काम अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गरेको छ ।

नेप्सेले उक्त निर्णय समितिको प्रष्ट निर्देशनबिना नै गरेको कारण समस्या सिर्जना हुने नेप्सेका अधिकारीहरुले नै अनुभूति गरेको बताएका छन् ।

‘समितिले प्रष्टरुपमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु भनेर भनेको छैन, समितिको साउन ३० गतेको बैठकमा भएको छलफलको विषयमा जानकारी गराएको पत्रलाई आधार मान्दै यो निर्णय भएको छ, अब अर्को व्यवस्था नभएसम्मको लागि यो काम स्थगन भएको छ,’ नेप्सेका एक अधिकारीले भने ।

नेप्सेलाई रोक्नु भन्ने निर्देशन नभएपनि नेप्सेलाई आएको पत्रमा ‘अध्ययन गरेर मात्रै निष्कर्शमा पुग्ने’ भन्ने आशयलाई हेरेर गरेको निर्णयले समस्या हुने नेप्सेका अधिकारीहरुको भनाई छ ।

‘प्रष्ट निर्देशन नै नआई बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिने काम रोकिएको छ, अब खोल्नको लागि कुन निर्देशनलाई आधार मानेर खोल्ने हो भन्नेमा अन्योलता हुन्छ,’ ती अधिकारीले भने ।

यता समितिले ३० गतेको छलफलपछि नेपालको वित्तीय क्षेत्रको महत्वपूर्ण रुपमा रहेको पूँजी बजार विगत लामो समय देखि विस्तार हुन नसकी स्थिर प्राय रहिरहेको र मुद्रा बजारमा समेत समय समयमा आरोह अवरोह भइरहने सन्दर्भमा यस क्षेत्रसँग सम्बन्धित समस्या, समस्या सिर्जना हुनुका कारण खोजेको छ ।

र, सम्बन्धित निकायबाट भइरहेको कामबारबाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवस्थापकीय लगायतका सुझाव सहित प्रतिवेदन पेश भएपछि मात्रै आवश्यक निर्णयमा पुग्न उचित देखिएकाले कार्य प्रारम्भ गरेको मितिले २ महिनाभित्र सुझाव सहितको प्रतिवेदन समितिमा पेश गर्न भन्दै रामकुमारी झाँक्रीको संयोजकत्वमा पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

उक्त उपसमितिले नेप्सेलाई बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिन रोक्नु भन्ने निर्देशन नदिएको बताइएको छ ।
बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि गाउँगाउँमा रहेका बैंकका शाखाबाट सेयर कारोबार हुने गलत प्रचार गर्दै धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बैंकलाई ब्रोकर लाइसेन्स दिने नीति ल्याए ।

तर, यथार्थमा बैंकले ब्रोकरको कारोबार गर्न पाउँदैनन् । बैंकले सहायक कम्पनी खोलेर मात्रै सेयर ब्रोकरको काम गर्ने हुन् । त्यसैले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिँदा काठमाडौं उपत्यको पनि रिङरोडभित्र ब्रोकर थपिने हुन् ।

पुँजी बजारको ७५ प्रतिशत हिस्सा बैंकिङ क्षेत्रको नियन्त्रणमा छ । अर्थशास्त्रको सामान्य सिद्दान्तका आधारमा विश्लेषण गर्ने हो भने पनि बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकरको कारोबार गर्न दिँदा ‘इन्साइडर ट्रेडिङ’को खतरा देखिन्छ ।

ब्रोकरलाई सिध्याउने रेवतबहादुरको सन्की निर्णयकै आधारमा बैंकका सहायक कम्पनीलाई ब्रोकरको कारोबार गर्न दिने हो भने भोलिका दिनमा पुँजी बजारमा ठूलो विकृति आउने विज्ञहरु बताउँछन् ।

रेवतबहादुर कार्कीले कुन नियतका साथ बैंकलाई ब्रोकर लाइसेन्स दिने नीति लिएर भनेर शुक्ष्मरुपमा अध्ययन गर्ने हो भने गुदी कुरा घाम झैं छर्लङ हुन्छ ।

त्यसैले अर्थ समितिले गठन गरेको झाँक्री संयोजकत्वको उपसमितिले सरोकारवाला र विज्ञहरुसँग छलफल गरेर मुलुक सुहाउँदो प्रतिवेदन तयार पार्नुपर्ने आजको आवश्यकता हो । र, सोही प्रतिवेदनका आधारमा नीति बनाएर अघि बढ्न सकेमात्रै पुँजी बजारको विकास र विस्तार संभव छ ।


पुष्प दुलाल