मर्जरमा जान्छु भनेर आउने सहकारीलाई एक दिनमै अनुमति दिन्छौंः सहकारी मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मर्जरमा जान्छु भनेर आउने सहकारी संस्थालाई एक दिनमै अनुमति दिने बताएकी छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२औं स्थापना दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताइन् ।

मन्त्रालयले सहकारी संस्था मर्जरको अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रकृया पुगेर मर्जरका निम्ति आएका संस्थाको काम एकदिन भन्दा बढी नरोकिने बताइन् ।

‘हामीले एक दिनमा काम सक्नेगरी विभागलाई भनिसकेका छौं, सबै कागज पुर्याएर ल्याउने काम तपाईहरुको हो,’ उनले भनिन्, ‘ संस्थालाई इमान्दारी र नैतिकवान बनाउने जिम्मेवारी सहकारीकर्मीहरुकै हो । अब अलि फरक बाटो रोज्नुहोस् ।’

निजी स्वार्थ नभएर संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न उनले सहकारी संस्थाहरुलाई आग्रह गरिन् ।

‘जब ऋण चाहियो तपाईंको सहकारी खोज्दै आउँछ, अन्य समयमा त्यो सहकारीका बारेमा कहिले केही गर्दैन आउदैन । त्यस्ता व्यक्तिलाई सहयोग नगर्नुस्,’ उनले भनिन् ‘सधैं तपाईंको सहकारीको हितमा काम गर्ने व्यक्तिलाई तपाईंको संस्थाको लगानीको प्राथमिकता बनोस् ।’

लगानीको प्राथमिकता सहकारी संस्थाको हित चाहनेलाई हुनुपर्ने उहाँको भनाइ थियो । सहकारी संस्थाहरु अब लगानीमा केन्द्रित हुनुपर्ने बताउदै मन्त्री अर्यालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गर्नुभयो । मन्त्री अर्याल भन्नुहुन्छ, ‘अब लगानीका दिशामा अगाडि बढ्नुस । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस । विषयगत सहकारी संस्था जसले उत्पादनमा हात हालेका छन् तर उनीहरूसँग पैसा छैन । ती संस्थालाई तपाई पैसा भएका संस्थाहरूले सहयोग गर्नुस् ।’

सहकारी क्षेत्रबाट नियमावली नभएका कारण काम गर्न सकिएन भन्ने गुनासो आएपछि सहकारी क्षेत्र, सरोकारवाला सबैसँग छलफल, समन्वय गरेर नियमावली ल्याएको भन्दै अब कार्यान्वयन गर्ने जिम्मेवारी सहकारी क्षेत्रकै भएको उनको भनाई छ ।

सबै सहकारी संस्थामा एकरुपता कायम गर्नेगरी सन्दर्भ ब्याजदर निर्धारण गरिएको भन्दै मन्त्री अर्यालले कानुनका मातहतमा रहेर एउटै ब्याजदर निर्माण गरिएको बताइन् ।

तर यस विषयमा केही गुनासो आएकाले यसबारेमा छलफल गर्न तयार रहेको उनको भनाई छ।

‘सहकारीले सबैभन्दा बढी आफ्ना सदस्यहरुको हितमा काम गर्नुपर्छ, यस विषयमा गुनासो आएको छ, हामीले बुझ्नुपर्छु,’ उनले भनिन् ‘हामीलाई ठिक हो भन्ने लाग्यो, बेठीक हो भन्नेहरुका मत के छन् त्यो पनि बुझौ । हामी छलफलकै क्रममा छौ । छलफल गरेर जाउ, छलफलको बाटो हुदाहुदै फरक बाटोमा नजान अनुरोध गर्दछु ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, नेकपाका नेता तथा सहकारी अभियन्ता पशुपति चौलागाईं, पूर्व मन्त्री सुरेन्द्र पाण्डे, नेफ्सकुनका पुर्व महासचिव तथा सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नेफ्सकुनका अध्यक्ष डिबी बस्नेतले समग्र सहकारी क्षेत्रलाई राम्रो बनाउन लाग्‍नुपर्ने बताएका थिए ।


पुष्प दुलाल