सञ्चालक र सीइओको उमेर तोक्ने निर्णयबाट पछि हट्दै राष्ट्र बैंक, डेपुटी गभर्नर भन्छन्- करेक्सन गर्छौं



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सीइओहरुको उमेर हद तोक्ने निर्णयबाट राष्ट्र बैंक पछि हट्ने भएको छ । पर्याप्त आन्तरिक तयारीबिना सर्कुलर जारी गर्दा बजारम नकरात्मक प्रभाव परेको र नीति अव्यवहारिक देखिएको निष्कर्श निकाल्दै यो निर्णयमा भएको कमजोरी सच्याउन लागेको हो ।

‘राष्ट्र बैंकले जारी गरेको परिपत्रले धेरैलाई समस्या परेको छ, त्यसैले उमेर तोक्ने निर्णयमा राष्ट्र बैंक थप लचिलो भएर प्रस्तुत हुन्छ,’ डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘यसलाई हामी करेक्सन गर्छौं ।’

गत सोमबार मात्रै राष्ट्र बैंकले सर्कुलर जारी गर्दै ७० वर्ष पुगेको व्यक्तिलाई सञ्चालक नियुक्ति बन्न नपाउने र बहालवाला सञ्चालकको हकमा भने ७४ वर्षसम्मको उमेर भएसम्म काम गर्न पाउने भनेको थियो । राष्ट्र बैंकको निर्देशिका कार्यान्वयनमा आएपछि ७४ वर्ष नाघेको सञ्चालकको पद स्वत गुमेको थियो ।

त्यसैगरी, राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)को हकमा ६५ वर्षको उमेर हद तोकेको थियो । निर्देशिका लागु हुनुअघि नियुक्त भएपनि ६९ वर्ष उमेर पुगेको व्यक्ति स्वत पदमुक्त भएका थिए ।

सीइओहरुमा प्राइमका नारायणदास मानन्धर स्वत पदमुक्त भएका थिए । अध्यक्ष र सञ्चालकहरुको हकमा भने २ दर्जन बढी पदमुक्त भइसकेका छन् ।

राष्ट्र बैंकको सर्कुलर विरुद्ध प्राइम बैंकका सीइओ नारायणदास मानन्धर सर्बोच्च अदालत गइसकेका छन् । त्यस्तै, अन्य केही बैंकका सञ्चालकहरु पनि अदालत जाने तयारी गरिरहेका छन् ।

‘मर्जरमा जाने संस्थाको सीइओ र सञ्चालकलाई उमेर हदको व्यवस्था लगाउनू हुँदैन,’ डेपुटी गभर्नर श्रेष्ठले भने।

प्राइम बैंकबाट नारायणदास मानन्धर बाहिरिने हो भने मर्जर प्रक्रिया नै अवरुद्ध हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरुको बुझाई छ ।

‘हामीले सर्कुलरमा एक/डेढ महिनाको समय दिएको भएपनि अर्को सञ्चालक नियुक्ति गर्न र अर्को सीइओ खोज्न पाउँथे,’ नियमन विभाग स्रोतले भन्यो, ‘आजको आजै सीइओ खोज्न सकिँदैन, सीइओ नियुक्ति गर्न कम्तिमा २/३ महिना लाग्छ, यो विषयमा राष्ट्र बैंकले सोचबिचार गर्नुपर्थ्यो ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन- २०७३ को संसोधन मस्यौदामा सञ्चालक र सीइओको उमेर तोक्ने प्रस्ताव गरेको थियो । बाफिया संसदमा पुग्नुभन्दा अघि नै राष्ट्र बैंकले परिपत्रमार्फत यो व्यवस्था कार्यान्वयनमा ल्यायो ।

‘बाफियासम्म कुरेको भए हुन्थ्यो, राष्ट्र बैंकले हतार गर्यो,’ एक बैंकका सञ्चालकले भने, ‘नियामकले काम गर्दा अलि सोचबिचार पुर्याएर काम गर्नुपर्छ ।’


पुष्प दुलाल