कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप



सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गरेका छन ।

उनले जापान सरकारको कदम निकै असंवेदनीय रहेको बताउँदै कोरियाले जापानी कदमको प्रतिवाद गर्ने स्पष्ट पारेका छन ।

मन्त्रिपरिषदको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति मूनले भने, “टोकियोको कदम स्वार्थप्रेरित, ध्वंसात्मक कार्य रहेकाले त्यसले विश्वकै आपूर्ति प्रणालीलाई कमजोर बनाउनेछ, र यसबाट विश्व अर्थव्यवस्थामा त्रासको वातावरण सिर्जना हुनेछ ।”

राष्ट्रपति मूनले व्यापारका क्षेत्रमा उत्पन्न बढ्दो तनाव र संकटको अवस्था अन्त्य गर्न जापानले जतिसक्दो चाँडो आफ्ना निर्णय सच्याउन पनि आग्रह गरे । उनले जापान र कोरियाबीचको व्यापारका क्षेत्रमा उत्पन्न तनाव सुल्झाउन वार्तामार्फत् सहमति गर्नुपर्नेमा जोड दिए ।

जापान र दक्षिण कोरिया दुबै लोकतान्त्रिक र अमेरिकी गठबन्धनका मुलुक रहेपनि दुबैबीच पारम्परिक शत्रुता र भूगोलका विषयलाई लिएर द्वन्द्व छ ।

कोरियाली राष्ट्रपति मूनले जापानसँगको व्यापारमा जापानका सरोकारलाई ध्यान दिन आफूहरु तयार रहेको बताएका छन । गत वर्ष कोरियाले जापानसँग करिब ८५ अर्ब अमेरिकी डलर बराबरको व्यापार गरेको थियो ।

जापान सरकारले शुक्रबार दक्षिण कोरियालाई दिएआएको विशिष्ट निर्यातक मुलुकको दर्जा हटाउने निर्णय गरेको थियो । जापानले कोरियासँग पुरानो शत्रुताका आधारमा नभई पछिल्लो कदम राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय मात्र रहेको स्पष्ट गरेको छ ।

अमेरिकाले दुबै मुलुकलाई शान्त रहन आग्रह गरेपनि यही विषयलाई लिएर विवाद चुलिएको छ ।

जापानको पछिल्लो कदम कार्यान्वयनमा आएमा आगामी अगष्ट २८ देखि संवेदनशील वस्तुको सूचीका सयौं वस्तुको निर्यातमा कडाई गरिनेछ । विज्ञहरुले जापानको यो कदम अर्थतन्त्र भन्दा अन्य कारणबाट बढी संवेदनशील रहेको बताएका छन् ।

नोमुरा सेक्युरिटीजका वरिष्ट अर्थशास्त्री हाजिमे योशिमोतोले जापानको यस कदमबाट दक्षिण कोरियाली अर्थतन्त्रमा सीमित असर पार्ने बताउनुभयो । जापानी अर्थ मन्त्रालयका अनुसार धेरैजसो प्रमुख जापानी निर्यातकहरुले पहिल्यैदेखि विशेष अनुमति लिइसकेका छन् ।

जापानले गत महिना दक्षिण कोरिया निकासी हुने मुख्यरुपमा तीन किसिमका सामानको निर्यातमा कडाई गर्न थालेको थियो । यी सामानहरुमा दक्षिण कोरियाली चिप तथा स्मार्टफोन उद्योगसँग सम्बन्धित रहेका थिए । रासस


क्लिकमान्डु