यी हुन् तोकिएको समयमा बिजुली नदिने १५ जलविद्युत आयोजना (सूचीसहित)



काठमाडौं । निजी ऊर्जा उद्यमीले नेपाल विद्युत् प्राधिकरणलाई चालु आवको अन्त्यसम्म विद्युत् उपलब्ध गराउने भनेर आफैले गरेको सम्झौता कार्यान्वयन गरेका छैनन् । प्राधिकरण र निजी प्रवद्र्धकबीच चिलिमे र माथिल्लो तामाकोशी सँगै ११६ वटा जलविद्युत् आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ ।

ती सम्झौता मध्ये चालु आर्थिक वर्षको अन्त्यसम्म विभिन्न १६ जलविद्युत् आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उपलब्ध गराउने सम्झौता गरेका थिए । सो सम्झौता अनुसार काम नभएपछि प्राधिकरणले माउण्टेन हाइड्रो पावरलाई त जरिवाना नै लगाउने भएको छ । अन्य आयोजनालाई पनि जरिवाना तिराउने तयारीमा रहेको छ ।

विद्युत् खरीद सम्झौता हुँदा नै प्राधिकरणलाई तोकिएको समयमा विद्युत् उपलब्ध नगराएको अवस्थामा ५ प्रतिशत जरिवाना तिराउने व्यवस्था रहेको छ । यस्तै प्राधिकरणका कारणले विद्युत् प्रवाह गराउन नसकेको अवस्थामा पनि ऊर्जा उत्पादकले ५ प्रतिशत नै जरिवाना प्राधिकरणबाट पाउने व्यवस्था छ ।

सरकारले चालु आवको अन्तयसम्म २८३ मेगावाट विद्युत् थप हुने जनाएको थियो । सोही आधारमा प्रक्षेपण समेत गरिएको थियो । तर सरकारको उक्त लक्ष्य भने पूरा नहुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले चालु आवको अन्तयसम्म १९७ मेगावाट विद्युत् थप हुने दावी गरेका छन् ।

त्यसमा प्राधिकरणको लगानी रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री र १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो समेत रहेको छ । त्यसमा पनि माथिल्लो त्रिशुली थ्री ए को पहिलो युनिटबाट ३० मेगावाट विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा थप भएको छ ।

बाँकी रहेको ३० मेगावाट बराबरको विद्युत् चालु आवमा थपिन्छ कि थपिदैन भन्नेमा सन्देह रहेको छ । यस्तै कुलेखानी तेस्रोको १४ मेगावाट विद्युत् पनि प्राविधिक तयारीकै कारण तोकिएको समयमा पूरा होला वा नहोला भन्न सक्ने अवस्था रहेको छैन ।

निजी क्षेत्रका प्रवद्र्धकले मात्रै हालसम्म ६० मेगावाट विद्युत् थप गरेको देखिन्छ । केही आयोजनाको परिक्षण उत्पादनको काम पनि सुरु भएका कारण एकाध मेगावाट विद्युत् थप घट हुने अवस्था भने कायमै रहेको छ । प्राधिकरणको दुई वटै आयोजना सञ्चालनमा आएको खण्डमा ७४ मेगावाट विद्युत् थप हुनेछ ।

यस्तै वाग्मती साना जलविद्युत् आयोजनाबाट पनि २२ मेगावाट विद्युत् थप भएको छ । अन्य ६० मेगावाट समेत गर्दा कूल १५६ मेगावाटको हिसाब भने सहजै देखिन्छ ।

तर प्राधिकरणसँग विद्युत् खरीद सम्झौता गरेको केही आयोजनाले भने निर्माण कार्यमा गरेको ढिलाईका कारण तोकिएको समयमा विद्युत् उपलब्ध हुने अवस्था भने रहेको छैन ।

प्राधिकरणको बेवसाइटमा रहेको विद्युत् खरीद सम्झौताको सूचीमा उल्लेख भए अनुसार सूर्यकुण्ड हाइड्रोको ११ मेगावाट, माथिल्लो मैलुङ खोला १४.३ मेगावाट विद्युत् जोडन सकेको छैन ।

यस्तै हिमालउन ऊर्जा विकास कम्पनीका २ आयोजनाको समेत निर्माण सम्पन्न भएको छैन । ती आयोजनाले पनि चालु आर्थिक वर्षको अन्तयसम्म प्राधिकरणको प्रणालीमा विद्युत् उपलब्ध गराउनेृ प्रतिवद्धता जनाएका थिए ।

माथिल्लो खिम्ती दोस्रो र माथिल्लो खिम्ती गरी कुल १९ मेगावाट विद्युत् ती आयोजनाले उपलब्ध गराउनुपर्ने थियो । तर ती आयोजनाको निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने देखिएको छ ।

यस्तै कन्सोटियम पावरको खारे खोला २४ मेगावाट, सिंगटी हाइड्रोको सिंगटी खोला २५ मेगावाट, बुद्धभूमि नेपालको ४.९ मेगावाट क्षमताको तल्लो तादी, माउण्टेन हाइड्रोको तल्लो हेवा खोला २२ मेगावाट, धौलागिी कालिका हाइड्रोको दरबाङ म्याग्दी २५ मेगावाट, माथिल्लो सिनर्जी हाइड्रोको माथिल्लो स्यागे खोला २.४, हुनिङ डेभलपमेन्टको माथिल्लो बलेफी ए ३६ मेगावाट पनि २०७५ माघमा सम्पन्न हुने गरी सम्झौता गरिएको थियो ।

यस्तै माथिल्लो हेवा खोला ८.५ मेगावाट, रिचेत जलविद्युत् ४.९ मेगावाट, डाइमण्ड हाइड्रोको माथिल्लो दरौदी एक १० मेगावाट, सानो मिल्ती खोला ३ मेगावाट, र इको पावरको १० मेगावाट क्षमताको सौर्य परियोजनाले समेत प्राधिकरणलाई विद्युत् उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

तर उनीहरुले समयमा काम नगर्दा आयोजनाले विद्युत् उपलब्ध गराउन सकेका छैनन् ।

यस्तै प्राधिकरणले विद्युत् खरीद सम्झौता गरेका तर वित्तीय व्यवस्थापन नभएका आयोजनाको क्षमता २ हजार ९०९ मेगावाट रहेका छ । कूल १४४ वटा आयोजना रहेका छन् ।


पुष्प दुलाल