बैंकको मर्जरले कर्मचारीको बोनस घट्ने, तलब बढ्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई मर्जरमा जान दवाव दिएपछि अहिले मर्जरको चर्चा निकै चलेको छ ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजेशन नीति ल्याएपछि बैशाख मसान्तसम्ममा १६५ वटा बैंक तथा वित्तीय संस्था मर्जरको तथा एक्विजेशनको प्रक्रियामा गएका छन् । जसले गर्दा १२३ वटा संस्था मर्जर एक्विजेशनमा गएपछि इजाजत नै खारेज भएर ४२ वटा संस्था कायम भए ।

मर्जर तथा एक्विजेशन तथा चुक्ता पूँजी बढाउने नीतिले विकास बैंक र फाइनान्स कम्पनीको संख्या अत्याधिक घट्यो । तर,वाणिज्य बैंकको घटेन । अहिले राष्ट्र बैंकले घटाउन खोजेको वाणिज्य बैंकको संख्या हो । त्यो अनुसार राष्ट्र बैंकका गभर्नर डा नेपालले दिएको निर्देशनपछि बैंकका सिइओ तथा संचालक आन्तरिक छलफलमा व्यस्थ छन् ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजेशनको प्रभावकारिताको बारेमा अध्ययन गरेको छ । यद्यपी यो अध्ययन २०७२ सालमा गरिएको थियो । त्यो बेला ६८ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजेशनमा गएर २५ वटामा झरेका थिए । त्यसपछि केन्द्रीय बैंकले मर्जरको प्रभावकारीताको बारेमा अध्ययन गरेको छैन ।

मर्जरमा एउटा ठूलो समस्या कर्मचारी व्यवस्थापन हो । मर्जरपछिको पहिलो वर्ष भने कर्मचारी खर्च बढेको अध्ययनले देखाएको थियो । मर्ज भएका संस्थाहरुको कुल खर्चमा कर्मचारी खर्चको अनुपातको औसत मर्ज हुनु तीन वर्ष अघि १२.२ प्रतिशत, दुई वर्ष अघि १०.८ प्रतिशत र एक वर्ष अघि १२.७ प्रतिशत रहेकोमा मर्जर भएको पहिलो वर्ष वृद्धि भई २२.२ प्रतिशत पुगेको, दुई वर्ष र तीन वर्ष पछि क्रमशः घटेर १३.२ प्रतिशत र ११.४ प्रतिशत पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

मर्ज भएका संस्थाहरुको कुल खर्चमा कर्मचारी खर्चको अनुपात औसत रुपमा मर्ज भएको पहिलो वर्ष उल्लेख्य रुपमा बढेको देखिएको छ । ‘यस्तो अनुपात अधिकांश संस्थाहरुको क्रमशः दोस्रो र तेस्रो वर्ष औसतरुपमा घट्दै गएको देखिन्छ, मर्जर पछि उचित जनशक्ति व्यवस्थापन हुन सकेमा, कार्यसंस्कृतिको स्थानान्तरण एवं व्यवस्थापन कुशलताले कर्मचारी खर्चलाई घटाउन सक्ने देखिन्छ,’ राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

मर्जरपछि बैंकलाई चलाउनको लागि सबैभन्दा महत्वपूर्ण कर्मचारीको उत्प्रेरणालाई मानिन्छ । राष्ट्र बैंकले त्यो बेला मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाका १७० कर्मचारीलाई उत्प्रेरणाको विषयमा प्रश्न गरेको थियो ।

मर्ज भएका वित्तीय संस्थाहरुमा १७.१ प्रतिशत कर्मचारीहरुले मर्जर पश्चात्कर्मचारी उत्प्रेरणा झन विग्रेको अनुभव गरेको देखिन्छ भने ४१.८ प्रतिशतले उत्पे्ररणामा फरक नपरेको र ४१.२ प्रतिशतले उत्प्रेरणा राम्रो भएको अनुभव गरेको राष्ट्र बैंकको अध्ययनमा देखिएको थियो ।
बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले पाउने अर्को आकर्षण भनेको तलबसँगै बोनस हो ।

यसले कर्मचारीलाई काम गर्न थप उत्प्रेरणा दिन्छ । मर्ज भएका संस्थाहरुमा गरिएको सर्वेक्षणबाट ५१.५ प्रतिशत कर्मचारीहरुको अनुभवमा बोनस घटेको, २१.८ प्रतिशतले यथावत रहेको र २६.७ प्रतिशत कर्मचारीहरुले बोनसमा वृद्धि भएको अनुभव गरेको देखिन्छ । संस्थाहरु एक आपसमा गाभिएको शुरुका वर्षहरुमा सञ्चालन खर्च वृद्धि भई नाफा कम हुने कारण अधिकांश संस्थामा प्रदान गरिने कर्मचारी बोनस कम भएको अनुभव गरेको हुन सक्ने अनुमान केन्द्रीय बैंकको छ ।

मर्जरपछि बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले बढुवाको अवसर भने बढेको अनुभव गरेका छन् । अध्ययनमा मर्जरपश्चात् २९.१ प्रतिशत कर्मचारीहरुले बढुवाको अवसर कम भएको जवाफ दिएकामा ४०.७ प्रतिशतले फरक नपरेको र ३०.२ प्रतिशतले अवसरमा वृद्धि भएको अनुभव गरेको पाइएको थियो ।

तलव सुविधाको परिवर्तन सम्बन्धमा सोधिएको प्रश्नमा भने बैंकका कर्मचारीले तलब घटेको उत्तर कसैलेपनि दिएनन् । अधिकांश उत्तरदाताले तलव सुविधामा वृद्धि भएको (५६.१ प्रतिशत) र केहीले यथावत रहेको (४३.९ प्रतिशत) वताएका थिए ।


क्लिकमान्डु