बैंकको संख्या घटाउन राष्ट्र बैंक फोर्स मर्जरको बाटोमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन नेपाल राष्ट्र बैंक फोर्स मर्जरको बाटोमा लागेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पूर्वसन्ध्यामा वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेको छ ।
वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले एकसातासम्ममा मर्जरको लागि उपयुक्त पाटर्नर खोज्न निर्देशन दिएका छन् ।
राष्ट्र बैंकका गभर्नर डा नेपालले केही दिन अगाडि बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जानको लागि संस्था खोज्न अन्यथा फोर्स मर्जरको लागि तयार हुन निर्देशन दिएका थिए ।
राष्ट्र बैंकले आजको छलफलपछि बैंक तथा वित्तीय संस्थालाई अनौपचारिक रुपमा उपयुक्त हुने बिकल्प समेत सुझाव दिने छ । कुन संस्था कोसँग मर्जर गर्दा ठिक हुन्छ त्यो सुझाव राष्ट्र बैंकले अनौपचारिक रुपमा दिने छ ।
गभर्नर सहभागी नभएपनि विकास बैंक र फाइनान्स कम्पनीलाई समेत राष्ट्र बैंकले यस्तै खाले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले यो पटक घटाउन खोजेको वाणिज्य बैंकको संख्या हो ।
‘राष्ट्र बैंकले आज स्पष्ट रुपमा फोर्स मर्जरमा नै जानको लागि सन्देश दिएको छ,छिटोभन्दा छिटो अब उपयुक्त संस्था खोज्नुको बिकल्प छैन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।
बैठकमा सहभागी भएका बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले फोर्स मर्जरमा लैजानुभन्दा प्रोत्साहन दिएर मर्जरको नीति कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।
राष्ट्र बैंकले मौद्रिक नीति अगाडि नै केही बैंक तथा वित्तीय संस्था मर्जरमा जानको लागि सम्झौता भएको हेर्न चाहेको छ ।
‘राष्ट्र बैंकले आज सरोकारवालालाई बोलाएर संख्या घटाउन राष्ट्र बैंकले चाल्न सक्ने कदमको बारेमा टे«ेलर देखाएको हो,यसबाट नबुझ्नेले नीतिपछि पुरा फिल्म आएपछि बुझ्लान,’राष्ट्र बैंकका एक अधिकारीले भने ।
व्यक्तिगत रुपमा गभर्नर नेपाल नेपालमा ठूला आकारका १२/१३ वटा वाणिज्य बैंकको पक्षमा छन् । राष्ट्र बैंकका अधिकारीहरु यसरी दवाव दिदा वाणिज्य बैंकको संख्या कम्तीमा १० वटाले घट्ने छ भने विकास बैंक र फाइनान्स बैंकको संख्या समेत कम्तीमा २० वटा कम आउने छ ।
राष्ट्र बैंकले २०७२ सालमा ल्याएको मौद्रिक नीतिमा चुक्ता पुँजी बढाउने नीति लिएको थियो । चुक्ता पुँजी बढाउने नीतिले वाणिज्य बैंकको संख्या घटेन भने विकास बैंक र फाइनान्स कम्पनीको संख्या उल्लेखनिय रुपमा घटेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति आउनु अगाडि बोलाएर दिएको निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा संचालक र प्रमुख कार्यकारी अधिकृतहरु उपयुक्त विकल्पको बारेमा छलफल गर्न जुटिसकेका छन् ।
‘मौद्रिक नीतिमा स्पष्ट रुपमा संख्या घटाउने गरी आउने देखिएको छ,अब मर्जमा जानको लागि उपयुक्त विकल्प खोज्नुपर्ने देखिन्छ,यद्यपी राष्ट्र बैंकले दिएको समय भने कम छ,’एक बैंकका कार्यकारी अधिकृतले भने ।