यी हुन् ‘म्यानेजमेन्ट’ पढाइ हुने महंगा कलेज, कुनमा पढ्न कति खर्च लाग्छ ?



काठमाडौं । एसईईपछि विद्यार्थी तथा अभिभावकहरु कुन विषय पढ्ने ? कस्तो कलेज छनोट गर्ने जस्ता आधारभूत प्रश्नको उत्तर खोजिरहेका हुन्छन् । उनीहरुलाई कसरी विषय र कलेज छनोट गर्ने, कुन विषय पढ्दा के फाइदा हुने उक्त विषयको स्कोप कस्तो छ जस्ता विश्लेषणसँगै विद्यार्थीको क्षमता, रुचिका साथै परिवारको आर्थिक अवस्था समेत कस्तो छ त्यसले धेरै अर्थ राख्छ ।

कक्षा ११ मा उपलब्ध विभिन्न विकल्पमध्ये व्यवस्थापन संकाय पनि एक हो ।

नेपाली शब्दकोशमा ‘व्यवस्थापन’ शब्दको अर्थ कुनै कामको व्यवस्था वा प्रबन्ध मिलाउने उल्लेख छ । व्यवस्थापन संकायले व्यक्तिगत जीवनदेखि व्यवहारिक जीवन समेतलाई बुझाउने प्रयास गर्छ ।

एसईईमा कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

व्यक्तिगत जीवनदेखि व्यवसायिक जीवनमा व्यवस्थापनका सुत्र सिकाउने व्यवस्थापन संकाय अहिले धेरै विद्यार्थीका लागि चार्मको विषय बनेको छ । पहिले जस्तो व्यवस्थापन संकाय पढेर बैंक तथा वित्तीय संस्थामा जागिर खाने मात्रै होइन, पर्यटन, कृषि, मेडिकल, इन्जिनियरिङ, आईटीलगायतका आकर्षक मानिने क्षेत्रमा पनि उत्तिकै महत्व पाउँदै गएको छ ।

एनएमबी बैंकका सीइओ सुनिल केसी अहिले व्यवस्थापन संकाय अध्ययन गर्नेको करिअर निकै राम्रो भएको बताए ।

‘अन्य क्षेत्रको तुलनामा अहिले बैंक, वित्तीय संस्थालगायतका क्षेत्रमा दक्ष व्यवस्थापकको खाँचो छ, करिअरका दृष्टिले आकर्षक मान्न सकिन्छ,’ सीइओ केसीले भने ।

नेपालमा बैंक तथा वित्तीय संस्थामा मात्रै झन्डै ४० हजारभन्दा बढी संख्यामा कर्मचारीहरु कार्यरत छन् ।

मुलुकमा बैंक तथा वित्तीय संस्थामा करिअर बनाउन चाहनेका लागि व्यवस्थापन संकाय एक उत्तम विकल्प हो । विषय छनोट गर्दा विद्यार्थी तथा अभिभावकहरुको सपना हुन्छ । पढाइपछि राम्रो र सुरक्षित रोजगारी पाइयोस् । पढिसकेपछि बेरोजगार बस्नु नपरोस् ।
त्यसैले एसईई पास भइसकेपछि विद्यार्थीले विभिन्न विषय छनोट गरेको पाइन्छ । यस्ता विषय छनोट गर्ने बेलामा धेरैले बजारको आवश्यकता र माग अनुसार विषय छनोट गर्नुपर्छ ।

कुनै समय धेरै अंक ल्याउने विद्यार्थीले विज्ञान विषय पढ्नुपर्छ भन्ने सामाजिक मान्यता जस्तै थियो । विज्ञान विषय छनोट गर्ने विद्यार्थी मेधावी हो भन्ने बुझ्न गाह्रो पनि पर्दैनथ्यो । यसका लागि एउटा कारण थियो, त्यो हो विज्ञान विषय पढि सकेपछि पाइने अनेकन विकल्पहरु ।

खासगरी इन्जिनियरिङ र मेडिकल क्षेत्रका लागि लक्षित भए पनि विज्ञान पढेका विद्यार्थीहरु विश्वविद्यालयमा पुगिसक्दा उनीहरुका लागि सबै क्षेत्रका ढोका खुलिसकेका हुन्छ भन्ने आधारमा पहिलो रोजाइमा विज्ञान संकाय पथ्र्यो ।

तर अहिले पहिलेको जस्तो समय छैन् । प्रविधिको उच्चतम विकास र सामाजिक सोचमा आएको परिवर्तनले अन्य संकायलाई पनि उत्तिकै महत्व दिएको पाइन्छ । जसमध्येको एक हो व्यवस्था संकाय ।

बैंक तथा वित्तीय संस्था विकासक्रम र यसले प्रदान गरेको अनेकन अवसरले धेरै विद्यार्थी र उनीहरुका अभिभावकको रोजाइमा व्यवस्थापन संकाय अध्ययन गर्न लालायित भएको जानकारहरुको विश्लेषण छ ।

व्यवस्थापन संकायभित्र पनि विभिन्न विषय उपलब्ध छन जस्तै होटल म्यानेजमेन्ट, अकाउन्टेन्ट, फाइनान्स, ट्राभल एन्ड टुरिजम, बैंक तथा इन्स्योन्रेन्स उपलब्ध छन् ।

व्यवस्थापन पढ्न कति चाहिन्छ जीपीए ?

व्यवस्थापन विषय अध्ययनका लागि १.६ जीपीए आउनुपर्छ । त्यस्तै विषयगत हिसाबले हेर्दा अंग्रेजी, नेपाली, गणित र सामाजिकमा ‘डी’ प्लस ल्याए पुग्छ । तर कलेज अनुसार मापदण्ड पनि फरक फरक हुन्छ । सरकारले तोकेको मापदण्डभन्दा बढी आधार बनाएर कलेजहरुले प्रवेश परीक्षामा पाउने प्रातांक र सीमित सिटका आधारमा समेत मापदण्ड निर्धारण गरेको पाइन्छ । त्यसैले आफूले चाहेको कलेजमा अध्ययन गर्नका लागि सरकारले निर्धारण गरेको मापदण्डसँगै कलेजका मापदण्ड पनि पूरा गर्नुपर्छ ।

यी हुन महंगा कलेज, कति खर्च लाग्छ ?

कलेज छनोटको आधार शिक्षाको गुणस्तरसँगै कलेजले लिने शुल्क पनि प्रमुख कारक मानिन्छ । पाठ्यक्रम एउटै भए पनि कलेजले दिने सेवा सुविधा, शिक्षाको गुणस्तर, अतिरिक्त क्रियाकलापका आधारमा कलेज अनुसार शुल्क पनि फरक फरक तोकिएको हुन्छ ।

सामान्यतयाः व्यवस्थापन संकाय अध्ययन गर्नका लागि कलेजहरुले ५० हजार रुपैयाँदेखि १ लाख ३० हजार रुपैयाँसम्म शुल्क लिएको पाइन्छ । जसमा कलेजहरुले विद्यार्थीले एसईईमा प्राप्त गरेको जीपीए वा ग्रेडका साथै प्रवेश परीक्षामा ल्याउने जीपीए तथा ग्रेडका आधारमा पनि छुट दिएका हुन्छन् ।

अतिरिक्त क्रियाकलाप जस्तै, खेलकुद, मनोरञ्जन तथा विभिन्न शीर्षकमा कलेजहरुले छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएका छन् ।
मध्यबानेश्वरस्थित ग्लोवल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ व्यवस्थापन संकायमा अध्ययन गर्नका लागि वर्षमा १ लाख २० हजार रुपैयाँ लाग्छ । जसमा भर्ना हुने समयमा नै सबै पैसा बुझाइसक्नुपर्छ ।

प्रत्येक वर्ष ग्लोवल कलेज अफ म्यानेजमेन्टमा अध्ययन गर्नका लागि ३ हजारभन्दा बढी विद्यार्थीहरु प्रयास गर्छन तर सीमित सिटका कारण सबैले अध्ययन गर्न पाउँदैनन् । कलेज व्यवस्थापन संकायका लागि परिचित कलेज हो ।

त्यस्तै, ललितपुरमा रहेको लिटिल एञ्जल्स कलेजमा कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययन गर्नका लागि भर्ना शुल्क वापत ३७ हजार ५०० रुपैयाँ लाग्छ भने मासिक शुल्क ७ हजार रुपैयाँका दरले बुझाउनुपर्छ ।

लिटिल एञ्जल्स कलेज शिक्षासेवी उमेश श्रेष्ठले स्थापना गरेका हुन् । हिसान तथा प्याब्सनका अध्यक्ष भइसकेका उनी संविधानसभामा सभासद समेत थिए । शिक्षा क्षेत्रमा ३ दशकभन्दा बढी समय बिताएका उनको कलेज राम्रा कलेजमा मानिन्छ ।

डिल्लीबजारस्थित ट्रिनिटी कलेजमा कक्षा ११ मा व्यवस्थापन अध्ययन गर्नका लागि १ लाख १५ हजार ६०० रुपैयाँ लाग्छ । कलेजका सञ्चालक उमेश थापा हुन् ।

बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययन गर्नका लागि कलेजले १ लाख २० हजारको हाराहारीमा शुल्क लिन्छ । भर्ना शुल्क, अतिरिक्त शुल्कका शीर्षकमा शुल्क लिइन्छ । कलेजका प्रमुख डा. राेजन्द्र केसी डा. बाबुराम भट्टराईको तत्कालिन नयाँ शक्ती पार्टीका सदस्य समेत हुन् ।

ललितपुरमा रहेको अर्को कलेज हो प्रसादी एकेडेमी । लामो समयदेखि शिक्षाको गुणस्तरमा आफ्नो छवी उच्च बनाउँदै आएको यस कलेजमा अध्ययन गर्नका कक्षा ११ को व्यवस्थापन संकायका लागि लागि ८४ हजार रुपैयाँ खर्च हुन्छ ।

कलेजमा ३० हजार रुपैयाँ भर्ना शुल्क र करिब ४ हजार रुपैयाँ मासिक शुल्क लिँदै आएको छ । कलेजमा प्रत्येक वर्ष भर्ना हुनका लागि हजारौं विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् ।

प्रसादीभन्दा केही दूरी मै रहेको युनाइटेड कलेजले भने कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययन गर्नका लागि ५० हजार रुपैयाँ शुल्क तोकेको छ ।


पुष्प दुलाल