महानगरको राजस्व संकलन लक्ष्यको तुलनामा आधाभन्दा कम



विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्यको आधाभन्दा कम राजस्व मात्र असुली गरेको छ ।

गत आर्थिक वर्षभन्दा दोब्बर राजस्व असूली गर्ने लक्ष्य राखेको महानगरपालिकाले हालसम्म ३० करोड ६३ लाख मात्र राजस्व असूली गर्न सफल भएको हो ।

यो लक्ष्यभन्दा करिब २३ करोड ९३ लाख ३ हजार सय ९२ रूपैयाँ कम हो । चालु आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड ३ लाख राजस्व असूली गर्ने लक्ष्य राखेको थियो ।

महानगरपालिकलाई तिर्नुपर्ने कर तथा राजस्व वडा स्तरबाट संकलन गर्न थाले पनि असूली न्यून भएको हो । आर्थिक वर्ष २०७४/७५ मा पनि महानगरपालिकाले लक्ष्यअनुसारको राजस्व असूली गर्न सकेको थिएन ।

गत आर्थिक वर्षमा विराटनगर महानगरपालिकाले २७ करोड ३६ लाख १३ हजार राजस्व असूली भएको थियो । जनप्रतिनिधि आएपछि योजनावद्धरूपमा काम गरेको भए पनि लक्ष्यअनुसार राजस्व असूली नहुँदा आलोचना हुने गरेको थियो ।

चालु आर्थिक वर्षमा समेत पर्याप्त योजना, अध्ययन र तयारी बिना नै महानगरपालिकाले गत वर्षभन्दा करिब दोब्बर राजस्व उठाउने लक्ष्य लिएकाले राजस्व उठ्न नसकेको हो ।

गत साउनदेखि वडास्तरबाट कर तथा राजस्व संकलन गर्ने निर्णय भएअनुसार सोहीअनुसार कर असूली हुँदै आएको छ । तर कर तिर्न आएका सेवाग्राहीबाट घूस लिने कर्मचारीलाई जनप्रतिनिधिले नै रंगेहात पक्राउ गरेपछि २६औं कार्यपालिका बैठकले कुनै पनि कर महानगरबाट नलिने निर्णय गरेको थियो ।

स्थानीय तहमा ७ वटा शीर्षकमा राजस्व असूली हुने गरेको छ । घर–जग्गा कर, व्यवसाय कर, विज्ञापन कर, सवारी पार्किङ कर, दण्ड जरिवाना, धरौटी जफत र नक्सा पास दस्तुरसहित विविध शीर्षकबाट स्थानीय तहको महानगरमा तिर्नु पर्ने आर्थिक ऐनबमोजिम कर तथा दस्तुर वडामा बुझाउनु पर्ने व्यवस्था गरिएको हो ।

महानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानले करदाता नआएकाले कर असूली न्यून भएको जानकारी दिए । चालु आर्थिक वर्षमा बिना योजना करको लक्ष्य बढाएकाले प्रभावित भएको हुन सक्ने उनले बताए ।

विराटनगर महानगरपालिकाले सिलिङ तोकेर वडा अध्यक्षहरूलाई कर एवं दस्तुर लिन जिम्मेवारी दिएको थियो । तर पनि कर असूली न्यून भएपछि प्रमुख प्रकाशकीय अधिकृतको संरक्षणमा वित्तीय व्यवस्थापन महाशाखा, राजस्व शाखा र वडा अध्यक्षसहितको अनुगमन समिति बनाएको थियो ।

हालसम्म समितिले स्थलगतरूपमै गएर करको दायरामा नभएकालाई दायरामा ल्याउने र कर असूली प्रभावकारी कदम नचालेकाले कर उठाउन नसकिएको आँकलन गरिएको छ ।

महानगरपालिकाको चालू आर्थिक वर्षमा घर जग्गा कर, व्यवसाय कर, विज्ञापन कर, सवारी पार्किङ कर, दण्ड जरिवाना, धरौटी जफत र नक्सा पास दस्तुरसहित विविध आय शीर्षकबाट भने अनुमानित कर एक तिहाईभन्दा आधा कम रकम संकलन भएको छ ।

लिलामी बिक्री, भाडा तथा बहालबाट आय, धरौटी जफत, पेश्की फिर्ता, स्थानीय कर, दस्तुर, बिक्री शीर्षकमा न्यून कर संकलन भएको तथ्याङ्कले देखाएको छ । व्यवसाय कर ७ करोड असूली गर्ने लक्ष्य लिइएको भए पनि हालसम्म २ करोड २४ लाखमात्र असूली भएको छ ।

त्यस्तै महानगरपालिकाले घरबहाल करबाट ६ करोड असूली गर्ने लक्ष्य राखेकोमा हालसम्म २ करोड १४ लाख असूली गरेको छ । नक्सापास दस्तुरबाट ६ करोड लक्ष्यमध्ये ४ करोड १५ लाख ८४ हजार रूपैयाँ कर संकलन भएको छ ।

स्थानीय करअन्तर्गत मालपोत तथा भूमि करबाट ५ करोडमध्ये १ करोड ४५ लाख रूपैयाँमात्र भित्रिएको छ । सवारी साधन करबाट ८७ लाख १ हजार रूपैयाँमात्र संकलन भएको छ ।

महानगरपालिकामा २० वर्षदेखि थन्किएका करोडौं मूल्य पर्ने सामान छन् । सवारीसाधन, बिग्रिएका फर्निचर, फलाम लिलामी गर्न नसकिएको बताइएको छ ।

सिफारिस दस्तुरबाट १ करोड ६२ लाख १० हजार रूपैयाँ संकलन भएको छ । त्यस्तै सम्पत्ति करबाट १३ करोड असूली गर्ने लक्ष्य रहेकोमा ७ करोड ६५ लाख २० हजार रूपैयाँ संकलन भएको छ ।

महानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख प्रधानले प्रधानमन्त्री रोजगार कार्यक्रममा निवेदन दिएका बेरोजगार युवालाई महानगरपालिका प्रत्येक वडामा ३ जनाका दरले राजस्व अभिवृद्धि सर्भेक्षण टोली सदस्यका रूपमा परिचालन गरेको जानकारी दिए ।


क्लिकमान्डु