रात्रीकालिन बस चलाउने निर्णयबाट किन पछि हट्यो सरकार ?



काठमाडौं । रात परेपछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन पाउन मुस्किल नै हुन्छ । लामो यात्राबाट आएका यात्रु तथा आम सर्वसाधारण महंगो शुल्क तिरेर ट्याक्सी चढ्नुको विकल्प छैन । ट्याक्सी भाडा पनि रातको समयमा मनलाग्दी लिने गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र २ वटा महानगर छन् । महानगर हुनुको शर्त भनेकै सहज यातायातको पहुँच पनि हो । तर काठमाडौं उपत्यकामा रातको ८ बज्ने बित्तिकै सार्वजकि सवारी साधन पाउनु युद्ध जिते जस्तै हुने गरेको छ ।

यातायात व्यवसायीले मनलाग्दी रुपमा यात्रु कोचेर साँझ पर्ने बित्तिकै देखि ज्यादती पनि सुरु गर्छन् । त्यसको भुक्तमान नपर्ने यात्रु सायदै कमै होलान् काठमाडौंमा । साँझको समयमा काठमाडौंमा सवारी पाउनु र सिटमा बसेर यात्रा गर्न पाउनु त आनै सवारी साधन भए बराबर नै हो ।

पछिल्लो पटक सरकारले यात्रुको सोही मर्कालाई बुझेर रात्रीकालिन सवारी चलाउने निर्णय गरेको थियो । यात्रुलाई रातको समयमा पनि सेवा दिने लक्ष्यका साथ उक्त कदम अगाडि सारिएको थियो ।

सरकारको उक्त निर्णयलाई काठमाडौंबासीले राम्रै पनि मानेका थिए । अबेरसम्म काम गर्ने यात्रुले अब राती कसरी आफ्नो बासस्थान जाने भन्ने चिन्ता नहुने भयो भन्दै खुसी पनि व्यक्त गरेका थिए । तर एकाएक सरकार उक्त निर्णयबाट पछाडि हटेको छ ।

यातायात व्यस्था विभागले यातायात व्यवसायीको दबावमा बिहिबार २ बजे सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा सरकार विरुद्ध चर्को आक्रोश पैदा भएको थियो ।

गत दशैंको आसपासमा मात्रै यातायात व्यवसायीको दबावमा विभागले सार्वजनिक सवारी साधानको भाडा बढेको थियो । बिहिबारको उक्त निर्णयमा पनि व्यवसायीको दबाव र आर्थिक चलखेल भएको भन्दै सामािजक सञ्जालमा आलोचना भएको थियो ।

निर्णय भएको ५ घण्टा बित्दा नबित्दै विभागले उक्त निर्णय फिर्ता मात्रै लिएन । रात्रीकालिन बस चलाउने निर्णयबाट पनि पछाडि हट्ने निर्णय गरेको छ ।

एउटा निर्णय गर्न नपाएपछि अर्को जनउपयोगी निर्णयबाट पनि पछाडि हटेर सरकारले राम्रो नगरेको भन्दै पुनः विभागको आलोचना भएको छ ।

विभागले सार्वजनिक विदाको दिन बाहेक अरु दिन दिउँसो चक्रपथ भित्र तथा झक्तपुर र कित्र्तिपुर नगरपालिकाको भित्री शहरी क्षेत्रमा सबै प्रकारका मालबहाक सवारी साधनलाई प्रवेश तथा सञ्चालनमा ल्याउने निर्णयबाट पनि पछि हटेको छ ।

कार्यालय समयमा मालवहाक सवारी साधन चलाउन दिँदा सवारी जाम हुने र यात्रा कष्टकर हुने गरेको थियो । त्यसलाई रोक्न कार्यालय समयमा मालवहाक सवारीसाधन चल्न नदिने निर्णय उपयुक्त ने हुन जान्थ्यो । तर सो निर्णयबाट पनि पछाडि हटेको छ ।

कुन कुन रुटमा चलाउन लागिएको थियो रात्री बस ?

राती ९ बजेदेखि १ बजेसम्म चलाउन लागिएको रात्री बसको रुट समेत निर्धारण गरिएको थियो । विभागले ४ किलोमिटरसम्मको यात्रा गर्ने यात्रुले २५ रुपैयाँ भाडा तिर्ने गरी व्यवस्था गरिएको जनाएको थियो ।

कम्पनी अन्तर्गत सञ्चालनमा रहेका १२ वटा यातायात व्यवसायी कम्पनीले राती बस सेवा चलाउने निर्णय गरेका थिए । त्यसमा साझा यातायाताको लगनखेल– न्यूरोड– कलंकी, लगनखेल– न्यूरोड–एयरपोर्ट–चाबहिलसम्म चल्ने थियो । त्यस्तै लखनखेल– न्यूरोड–नारायणगोपाल चोक हुँदै नयाँ बसपार्कसम्म जाने थियो ।

यस्तै महानगर यातायातले नयाँ बसपार्कलाई केन्द्रमा राखी चक्रपथ परिक्रममा गर्ने रुट निर्धारण गरिएको थियो ।

यस्तै रिद्धि सिद्धि यातायात, शुभकामना यातायात, रचना यातायात, मयूर यातायात, अन्नपूर्ण सार्वजनिक यातायात, गोकर्णेश्वर, ललितपुर मिनिबस, तारेकेशन यातायात, बुढानिलकण्ठ र कित्र्तिपुर यातायाले सेवा दिने गरी रात्रीकालिन बस सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको थियो ।

तर उक्त निर्णयबाट सरकार पछाडि हटेको छ ।


क्लिकमान्डु