स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य अब के हुन्छ ? (प्राविधिक विश्लेषण)
काठमाडौं । लामो समयसम्म सामान्य वृद्धि मात्र देखिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले अहिले कोर्स करेक्सन गर्ने चर्चा छ । निक्षेप संकलन र कर्जा लगानीमा आक्रामक देखिन थालेको बैंक आफ्नो सिद्दान्तभित्र रहेर हुनसक्ने जति आक्रामक हुने रणनीतिमा लागेको छ ।
फलतः चैतमा बैंकको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) बढेर ७८.४७ पुगेको छ । बैंकले निकै अघिसम्म यो अनुपात ७५ प्रतिशतभन्दा कम नै राखिरहेको थियो ।
अन्य बैंक तथा वित्तीय संस्था लगायतलाई दिएको कर्जा अलग्याएर हेर्दा भने बैंकको कर्जा निक्षेप अनुपात ७५ प्रतिशत मात्र छ । त्यसो त बैंकले मौका हेरेर कर्जा वृद्धि गर्ने गर्दै आएको पनि छ । अन्य बैंकहरु पुँजी अभावमा रहँदा बैंकले बेला बेलामा यसको लाभ उठाउदै आएको पनि थियो ।
पहिलो दिन कालो लामो आकारको मैनवत्ति बनेको छ भने अन्तिम दिन सानो आकारको डोजी स्टार बनेको छ । अबको कारोबारमा सेतो आकारको लामो मैनवत्ति बनेमा मर्निङ स्टार डोजी प्यार्टन बन्नेछ । यसले बजार थप बढ्नेमा सुनिश्चित हुन सकिनेछ । यो संकेत दरिलो समेत मानिन्छ ।
कर्जामा आक्रामक देखिन थाले पनि बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा पनि कम छ । बैंकले खराब कर्जाको लागि प्रावधान भने ५ सय ८१ प्रतिशत छ । ९ करोड ९७ लाख ९७ हजार रुपैयाँ प्रावधानको रुपमा छुट्याएको हो ।
चैतसम्म बैंकको पुँजी कोष पर्याप्तता अनुपातको आधारमा समग्र वाणिज्य बैंकहरुमा दोस्रो स्थानमा (१८.८९ प्रतिशत) छ । बैंकको जोखिम भारित सम्पत्तिको आधारमा पुँजी अनुपात उच्च हुनुले बैंक सुरक्षित छ भन्ने सन्देश दिन्छ ।
चैतसम्मको अवस्था हेर्दा भने बैंक अझै संयमित कारोबार नै गरिरहेको छ । समग्र वाणिज्य बैंकहरुमा निक्षेप आधारमा बैंक अझै २० स्थानमा छ । वाणिज्य बैंकहरुमा सबैभन्दा कम शाखा (१२ वटा) रहेको बैंकले कम लागतमा बढि ध्यान दिइरहेकोले पनि निक्षेप कम नै छ । कर्जामा २६औं स्थानमा छ । कम लागतको निक्षेप रहने बैंकमा भने स्थान ११ छ । बैंकको नाफा भने ११.६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
सेयरमा प्रतिफलको आधारमा बैंक अहिले पनि छैठौं स्थानमा छ । बैंकको सेयरमा प्रतिफल (आरओइ) १८.५६ प्रतिशत छ । ५ वर्षयताको औसत लाभांश ५० प्रतिशत छ । बैंकले आव ०७३/७४ मा शतप्रतिशत बोनस सेयर दिएकोले पनि औसत लाभांश थप वृद्धि भएको हो ।
बैंकले सेयर प्रिमियमको रकमबाट बोनस दिएको थियो । हाल बैंकसँग यस्तो प्रिमियम वापत रकम बाँकी छैन । कुनै समयको आकर्षक ब्लु चिप कम्पनी चार्टर्डको सुस्त वृद्धिदरले यसको आकर्षण केही घटेको थियो ।
यद्यपि संयमित लगानी गर्ने चार्टर्ड कम जोखिम भएको सेयर हो । यस पटकको नाफा र त्यसपछि देखिएको वितरण योग्य पुँजीको आधारमा बैंकको लाभांश क्षमता १३.८१ प्रतिशत हाराहारी मात्रै छ ।
८ अर्ब १ करोड चुक्ता पुँजी रहेको बैंकका सेयर लगानीकर्ताले आव ०७४/७५ मा समेत नगद लाभांश मात्र पाएका थिए । बोनसलाई ग्राहयता दिने नेपाली लगानीकर्ताहरुको प्रवृत्ति रहेकोले नगद लाभांशको मात्र प्रभाव बजारमा कम पर्ने गर्छ ।
सम्भवत यही कारण करीब ७ साताअघि उच्च दरमा बढिरहेको कम्पनीको सेयर मूल्य ओरालो लाग्ने क्रममा रह्यो । हुन त यसलाई डेभिडेन्ड आफ्टर इफेक्ट्स पनि मान्न सकिन्छ । बोनस सेयर दिने कम्पनीहरुको समेत यसको समायोजन पछि मूल्य घट्ने गर्छ । बैंकको सेयर मूल्य रिभाइभ हुन सकेको छैन, प्रयास भने गरिरहेको देख्न सकिन्छ ।
केही समयअघि मात्रै बैंकको २१ दिने मुभिङ एभरेज रेखाले ७ दिनेलाई काटेर माथि लागेको थियो । अहिले पुनः यी २ रेखा एकअर्काको निक्कै नजिक आएका छन् । यदि अब ७ दिने रेखा २१ दिने रेखाभन्दा माथि रहेमा बजार केही समय बढ्नेछ । कति समय भन्न सहज हुँदैन ।
तर यी २ रेखाबीचको दुरीलाई नियालिरहनु पर्छ । बैंकको सेयर मूल्य केही समय अघि मात्रै ६ सय ७७ रुपैयाँमा दुई पटक अड्डिएर अंग्रेजी अक्षरको डब्लु आकृती बनाएको थियो । यसको संकेत अनुसार बजार थोरै वृद्धि भएपनि त्यो वृद्धि तेस्रो दिन पनि टिक्न सकेन । घट्दो क्रममा रहेको सेयर मूल्यले एक महिनाभित्र ६ सय ६० रुपैयाँमा पहिलो टेवा पाउनेछ । यो बीचको रेन्ज ३७ रहेकोले लगभग त्यही दरमा घटबढ हुने सम्भावना छ ।
बैंकको मैनवत्ति चित्र विश्लेषणले यसले पटक-पटक घट्न थामिने प्रयास गरिरहेको भए पनि सफल हुन नसकिरहेको संकेत गर्छ । अन्तिम दुई दिनको मैनवत्ति चित्रले बजार बढ्न सक्ने संकेत गरिरहेको छ । पहिलो दिन कालो लामो आकारको मैनवत्ति बनेको छ भने अन्तिम दिन सानो आकारको डोजी स्टार बनेको छ । अबको कारोबारमा सेतो आकारको लामो मैनवत्ति बनेमा मर्निङ स्टार डोजी प्यार्टन बन्नेछ । यसले बजार थप बढ्नेमा सुनिश्चित हुन सकिनेछ । यो संकेत दरिलो समेत मानिन्छ ।
सात साताको बीचमा मूल्य बढेर ७ सय २३ सम्म पुग्दा बैंकको सेयर १४ दिने आरएसआई स्केलमा ९३ सम्म पुगेको थियो । बजारमा उच्च माग थियो ।
तर, अहिले सेयर मूल्य ३९ स्केलमा छ । सेयर मूल्य ओभर सोल्ड (स्केलको ३० भन्दा मुनी/अधिक बिक्री) मा पुगेर पुनः बढ्दै ५० सम्म पुगेर ३९ मा आइपुगेको हो । मागमा घटबढ आइरहेको यसले संकेत गरिरहेको छ ।
हाललाई भने सेयर न्युट्रल जोन (सन्तुलित क्षेत्र, स्केल ३० भन्दा माथि ७० भन्दा तल) मा छ । लगालग दुई दिन स्केल ३९ मा आएर रोकिएको बैंकको सेयर मूल्य समान्य बढ्न सक्ने सम्भावना छ ।