कोटेश्वरको जाम हटाउन अन्डरपास र भायोडक्ट



काठमाडौं । सरकारले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जापानी सहयोग नियोग (जाइका) मिलेर कोटेश्वरको जाम हटाउने विषयमा अध्ययन गरिरहेको छ ।

जाइकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न अध्ययन गरेको भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुधन अधिकारी बताउँछन । ‘जाइकाले कोटेश्वरको जाम व्यवस्थापन गर्ने विषयमा अध्ययन गरिरहेको छ ।

जाइकाको अध्ययनले जाम व्यवस्थापन गर्न दुई विकल्प सुझाएको छ,’ अधिकारीले भने, ‘अन्डरपास र भायोडक्ट (सडकमाथि पुल) ।’ जाइकाले अनुदानमा ट्राफिक व्यवस्थापन गर्न सकिने विकल्पकको बारेमा अध्ययन मात्र गरेको हो । जाइकाले मे मा अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाउने छ । प्रतिवेदनका आधारमा ट्राफिक व्यवस्थापनका लागि आवश्यक कदम चालिने उनी बताउँछन् ।

यस अघि सडक विभाग पुल महाशाखाले उपत्यकाको जाम व्यवस्थापन गर्न अन्डरपास निर्माण गर्ने तयारी गरेको थियो । महाशाखाले बानेश्वर र महाराजगञ्ज चोकमा अन्डरपास बनाउने भन्दै डीजाइन तयार गर्ने परामर्शदाता छनोट गरेको थियो । चीनले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथ विस्तार गर्ने तयारी गरिरहेकाले महाराजगञ्जबाट महाशाखा पछि हटेको थियो ।

त्यसको विकल्पमा कोटेश्वरमा अन्डरपास बनाउने तयारी गरेको थियो । पुन जाइकाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि अध्ययन प्रक्रिया अघि बढाएकाले यहाँबाट पनि पछि हटेको छ ।

जाइकाले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने विषयमा अध्ययन गरे पनि यसका लागि आवश्यक पर्ने पुर्वाधार निर्माण गर्ने तय हुन सकेको छैन । ‘कोटेश्वरको जाम व्यवस्थापन गर्न आवश्यक भइसकेको छ । निकट भविष्यमा यहाँको ट्राफिक व्यवस्थापन गर्न नसकेका अझै भयावहक स्थिति आउँछ,’ अधिकारीले भने, ‘यो रुट प्रयोग गर्नेले आधा घण्टादेखि एक घण्टासम्म जामको सापना गर्नु परेको छ । यो समस्या समाधान गर्न सरकार तल्लिन छ ।’

जाइकाले ट्राफिक व्यवस्थापन गर्न सुझाएको दुई विकल्पमध्येमा अन्डरपास उचित हुने उनी बताउँछन् । विमानस्थलको सुरक्षाको दुष्टिकोण र यात्रुको प्रवाहलाई भायोडक्टले सम्बोधन गर्न सक्दैन । भायोडक्ट कोटेश्वरदेखि थापाथलि चोकसम्म निर्माण गर्नुपर्ने हुन्छ । पिल्लर उठाएर पुल जस्तैगरि निर्माण गरिने भएकाले विमानस्थलमा सुरक्षाको खतरा र यात्रुलाई आराल्न तथा उकाल्न समस्या हुन्छ ।

एक वर्ष अघिसम्म कलंकी चोकमा पनि कोटेश्वरको जस्तै ट्राफिक चाप थियो । चीनले चक्रपथ विस्तार गर्ने क्रममा त्यहाँ अन्डरपास निर्माण गरेको थियो । अन्डरपास सञ्चालमा आएसँगै त्यहाँको ट्राफिक चाप सहज भएको छ ।

त्यहाँको सफलतालाई आधार मानेर कोटेश्वरमा अन्डरपास र वैकल्पिक सडकको प्रयोगलाई बढाउनु्पर्ने यातायात इन्जिनियर आशिष गजुरेल बताउँछन् । कोटेश्वर चोकमा चक्रपथ, भक्तपुर, काभ्रेका लोक सवारीका साथै पूवी पहाडी तथा तराईका सवारी बाहिरिने र भित्रिने प्रमुख नाका हो । गुजुरले भन्छन, ‘अन्डरपास एक विकल्प हो । अर्को मनहरा खोलाको करिडोरलाई प्रयोगमा ल्याउनुपर्छ । सवारीको चापले सडक जाम भएको हो । सवारीलाई डाइभर्ट गरेर जामलाई सुधार गर्न सकिन्छ ।’

दुई लेनको कोटेश्वर–सूर्यविनाक ९.१४ किलोमिटर सडक २०६९ सालमा चार लेनमा स्तरोन्नति गरिएको थियो। साघुँरो सडक फराकिलो बन्दा जामको समस्या अन्त्य हुने धेरैको विश्वास थियो । तर सडक विस्तार भएको ७ वर्ष लाग्दै गर्दा सडक साँघुरो भइसकेको छ ।


क्लिकमान्डु