प्राइम र ओम डेभलपमेन्ट बैंकको ‘एक्विजिसन’ प्रक्रिया भाँडियो, के गर्ला राष्ट्र बैंकले ?



काठमाडौं । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकबीचको एक्विजिसन भाँडिएको छ । सञ्चालक र कर्मचारी समायोजनमा कुरा नमिलेपछि प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्ने प्रक्रिया भाँडिएको हो ।

यी दुई बैंकबीच गत भदौ ३ गते एक्विजिसनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दुबैं संस्थामा नेवार समूदायको ठूलो लगानी थियो । जसकारण यी दुई संस्थाबीचको एकता सहज हुने विश्वास गरिएको थियो ।

एक्विजिसन प्रक्रिया भाँडिनुमा दुबै बैंकका अधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीलाई एक्वायरपछि प्राइम बैंकमा नराख्ने भनिएपछि एक्वायर प्रक्रिया भाँडिएको प्राइम बैंकका अधिकारीहरु दाबी गर्छन् ।

‘विश्वमोहनजीलाई ओमकै साथीहरुले एक्वायर पछि राख्नु हुँदैन भन्नुभयो र हामीले पनि त्यस्तै खालको कागजात तयार पार्यौं,’ प्राइम बैंक स्रोतले भन्यो, ‘त्यसपछि उहाँ प्रक्रिया भाँड्न लाग्नुभयो ।’

ओमका शर्तहरु मान्न आफूहरु तयार हुँदाहुँदै पनि एकपछि अर्को बहाना बनाएर ओमका लगानीकर्ताहरु एक्विजिसन प्रक्रियाबाट भाग्न खोजेको प्राइम बैंकका एक सञ्चालकले बताए ।

तर, ओम डेभलपमेन्ट बैंकका उच्च अधिकारीहरु भने प्राइम बैंकले समझदारीपत्र पालना नगरेको बताउँछन् ।

‘समझदारीपत्रमा एक्वायर प्रक्रिया सकिएपछि साभारणसभा बोलाउने भन्ने थियो, तर प्राइमले एक्वायर नहुँदै साधारणसभा बोलायो,’ ओम डेभलपमेन्ट बैंक स्रोतले भन्यो, ‘प्राइमका साथीहरु एक्वायरमा सिरियस देखिनु भएन । उहाँहरुले अहिलेसम्म केही पनि काम गर्नुभएको छैन ।’

‘हामी दुबै बैंकका जिम्मेवार अधिकारीहरुलाई बोलाएर एक्विजिसन प्रक्रिया किन अघि बढेन भनेर प्रष्टिकरण सोध्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसपछि वास्तविकता बुझेर आवश्यक निर्णय लिन्छौं ।’

समझदारी अनुसार गत माघ १३ गतेभित्र यी दुई बैंकबीचको एक्वायर प्रक्रिया सकिनु पर्थ्यो ।

तर, ओम डेभलपमेन्ट बैंकले सञ्चालक समितिबाट निर्णय गराएर प्राइमसँगको एक्वायर प्रक्रियाबाट अलग्गिने भन्दै माघ १३ गते राष्ट्र बैंकलाई पत्राचार गरिसकेकोछ । सोही दिन संयुक्त मर्जर कमिटिले भने एक्वायर प्रक्रिया नटुंगिएको भन्दै राष्ट्र बैंकमा पत्रचार गरी ३ महिना थप समय मागेको थियो ।

राष्ट्र बैंकले मर्जर कमिटिको आग्रह स्वीकार गर्दै ३ महिनाका लागि समय पनि थप गरेको छ । जसअनुसार बैशाख १३ गतेभित्र एक्वायर प्रक्रिया सकिनुपर्छ । तर, अहिलेसम्म कुरा मिलेको छैन ।

प्राइम बैंक ओमलाई एक्वायर गर्न चाहन्छ । किनभने गत पुस मसान्तको वित्तीय विवरण अनुसार कूल निक्षेपमा प्राइमको कल डिपोजिटको हिस्सा २५ प्रतिशत छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कल डिपोजिटको हिस्सा १० प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ ।

ओमलाई एक्वायर गरेको खण्डमा प्राइमको कल डिपोजिटको हिस्सा राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल झर्छ । होइन भने प्राइमलाई कल डिपोजिटको हिस्सा बढी राखेको भन्दै राष्ट्र बैंकको कारबाहीमा पर्ने डर छ ।

त्यसैले प्राइमका अधिकारीहरु ओम एक्विजिसन प्रक्रियाबाट नभागोस् भन्ने चाहन्छन् ।

तर, ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु भने कुनैपनि हालतमा प्राइमसँग एक्वायरमा नजाने बताउन थालेका छन् । साधारणसभाबाटै निर्णय गराए भएपनि प्राइमसँग एक्वायरमा नजाने ओमका मूख्य लगानीकर्ताहरुको रणनीति छ ।

कमलपोखरी काठमाडौंमा स्थित केन्द्रीय कार्यालय रहेको प्राइम बैंकले पोखराको चिप्लेढुंगा स्थित केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक एक्विजिसन गर्ने समझदारी पत्रमा प्राइमका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम अध्यक्ष सुशील कुमार गोशलीले हस्ताक्षर गरेका थिए ।

नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले दुई बैंक एक्विजिसनमा जान सहमत थिए ।

असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै भएको निष्कर्श निकाल्दै घटाउने उद्देश्यले राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीति लिएको हो । राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जानलाई बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहनको नीति अबलम्बन गरेको छ ।

आफूले इजाजत दिएका संस्थाहरुले आफ्नै नीति अटेर गर्दा राष्ट्र बैंकले आफूसँग भएको नियामकीय अधिकार प्रयोग गर्न सक्छ । यदि राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जान फोर्स गरेन भने समझदारी पत्रमा भएका धेरै प्रक्रियाहरु अवरुद्ध हुने देखिन्छ ।

बैशाख १३ गतेभन्दा अगाडि नै दुबै बैंकका प्रतिनिधिलाई बोलाएर एक्विजिसन प्रक्रिया किन अघि नबढेको भन्दै प्रष्टिकरण सोधिने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘हामी दुबै बैंकका जिम्मेवार अधिकारीहरुलाई बोलाएर एक्विजिसन प्रक्रिया किन अघि बढेन भनेर प्रष्टिकरण सोध्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसपछि वास्तविकता बुझेर आवश्यक निर्णय लिन्छौं ।’


पुष्प दुलाल