योजना आयोग प्रतिवेदनः लगानीकर्तामा ज्ञान छैन, सेयर ब्रोकरमा शुसासन छैन



काठमाडौं । राष्ट्रिय योजना आयोगले सेयर बजारमा अनावश्यक र अत्याधिक उतारचढाव देखिएको टिप्पणी गरेको छ ।

आयोगले तयार पारेको दीर्घकालिन सोच सहितको १५ योजनामा सेयर बजारको प्रमुख समस्याको रुपमा गैर आवासीय र विदेशी संस्थागत लगानीकर्तालाई भित्राउन अहिलेसम्म नसकिएको देखाएको छ ।

मस्यौदामा भनिएको छ,‘सेयर बजारमा एनआरएन र विदेशी लगानीकर्ता आकर्षित गर्नको लागि नीतिगत सुधार भएन,बजारमा उत्पादन मुलक कम्पनी भित्राउन सकिएन।’

यस्तै मस्यौदामा सेयर ब्रोक्ररहरुमा व्यवसायिकता र प्रतिस्पर्धाको अभाव रहेको संस्थागत शुसासन समेत नभएको उल्लेख गरेको छ ।

‘सेयर लगानीकर्तामा वित्तीय साक्षरताको कमी देखिएको छ,सेयर मूल्यमा अस्वभाविक उतारचढाव आएको देखिन्छ,’प्रतिवेदनमा भनिएको छ ।
आयोगले सेयर कारोबारको लागत समेत उच्च भएको बताएको छ ।

सेयर बजारलाई देशव्यापी बनाउनु,संस्थागत लगानीकर्ता भित्राउनु,बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन आवश्यक भएको निचोड आयोगले निकालेको छ ।
‘राजनीतिक स्थाईत्वको कारण वास्तविक क्षेत्रका कम्पनी सेयर बजारमा प्रवेश गर्ने छन्,एनआरएन र विदेशी संस्थागत लगानीकर्ताको समेत प्रवेश हुने छ,’प्रतिवेदनमा उल्लेख छ ।

आयोगले सेयर बजारको विकासको लागि १५ योजनामा स्वच्छ र प्रतिस्पर्धी वस्तु तथा धितोपत्र बजार मार्फत राष्ट्रिय पूँजी संकलन गर्ने सोच राखेको छ ।
सवल,गतिशिल र विश्वसीयन धितोपत्र तथा वस्तु विनियम विकास मार्फत लगानी आकर्षित गर्ने लक्ष्य लिएर बजारलाई पहुँचयोग्य र विश्वसनिय बनाउने उद्देश्य लिएको जनाएको छ ।

यसको लागि आयोगले ३ बुँदे रणनीति बनाएको छ ।

आयोगको पहिलो रणनीतिमा सेयर बजार र वस्तु बजारलाई विश्वसयिन बनाउनको लागि यसको दायर विस्तार गर्ने राखेको छ । जसको लागि बजारको विकासमा अन्तराष्ट्रिय स्तरको मूल्य प्रणाली निर्धारण र दोस्रो बजारको प्रणाली परिक्षण व्यवस्था गर्ने कार्यनीति बनाउने भनेको छ ।

सेयर बजारमा विदेशी संस्थागत लगानीकर्ता भित्राउने सोच १५ योजनामा राखिएको छ ।

प्रधानमन्त्रीले आजदेखि उद्घाटन गरेको राष्ट्रिय विकास परिषद्को बैठकमा योजना आयोगले तयार पारेको आधारपत्रमा छलफल हुने छ । विकास परिषद्को बैठकपछि १५ योजनाले अन्तिम रुप पाउने छ ।


क्लिकमान्डु