कसरी छान्यो लगानी बोर्डले लगानी सम्मेलनमा प्रस्तुत हुने ७७ आयोजना ?
काठमाडौं । लगानी सम्मेलन शुक्रबारदेखि शुरु हुँदैछ । लगानी बोर्डले सम्मेलनका लागि भन्दै सरकारका ५० र निजी क्षेत्रमा २५ आयोजना छनोट गरेको छ ।
ती आयोजनालाई सम्मेलनमा ‘शो केश’ का रुपमा प्रस्तुत गर्ने भएको छ ।
सम्मेलनमा प्रस्तुत हुने ती आयोजनाका लगानीको मात्रा र आयोजना सम्पन्न हुने अवधि समेत उल्लेख गरिएको छ । ती आयोजना के कसरी छनोट भए भन्ने विषयमा सर्वत्र चासो रहेको छ ।
आर्थिक समृद्धिको लक्ष्य पहिल्याउन भन्दै छनोट गरिएका ती आयोजनाको अवस्था के हो भन्ने बारेमा समेत सामान्य जानकारी दिने प्रयास गरिएको छ ।
तर बोर्डको आनै संरचनागत अवस्था सबल नभएको तथा प्राविधिक कर्मचारी समेत नभएको अवस्थामा धेरैले सम्मेलनमा प्रस्तुत हुने आयोजनाको वास्तविक अवस्थाको बारेमा समेत आशंका व्यक्त गरेका छन् ।
तर बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रत्येक आयोजनाका लागि चार÷चार जनाको विज्ञ एवम् प्राविधिकले अध्ययन गरेको र सोही आधारमा आयोजनाको प्रारम्भिक विषयमा जानकारी दिइएको बताएका छन् ।
उनले सामान्य रुपमा एउटा आयोजना बनाउन कति रकम खर्च हुन्छ र त्यसको अवधि कति सम्म लाग्न सक्छ भन्ने मोटामोटी हिसाब निकाल्न सकिन्छ । यो सामान्य प्रक्रिया नै भएको बताए ।
बोर्डले अगाडि सारेका दर्जन बढी आयोजना मध्ये एकाध मात्रै कार्यान्वयनमा गएको अवस्था छ । त्यसमा अरुण तेस्रो आयोजनाको काम अगाडि बढेको छ । बोर्डले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको लगानी नजुटेका कारण विगत ८ वर्षदेखि आयोजना कार्यान्वयन हुन सकेको छैन ।
सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको सो आयोजनाको म्याद ३ पटक थप भएको छ । पछिल्लो पटक पनि म्याद थपका लागि बोर्डमा आवेदन दिएको छ । गत असोज ३ गतेदेखि सो आयोजनाको म्याद सकिएको भएपनि हालसम्म कुनै निर्णय हुन सकेको छैन ।
यस्तै बोर्डले संयोजन गरेको होङ्सी शिवम् सिमेन्टले उत्पादन सुरु गरेको छ । काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनको बारेमा उपत्यका काठमाडौँ महानगर लगायत अन्य नगरपालिकासँग गर्ने भनिएको सम्झौता प्रारम्भिक रुपमा हस्ताक्षर भएपनि अरु काम अगाडि बढेको छैन ।
पछिल्लो पटक बोर्डको कार्यक्षेत्र र अधिकार समेत थप गरिएको छ । जसका कारण काम गर्न थप सहज हुने विश्वास लिइएको छ । ६ अर्ब रुपैयाँ माथिको सबै आयोजना बोर्डले नै संयोजन गर्ने गरी व्यवस्था मिलाइएको छ । यस्तै २०० मेगावाट माथिका आयोजना समेत बोर्डले नै हेर्नेछ ।
पछिल्लो पटक आयोजना गरिएको लगानी सम्मेलनलाई ध्यानमा राखेर बोर्ड आफैले प्राविधिक तथा विज्ञ मार्फत आयोजना छनोट गरेको दावी गरेको छ ।
‘हामीले प्रारम्भिक रुपमा आयोजनाको अवस्था तथा तिनको प्रारम्भिक लागत के कस्तो रहने भन्ने बारेमा निक्र्योल गरेका छौ,’ प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने ।
यस्तै बोर्डले सम्मेलनका लागि भन्दै निजी क्षेत्रले अध्ययन गरेका आयोजनाको प्राप्त सूची मध्ये उपयुक्त आयोजनालाई शो केशमा राख्ने गरी छनोट गरेको जनाएको छ ।
त्यसमा केही अध्ययन भएका र केही प्रारम्भिक रुपमा नै रहेका आयोजना समेत समावेश गरिएको छ । तर बोर्डले कुन आधारमा के कसरी परियोजना छनोट गर्यो भन्ने बारेमा प्रष्ट पारेपनि लगानीकर्ताले थप प्रष्ट्याई भने खोज्ने छन् ।