मोबाइल बैंकिङका प्रयोगकर्ता ६४ लाख



काठमाडौं । प्रविधिको विकासले बैंक तथा वित्तीय संस्थाहरुलाई निकै सहज बनाएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले पनि प्रविधिको उच्चतम प्रयोग गरिरहेका छन् ।

बैंकहरुले अहिले सेवाग्राहीलाई एमएमएस बैंकिङ, एटिएम, डेबिट, क्रेडिट कार्ड, प्रिपेड कार्डको नाममा सेवा दिइरहेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता ६३ लाख ९४ हजार ९१६ जना रहेका छन् । जसमा ‘क’ वर्गका बैंकतर्फ ५८ लाख ६६ हजार ५३१ जनाले सेवा लिएका छन् । ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट ५ लाख ९ हजार ८९७ जना रहेका छन् भने ‘ग’ वर्गका १८ हजार ४८८ जना रहेका छन् ।

यस्तै इन्टेरनेट बैंकिङ सेवा लिने सेवाग्राही ८ लाख ५६ हजार ६९५ जना रहेका छन् । जसमा ‘क’ वर्गका बैंकतर्फ ८ लाख ३५ हजार २९३ जनाले यस्तो सेवा लिएका छन् । यस्तै ‘ख’ वर्गको बैंक वित्तीय संस्थाबाट १७ हजार ४४४ जनाले यो सेवा लिएका छन भने ‘ग’ वर्गका वित्तीय संस्थाबाट तीन हजार ९५८ जनाले सेवा लिएको राष्ट्र बैंकको भनाई छ ।

माघ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको ३ हजार ४९ वटा एटिएम मेसिन रहेका छन् । जसमध्ये सबै भन्दा बढी ‘क’ वर्गको बैंकको रहेको छ । ‘क’ वर्गको बैंकको २ हजार ७ सय ७५ वटा, ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाको २३८ वटा र ‘ग’ वर्गका वित्तीय संस्थाले ३६ वटा मात्र एटिएम मेसिन रहेका छन् ।

देशमा डेबिट, क्रेडिट र प्रिपेड कार्ड प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । माघ महिनासमम ५९ लाख ६२ हजार ८३८ जनाले डेबिट कार्ड सेवा लिएका छन् ।

यसरी डेबिट कार्ड लिनेमा ५७ लाख ९४ हजार ९३४ जना ‘क’ वर्गका बैंक तर्फका रहेका थिए भने ‘ख’ वर्गका विकास बैंकको १ लाख ४० हजार ९३३ जना रहेको र ‘ग’ वर्गका वित्तीय संस्थाको २६ हजार ९७१ जना रहेका छन् ।

डेबिट कार्ड लिने भन्दा क्रेडिट कार्ड लिनेको संख्या कम रहेको छ । क्रेडिट कार्ड लिनेमा ‘क’ वर्गले दिने यो सेव लिनेमा १० लाख ५२७ जना सेवाग्राही रहेका छन् । ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यो सेवा दिएका छैनन् । यस्तै प्रिपेड तर्फ ६४ हजार ४८४ जना रहेका छन् । यी सबै ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाको हो । ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले प्रिपेड सेवा दिएका छैनन् ।


पुष्प दुलाल