सेयर बजारमा १० प्रतिशतसम्म लगानी गर्न बीमा कम्पनीलाई बाटो खुला



काठमाडौं बीमा समितिले बीमकको ‘लगानी निर्देशिका २०७५’ जारी गरी लगानीका क्षेत्रहरु निर्धारण गरेको छ ।

समितिले तोकिए बमोजिमको सल्भेन्सी अनुपात कायम गरी बीमा कम्पनीको लगानीलाई थप ब्यवस्थित बनाउन र लगानीलाई विविधिकरण गर्न आवश्यक रहेको भन्दै निर्देशिका जारी गरेको जनाएको छ ।

समितिले निर्देशिका जारी गर्दै बीमा कम्पनीले घरजग्गा व्यवसायमा, साधारण सेयरमा, ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने) र ऋणपत्र, बोर्डबाट अनुमति लिएर विनिमय बजारका सूचीकृत कम्पनीको डिबेन्चरमा लगानी गर्ने बाटो खुलाएको छ । यस्तै कृषि, पर्यटन, जलस्रोत, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।

समितिको बोर्डमा सुचिकृत नभएका कम्पनीमा लगानी गर्नुपरेमा बोर्डको अनुमति लिनु पर्ने, घरजग्गा ब्यवसाय, कृषि, पर्यटन जलस्रोत लगायका क्षेत्रमा तोकिएको भन्दा लगानी गर्दा समितिको अनुमति लिनुपर्ने उल्लेख छ । घरजग्गा व्यवसाय, कृषि, पर्यटन, जलस्रोत, लगायतका पूर्वाधारमा सिमा गणना गर्दा समितिबाट स्वीकत भएको वित्तीय विवरण बमोजिम कूल टेक्निकल रिजर्भका आधारमा गर्नुपर्ने जनाएको छ ।

समितिले कुनै पनि सम्पतिमा टेक्निकल रिजर्भको प्रयोजनको लागि राखिने सम्पति हो वा होइन भन्ने तोक्न सक्ने जनाएको छ । लगानीगर्दा कम्पनीले १५ दिनभित्र समितिलाई लगानीको विवरण पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यस्तै घरजग्गा व्यवसायमा कूल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कूल टेक्निकल रिजर्भको २० प्रतिशत, डिवेन्चरमा २० प्रतिशत, कृषि पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० प्रतिशत लगानी गर्न पाउने निर्देशिकामा रहेको छ ।

बीमा कम्पनीले धितोपत्र बोर्डबाट इजाजत प्राप्त विनिमय बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण सेयरमा १० प्रतिशत सम्म लगानी गर्न सक्नेछ । यस्ता कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत भन्दा बढीहुने गरि लगानी गर्न नपाईने व्यवस्था छ ।


क्लिकमान्डु