नियम मिचेर सेबोन अध्यक्ष रेवतबहादुरले हस्तक्षेप गरेपछि नेप्सेलाई काम गर्नै समस्या



काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्ड र त्यसका अध्यक्ष रेवतबहादुर कार्कीले एकपछि अर्को हस्तक्षेप गर्न थालेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई काम गर्न समस्या भएको छ ।

सेयर बजारको सुधारका लागि भन्दै धितोपत्र बोर्डले क्षेत्राधिकार मिच्न थालेपछि नेप्सेलाई काम गर्न समस्या भएको हो । अन्य निकायले गरेको कामको जस पनि आफैंले लिने बोर्डका अध्यक्ष कार्कीको प्रवृत्तिका कारण नेप्से समस्यामा परेको हो ।

सेयर बजारमा आफुले उल्लेख्य काम गरेको भनेर देखाउनका लागि कार्कीले अन्य निकायले गर्ने काममा पनि सीधै हस्तक्षेप गर्न थालेका छन् ।

त्यसको पछिल्लो उदाहरण हो पुस दोस्रो साता बोर्डले नेप्सेलाई दिएको निर्देशन ।

बोर्डले पुँजी बजारको विकासका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै नेप्सेलाई निर्देशन दिएको थियो ।

बोर्डले नेप्सेलाई दिएको ५ वटा निर्देशनमध्ये दोस्रो बुँदामा, ‘नेप्से सूचकांकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन आवश्यक देखिएको सन्दर्भमा अन्तराष्ट्रिय अभ्यासको समेत मध्यनजर गरी बजार प्रभावित पार्ने प्रवृतिलाई निरुत्साहित गर्न नेप्से सूचकांक बढ्दा र घट्दा सर्किट ब्रेक लाग्ने अवस्थालाई समयसामयिक बनाउ अन्तर्राष्ट्रिय अभ्यास समेतको अध्ययन गरी कार्यान्वयनका लागि बोर्डमा पेश गर्ने’ भनिएको छ ।

कसरी भयो हस्तक्षेप ?

धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ को सर्किट ब्रेकर सम्बन्धमा भनिएको छ कि- ‘निरन्तर कारोबार सुरु हुँदा कामय रहेको नेप्से परिसूचक देहाय बमोजिम घटबढ भएमा देहाय बमोजिम कारोबारमा सर्किट ब्रेकर लगाइनेछ ।

(क) निरन्तर कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से परिसूचक ३ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि ।

(ख) निरन्तर कारोबार सुरु भएको २ घण्ट भित्र नेप्से परिसूचक ४ प्रतिशतले घटी वा बढी भएमा ३० मिनेट ।

(ग) निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा सो पशचात त्यस दिनको कारोबार बन्द गर्ने ।

२. कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा १० प्रतिशतले घटी वा बढी हुने गरी सो दिन कारोबार हुने छैन ।

३. उपविनियम १ को २ मा उल्लिखित सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा बोर्डलाई जानकारी दिई नेप्सेले समय समयमा हेरफेर गर्न सक्नेछ’ भनेर प्रष्ट लेखिएको छ ।

यसको अर्थ सर्किट ब्रेक सम्बन्धी व्यवस्था हेरफेर गर्नको लागि बोर्डलाई सामान्य जानकारी गराए पुग्छ । तर अहिले बोर्डले आफ्नो क्षेत्राधिकार नाघेर नेप्सेलाई नियम विपरीत निर्देशन दिएको हो ।

नेप्सेका एक अधिकारीले बोर्डले क्षेत्राधिकार मिचेर निर्देशन दिएको र त्यो निर्देशन नेप्सेले बाध्य भएर मान्नु परेको बताए ।

‘बोर्डले भनेको नमान्दा हाम्रो निर्देशन नमान्ने, सेयर बजारको नियामक निकाय आफु हो भनेर विभिन्न समस्या सिर्जना गर्ने गरेको छ, मान्दा हामीले जानकारी गराएमात्र पुग्नेमा बोर्डबाट यो गर्नु भनेर निर्देशन आउने गरेको छ, गर्नैै नपर्ने काम पनि गर्नु परेको छ,’ नेप्सेका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

ती अधिकारीका अनुसार बोर्डले विनियमावली मिचेर नेप्सेलाई समस्या पार्नुको साथै अध्यक्ष कार्कीको कार्यकाल सकिने बेलामा मैले यो गरेँ, त्यो गरे भनेर देखाउन यस्ता खालका निर्देशन आएको हो ।

बोर्डले पुस दोस्रो साता निर्देशन दिएपछि नेप्सेका उपप्रबन्धक निरन्जन फुयालको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले सिर्कट ब्रेकका साथै उपत्यका बाहिर कुन–कुन ठाँउमा ब्रोकर कार्यालय खोल्ने लगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ ।

स्रोतका अनुसार उक्त प्रतिवेदन सर्किटको समयलाई अहिलेको भन्दा दोब्बर बनाउन प्रस्ताव गरिएको छ ।

अहिले भएको ३, ४ र ५ प्रतिशतलाई बढाएर क्रमशः ६, ८ र १० प्रतिशतको हाराहारीमा पुर्याउनु सादर्भिक हुने प्रतिवेदनमा समावेश गरिएको छ ।

उक्त प्रतिवेदन नेप्सेको सञ्चाल समितिमा पेश भएपछि सञ्चालक समितिले बोर्डमा पठाउने छ । बोर्डले अध्ययन गरेपनि कार्यान्वयनको चरणमा जानेछ ।

यता नेप्सेका केही अधिकारीका अनुसार २०६४ देखि सर्किट शुरु भएको र अहिलेसम्म ५०/६० पटक मात्र सर्किट लागेको छ । यो अहिले खासै प्रभावकारी देखिएको छैन ।

यस्तै उक्त अध्ययन समितिले प्रदेशिक संरचना अनुसार ब्रोकरको शाखा विस्तार गर्नुपर्ने र त्यसका लागि शाखा खोल्ने ठाँउको जनसंख्या, जीडीपी, व्यापार व्यवसाय लगायतलाई हेर्नुपर्ने उल्लेख गरेको बताइएको छ ।

यो हेर्दा प्रत्येक जिल्लामा ब्रोकरको शाखा जान सक्ने सम्भावना भने न्यून रहेको देखाएको छ । प्रतिवेदनमा सेयर बजारको विकासका लागि बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, स्टक डिल्लर समयमा नै ल्याउनु पर्ने लगायतका विषय समावेश भएका छन् ।

बोर्डले नेप्सेलाई उपत्यका बाहिर कति ब्रोकरलाई लाईसेन्स दिन सकिन्छ भनेर अध्ययन गर्न निर्देशन दिएर नियम विपरीत १४/१५ वटा ब्रोकरलाई शाखा विस्तार गर्न अनुमति दिएको बताइएको छ ।

ब्रोकर शाखा विस्तार गर्न नेप्सेको सिफारिसमा बोर्डले दिनुपर्ने भएपनि यतिबेला नेप्सेको सिफारिस बिना नै बोर्ड आफैले अनुमति दिइरहेको छ ।

अहिले नेप्सेको सिफारिस बिना नै शाखा विस्तारमा अनुमति दिने र भोलि कुनै समस्या परेको खण्डमा नेप्से के हेरेर बसेको छ भन्दै नेप्सेलाई पत्र काटेर आफ्नो शक्ति देखाउने बोर्डका अध्यक्ष कार्कीको नियत रहेको नेप्सेका अधिकारीहरु बताउँछन् ।


पुष्प दुलाल