ओली सरकारलाई स्वदेशीले भन्दा बढी विदेशी लगानीकर्ताले पत्याए, के कति लगानी आयो ?



काठमाडौं । दुईतिहाई जनमत पाएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिलाई तुलना गर्ने हो भने अघिल्लो एक वर्षभन्दा ओली सरकार गठन भएपछिको एक वर्षमा उद्योग क्षेत्रमा लगानीको प्रतिवद्धता दोब्बरले बढेको छ ।

तर, रमाइलो कुरा के छ भने स्वदेशी लगानीको प्रतिवद्धता घटेको र विदेशी लगानीको प्रतिवद्धता बढेको छ । मुलुकले राजनीतिक स्थिरता पाइसकेको विद्यमान अवस्थामा आर्थिक विकास र लगानीको अवस्थाले सरकारको सफलता र असफलताको मापन गर्छ ।

लगानीका हिसाबले ओली सरकारको एक वर्ष सुखद नै रह्यो । तर, स्वदेशी लगानीको प्रतिवद्धता घट्नुले नेपाली उद्योगी/व्यवसायीहरुले नै सरकारलाई विश्वास गर्न नसकेको देखिन्छ ।

ओली सरकारको एक वर्षमा अर्थात् २०७४ फागुन १ देखि ०७५ माघ मसान्तसम्ममा विदेशी लगानीकर्ताले ५२ अर्ब ६३ करोड रुपैयाँ लगानी गर्ने भन्दै उद्योग विभागमा प्रस्ताव गरेका छन् । गत वर्षको ठीक यही समय अवधिको तुलनामा यो ३२ अर्ब रुपैयाँले बढी हो ।

०७३ फागुन १ देखि ०७४ माघ मसान्तसम्ममा जम्मा २० अर्ब ९६ करोड ९ लाख रुपैयाँको मात्रै वैदेशिक लगानीको प्रस्ताब आएको थियो ।

ओली ०७५ फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यो अवधिमा स्वदेशी लगानी भने घटेको छ । गत वर्ष माघ मसान्तसम्ममा २७ अर्ब १० करोड ६ लाख रुपैयाँ रहेको स्वदेशी लगानीको प्रस्ताब यो माघ मसान्तमा १७ अर्ब ६४ करोड ५ लाख रुपैयाँ मात्रै रहेको छ ।

स्वदेशीको तुलनामा विदेशी लगानी धेरै हुनु स्वभाविक भएको उद्योग विभागका निर्देशक जीवनराज सेढाईंले बताउँछन् ।

‘उद्योग भनेको नाफामूलक हुने भएकोले नेपाली व्यवसायीले उद्योग क्षेत्रमा मात्र लगानी नगरी अन्य क्षेत्रमा लगानी गर्न सहज भएको हुदाँ उद्योग क्षेत्रमा कम लगानी देखिन पुगेको हुनसक्छ,’ निर्देशक सेढाईंले क्लिकमाण्डूसँग भने ।

कृषिजन्य, निर्माण, पर्यटन लगायतका ७ क्षेत्रमा विदेशीहरुले उक्त रकम लगानी गर्ने प्रस्ताव गरेका हुन् ।

स्वदेशी र विदेशी दुवै लगानीकर्ताले सबैभन्दा बढी लगानी उत्पादनमूलक क्षेत्रमा गरेका छन् । उत्दानमूलक क्षेत्रम स्वदेशीले ११ अर्ब २५ करोड ८ लाख रकम लगानीको प्रस्ताव गरेका छन् भने विदेशीले भने ८ अर्ब ४१ करोड रकम लगानी गरेका छन् ।

त्यसैगरी, स्वदेशी लगानीकर्ताले सबैभन्दा कम निर्माण क्षेत्रमा र विदेशी लगानीकर्ताले कृषिजन्य क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन् । स्वदेशीले निर्माण क्षेत्रमा ७६ लाख र विदेशीले कृषिजन्य क्षेत्रमा १ करोड ५४ लाख लगानी प्रस्ताव गरेका हुन् ।

स्वदेशीले उत्पादनमूलक क्षेत्रपछि उर्जामूलक, सेवामूलक, पर्यटन, खनिज, सूचना, प्रसारण तथा सञ्चार प्रविधि कृषिजन्य क्षेत्रमा लगानी प्रस्ताव गरेका छन् ।

०७४/७५ स्वदेशीले फागुनमसान्त देखि चैतसम्म उर्जामा २ अर्ब ९१ करोड १ लाख, सेवामा १ अर्ब २१ करोड ३ लाख, पर्यटनमा १ अर्ब ११ करोड ९ लाख, खनिजमा ५ करोड ३७ लाख, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ३ करोड ४६ लाख रुपैयाँ लगानी प्रस्ताव गरेका छन् ।

यस्तै सोही समयमा विदेशी लगानीकर्ताले भने उत्पादनमूलकमा ६ अर्ब ४९ करोड ३ लाख, पर्यटन ६ अर्ब ३६ करोड, सेवा २ अर्ब ८१ करोड ९ लाख, खनिजमा १ अर्ब ८१ करोड ३ लाख, सूचना प्रसारण तथा सञ्चारमा ४ करोड ४३ लाख लगानी प्रस्ताव गरेका छन् ।

गत आर्थिक वर्ष ०७३/७४ सोहि समयमा स्वदेशीले सबैभन्दा बढी उत्पादनमुलक, त्यसपछि क्रमश उर्जा, पर्यटन, सेवा, खनिज, सूचना प्रसारण तथा सञ्चार प्रविधि, निर्माण र कषिजन्यमा लगानी रकम प्रस्ताव गरेका थिए ।

स्वदेशी लगानीकर्ताले उत्पादनमुलक उत्पादनमूलक २० अर्ब १२ करोड ९ लाख क्रमश उर्जा २ अर्ब ६४ करोड ७ लाख, पर्यटन १ अर्ब ९९ करोड १ लाख, सेवा १ अर्ब ३४ करोड ५ लाख, खनिज ५ करोड ३८ लाख, सूचना प्रसारण तथा सञ्चार प्रविधि २ करोड ४८ लाख, निर्माण १ करोड २१ लाख र कषिजन्यमा ८३ लाख रुपैयाँ लगानी प्रस्ताव गरेका थिए ।

त्यस्तै, विदेशीले ०७३/७४ सबैभन्दा बढी लगानी उत्पादन, त्यसपछि क्रमश पर्यटन, सेवा, खनिज, कृषिजन्य, उर्जा,सूचना प्रसारण तथा सञ्चार प्रविधि र निर्माणमा लगानी प्रस्ताव गरेका थिए ।

विदेशी ०७३/७४ सबैभन्दा बढी लगानी उत्पादनमा ८ अर्ब ४१ करोड, त्यसपछि क्रमश पर्यटनमा ४ अर्ब १६ करोड ५ लाख, सेवामा २ अर्ब ३६ करोड ९ लाख, खनिजमा २ अर्ब ८ लाख, कृषिजन्यमा १ अर्ब ९५ करोड ७ लाख, उर्जा १ अर्ब ६९ करोड ५ लाख, सूचना प्रसारण तथा सञ्चार प्रविधि ३ करोड ५१ लाख र निर्माणमा १० लाख लगानी प्रस्ताव गरेका थिए ।

सरकारले यही चैतमा विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्दैछ ।


पुष्प दुलाल