मध्यरातमा राष्ट्र बैंकले गरेका यी ४ व्यवस्था, जसले बैंकरलाई रिसले चुर बनायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार राति मौद्रिक नीतिको मध्यावधि समीक्षा सार्वजानिक गर्यो । दिउसो ३ बजेदेखि अर्थ मन्त्रालयमा ब्यवसायी, बैंकरसहति ब्याज घटाउने विषयमा छलफल भएको थियो । उक्त छलफल साँझ ५ बजे सकिएको थियो ।

व्यवसायीसँग छलफल सकिएको ४ घन्टामै राष्ट्र बैंकले व्यवसायीहरुले उठाएका मागको सम्बोधन गर्दै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा वेभसाइडमार्फत सार्वजानिक गर्यो ।

राष्ट्र बैंकले ब्याजदर घटाउनका लागि मौद्रिक नीतिाको मध्यावधि समीक्षामा नीतिगत व्यवस्था गरेको छ । यद्यपि व्यवसायीहरुले पूर्ण सन्तुष्टि जनाएका छैनन् ।

स्प्रेडको गणनाविधि, कल डिपोजिटमा १० प्रतिशतको सीमा, प्राथमिकताप्राप्त क्षेत्रमा बेस रेटमा २ प्रतिशतमात्रै प्रिमियम लिन पाउने र सेवा शुल्कमा कडाइ गर्ने व्यवस्था हुबहु कार्यान्वयन भयो भने बैंकिङ क्षेत्र तहसनहस हुन्छ ।

उता बैंकरहरु भने राष्ट्र बैंकले व्यवसायीको दबाबमा परेर बैंकिङ क्षेत्र नै धारासायी हुने नीतिगत व्यवस्था गरेको भन्दै रिसले चुर भएका छन् ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको समीक्षा गर्न बैंकर्स संघले बुधबार बिहान आकस्मिक पूर्ण बैठक बोलाएको थियो । बैठकमा अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए ।

अधिकांशकले राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले बैंकिङ क्षेत्रमा असाध्यै ठूलो चुनौति थपिएको धारणा राखे ।

‘राष्ट्र बैंकले गरेको व्यवस्था हुबहू लागू भए बैंकिङ क्षेत्र डुब्छ’ एक बैंकका सीइओले क्लिकमाण्डूसँग भने ।

बैंकरहरुको असन्तुष्टि कुन कुन व्यवस्थामा हो त ? ती सीइओले भने- स्प्रेडको गणनाविधि, कल डिपोजिटमा १० प्रतिशतको सीमा, प्राथमिकताप्राप्त क्षेत्रमा बेस रेटमा २ प्रतिशतमात्रै प्रिमियम लिन पाउने र सेवा शुल्कमा कडाइ गर्ने व्यवस्था हुबहु कार्यान्वयन भयो भने बैंकिङ क्षेत्र तहसनहस हुन्छ ।’

अरु व्यवस्थामा बैंकरहरुको कुनै आपत्ति नरहेको ती बैंकरले जानकारी दिए ।

‘अरु व्यवस्था ठीकै छन्, तर माथि उल्लेख गरिएका ४ व्यवस्थाका विषयमा भने हाम्रो गंभीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘हामी कडा रुपमा प्रस्तुत हुन्छौं ।’

सडक आन्दोलनकै भरमा अर्थ मन्त्रालय र राष्ट्र बैंक बैंकिङ पद्दतिनै भत्काउन लागेको बैंकरहरुको बुझाइ छ ।

‘के अब हामी पनि असन्तुष्टि लिएर सडक आन्दोलनमा जानु पर्ने हो ?’ उनले प्रश्न गरे ।

बैंकर्स संघले अहिलेसम्म आधिकारिकरुपमा बैठकको निर्णयबारे जानकारी गराएको छैन । अरु अवस्थामा बैठक सकिएपछि संघका अध्यक्ष तथा सहभागी सीइओहरुले मिडियामा बोल्थे । तर आजको निर्णय भने प्रेस विज्ञप्ती नै जारी गर्ने भएका छन् ।

‘संघको आधिकारिक निर्णय प्रेस विज्ञप्तीमार्फत जानकारी गराउने भन्ने कुरा भएको छ, हामी रिलिज तयार गरिरहेका छौं, के निर्णय भयो भनेर जान्नका लागि एकैछिन धैर्य गर्नुहोस्,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल