पुष्पलाल मध्यपहाडी राजमार्ग बनाउने खर्च दोब्बरले बढ्ने, समयमै सम्पन्न गर्न के गर्नुपर्छ ?



काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना भनेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा ढिलाई हुने भएको छ ।

मुआब्जा वितरण, निर्माण सामग्री अभाव, राजमार्गमा जलाशययुक्त आयोजनाहरु परेको कारण देखाँउदै सरकारले निर्माणमा ढिला हुने बताएको हो ।

सडक विभागले राजपत्रमा सीमा निर्धारण भएको सूचना प्रकाशित गनुपर्ने, निर्माण सामग्री समयमै उपलब्धी गराएमा मात्र संशोधित मिति अर्थात् ७८/७९ मा निर्माण सम्पन्न हुनसक्ने जनाएको छ ।

०७५/७६ मा सक्ने भने पनि विभागले उक्त लक्ष्यलाई संशोधन गरी ०७८/७९ मा सक्ने लक्ष्य राखेको छ । समय बढ्सँगै लागत पनि बढ्ने विभागले जनाएको छ ।

‘पहिलेको भन्दा हाल सम्पूर्ण सामग्रीको मूल्य बढी छ, जसले गर्दा लागत बढ्नु स्वभाविक हो,’ पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनलयका सूचना अधिकारी नारायण पौडेलले क्लिकमाण्डुसँग भने ।

शुरुमा राजमार्ग निर्माण गर्न ३३ अर्ब ३६ करोड लाग्ने अनुमान गरिएको थियो । तर अहिले लागत बढेर ८० अर्ब १४ करोड रुपैयाँ पुग्ने विभागले अनुमान छ ।

०७५/७६ मा ९० किलोमिटर राजमार्ग कालोपत्रे गर्ने योजना बनाएको विभागले त्यसका लागि सरकारसँग ७ अर्ब ४३ करोड बराबरको रकम माग गरेको छ । माग गरेको मध्ये हालसम्म निर्देशनालयले २ अर्ब ५० करोड रकम प्राप्त गरेको बताएको छ ।

यस्तै ०७६/७७ मा राजमार्गको ४२५ किलोमिटर कालोपत्र गर्न १८ अर्ब ५० करोड तथा ०७७/७८ मा कालोपत्र गर्न १६ अर्ब १९ करोड र ०७८/७९ मा ३३१ किलोमिटर कालोपत्रे गर्न ९ अर्ब ६४ करोड रुपैयाँ लाग्ने अनुमान आयोजनाले गरेको छ ।

पौडेलका अनुसार अझै पनि सहज रुपमा राजमार्ग निर्माण गर्न सकिने अवस्था छैन ।

‘राजमार्ग निर्माणमा सामान कै अभाव छ, पहाडको ठाउँ भएको हुदाँ बालुवा, गिट्टी, सिमेन्टको अभाव हुनपुग्दा भनेको समयमा काम गर्न नसकिने अवस्था छ,’ उनले भने ।

कुल लम्बाई १८७९ रहेकोमा हालसम्म ७५२ किलोमिटरमात्र कालोपत्रे भएको छ । १३० वटा पूल आवश्यक भएकोमा करिब ११० वटा पूल मात्र निर्माण गरिएको छ । १०३२ किलोमिटर सम्म बाटो खोलिसकेको छ भने १७४७ किलोमिटरसम्म भने गाडी गुड्न सक्छन् ।

‘एक हजार किलोमिटरभन्दा बढी बाटो खोलिएको भए पनि सहायक सडकहरु हुँदा गाडी भने साढे १७ हजार किलोमिटरसम्म गाडी चल्न सक्छन्,’ पौडेलले भने ।

पहिला सञ्चालनमा आएका सडकहरु पनि राजमार्गमा पर्ने हुदाँ पहिलाका सडक पनि स्तरउन्नित गरिने छ,’ उनले भने ।

राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्लालाई पार गर्ने छ भने ती जिल्लाका १९ वटा सदरमुकामलाई छोएर राजमार्ग जानेछ । राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ ।

गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर नै अघि बढ्छ ।

नेपालमा हाल विद्यमान ५८ नगरपालिकामध्ये २७ पहाडमा पर्छन् । यो राजमार्गले यी २७ ’सहर’ मध्ये १६ वटालाई चिरेर, छोएर वा छोएसरह भएर जान्छ । सहर र सदरमुकाम मात्र नभई यसको हालको रेखांकनभित्र अन्य थुप्रै साना सहर तथा बस्ती पनि पर्छन् ।

मुलुकको पुर्वपश्चिमसम्म जोड्ने महेन्द्र र हुलाकी राजमार्ग पछि यो तेस्रो राजमार्ग हो ।

राजमार्ग समयमै निर्माण सम्पन्न गर्नका लागि सरकारले गर्नुपर्ने कामहरु

-राजपत्रमा सडक सीमा निर्धारण भएका सूचना प्रकाशित गर्नुपर्ने ।

-राष्ट्रिय गौरवको आयोजनाको हकमा निर्माण सामग्रीको उत्खनन रोक्न नमिल्ने भनी बाध्यकारी व्यवस्था हुनुपर्ने ।

-जलाशययुक्त आयोजनाहरुको प्रभाव क्षेत्र एकिन नहुँदा निर्माणमा दुविधा रहेको ।

-मुआब्जाको सम्बन्धमा नेपाल सरकार र दातृ निकायबाट संञ्चालन हुने आयोजनामा एकैनासको व्यवस्था हुनुपर्ने ।

-राष्ट्रिय गौरवको आयोजनाको हकमा छिटो–छरितो काम गर्न आवश्यक ऐन, नियम तथा निर्देशिकाको व्यवस्था हुनुपर्ने ।

-विद्युतको पोल, खानेपानीको पाइपजस्ता अत्यवश्यक वस्तुहरुको कार्य सम्वन्धित निकायबाटै बजेट व्यवस्थापन गरी सम्पन्न गर्नुपर्ने ।


पुष्प दुलाल