छुट पाउने भएपछि लोभिए लगानीकर्ता, सेजमा २४ उद्योग दर्ता



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतको विशेष आर्थिक क्षेत्र (सेज) मा हालसम्म २४ वटा उद्योगले सञ्चालनको लागि अनुमति माग गरेका छन् ।

मन्त्रालयले सेजमा उद्योग सञ्चालनको लागि तीव्रता दिन भन्दै विशेष आर्थिक क्षेत्र ऐन-२०७३ लाई संशोधन गर्न विधेयक निर्माण गरेको छ ।

नयाँ विधेयक बनेसँगै सेजमा उद्योग स्थापनाका लागि व्यवसायीहरु आर्कषित भएका हुन् ।

‘हामीले व्यवसायीको हितलाई ध्यानमा राख्दै सेज ऐन संशोधनको लागि पठाएको छौं, यसले व्यवसायीलाई आकर्षित गर्नेमा हाम्रो विश्वास छ,’ सहसचिव सुन्दर थापाले भने ।

यसअघि सेजमा सञ्चालित उद्योगले उत्पादनको ७५ प्रतिशत निकासी गर्नेुपर्ने प्रावधान रहेको थियो । संसदमा प्रस्तुत गरिएको विधेयकमा ६० प्रतिशत निकासी गर्नुेपर्ने छ ।

त्यसैगरी, सेजमा उद्योग सञ्चालन गर्दा पहिलो वर्ष ५० प्रतिशत, दोस्रो वर्षमा ४० प्रतिशत र तेस्रो वर्षमा २५ प्रतिशत भाडा छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, हिमाली जिल्लामा सेजम उद्योग सञ्चालन गर्दा १० वर्षसम्म शतप्रतिशत आयकर छुट, अन्य स्थानमा रहेका सेजमा भने ५० प्रतिशत आयकर छुटको ब्यवस्था छ ।

यसअघि प्रतिवर्ग किलोमिटर मासिक १५० रुपैयाँ भाडादर राखिएपनि नयाँ व्यवस्था अनुसार प्रतिवर्ग किलोमिटर मासिक २० रुपैयाँको व्यवस्था गरिएको छ ।

सेजमा स्थापना हुने उद्योगले कच्चा पदार्थ लगायतका सामग्री आयात गर्दा यसअघि बैंक ग्यारेन्टी गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्न प्रस्ताब गरिएको छ ।

यस्तै गाडी खरिदमा भन्सार छुट भनिएपनि त्यो तोकिएको थिएन नयाँ व्यवस्था अनुसार १ प्रतिशत भन्सार छुटको व्यवस्था गरिएको छ । यस्तै यसअघि सेजको सञ्चालक समितिमा १८ जना रहने व्यवस्था भए पनि नयाँ व्यवस्था अनुसार १० जना हुनेछन् ।

हाल राष्ट्रिय सभाले स्वीकृत गरिसकेको उक्त विधेयक प्रतिनिधि सभामा पठाउने तयारी भइरहेको सेजले जनाएको छ । प्रतिनिधि सभाले विधेयक स्वीकृत गरेसँगै राष्ट्रपतिबाट प्रमाणीकरण भई लागु हुने नियम छ ।

व्यवसायीहरु भने सेज ऐन संशोधनको लागि लगिएसँगै आफूहरु उत्साही बनेको बताएका छन् । एरिब एग्रिकल्चर कम्पनीका सञ्चालक सरोज श्रेष्ठले सेज ऐन संशोधन हुने भएपछि आफूहरु उत्साही भएको बताए ।

व्यवसायीहरुले पहिले देखि नै सेज ऐनको संशोधनको माग गर्दै आएको सेजले बताएको छ ।

सेज स्थापना भएको लामो समय हुदाँ पनि व्यवसायीहरु सेजमा आएका थिएनन् । पुस मसान्तसम्म ६ वटा उद्योगले सञ्चालनको लागि अनुमति माग गरेसँगै सेजमा २४ वटा उधोग सञ्चालन हुन लागेका हुन् ।

१८ वटा उद्योगले १ लाख १६ हजार १ सय ११ वर्ग किलोमिटरमा उद्योग सञ्चालनको लागि अनुमति माग गरेका थिए । १८ उद्योगको ४ अर्ब ४५ करोड भन्दा बढी रकम बराबरको लगानी रहेको थियो ।

उद्योग सञ्चालनको लागि माग गर्नेमा शक्ति मिनरल्स, यस प्लाष्टिक, सिद्धार्थ पाइप, बुद्ध नेफकिन एण्ड तिम्यिु पेपर , एरिब एग्रिक्लचर लगायतका कम्पनीहरु रहेका थिए ।


पुष्प दुलाल