साढे ७ करोड खर्चेर कमलपोखरीको सौन्दर्यकरण गर्दै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको सौन्दर्यकरण गर्ने भएको छ । परम्परागत शैलीमा सौन्र्दयकरण गरिने कमलपोखरीको लागत भने करिब साढे ७ करोड रुपैयाँ हुने महानगरले जनाएको छ ।

सौन्दर्यकरणको क्रममा कमलपोखरीको पूर्वभागमा मूलद्धारा रहनेछ । मूलद्धाराबाट छिर्ने बित्तिकै एउटा पार्टी रहनेछ , जसमा शिवलिङ्ग राखिने महानगरले जनाएको छ । पोखरीको चारै कुनामा ४/४ मिटरको पार्टी निर्माण गरिनेछ । जसमा आराम गर्नुको साथै पोखरी समेत हेर्न सकिन्छ ।

महानगरका इन्जिनियर प्रेम श्रेष्ठका अनुसार पोखरीको वरिपरि फुटपाथ हाल कायमै रहेको अवस्थामा राख्नुको साथै सौन्र्दयकरणको क्रममा फुटपाथमा भने सुधार गरिने बताए । सौन्दर्यकरणको क्रममा पोखरीभित्र ढुंगेधारा समेत राखिने छ ।

‘उत्तर–पूर्वको कुनामा पुरानो संस्कृति झल्किने खालको ढुंगेधार तथा अन्य ४ वटा स-साना धारा रहनेछ,’ इन्जिनियर श्रेष्ठले भने ।

उक्त धारा पोखरीको सौन्र्दय बढाउनको लागि मात्र भएको हुदाँ धाराको पानी पिउन मिल्ने छैन ।

सौन्दर्यकरणको क्रममा पोखरीको बीच भागमा पानीको फोहोरा निर्माण गरिनेछ ।

‘पानीको फोहोरा गमलाको जस्तो आकृतिमा देख्न सकिन्छ भने रातको समयमा बत्तीको उज्यालोको कारण पानीको फोहोरा विभिन्न रंगमा देख्न सकिने,’ इन्जिनियर श्रेष्ठले भने ।

यस्तै पोखरीको पश्चिमी क्षेत्रमा बालबाटिका समेत हुनेछ । पिङ ,चिप्लेटी हुने हुदाँ बालबालिकाहरु खेल्न सक्ने महानगरले जनाएको छ ।

बालबाटिका सँगैको स्थानमा युवाहरुका लागि भने दुईवटा टेबल टेनिस कोर्ट हुनेछ । पोखरीको दक्षिण क्षेत्रमा भने शौचालय रहनेछ । पोखरी वरिपरि बस्नका लागि बेन्चहरु निर्माण गरिने महानगरले बताएको छ ।

डिजाइन आफै निर्माण गर्ने बताएको महानगरले निर्माणको जिम्मा भने निजी क्षेत्रलाई दिने भएको छ । निर्माणको लागि महानगरले बोलपत्र आह्वान समेत गरिसकेको छ । ७ वटा समूहले निर्माणका लागि निवेदन दिएको छ ।

हाल निवेदकहरुको मूल्यांकन भइरहेको महानगरका अधिकारी देवेन्द्र पौड्ेलले बताए । सौन्र्दयकरणको जिम्मा पाएको कम्पनीले महानगरबाट कार्यदेश पाएको मितिले एकवर्ष भित्रमा निर्माण सक्नुपर्ने व्यवस्था महानगरले गरेको छ ।

जुद्ध वारुणयन्त्र भवनमा महानगरको सभाहल निर्माण गरिने

महानगरले जुद्ध वारुणयन्त्र भवनलाई पुरानै शैलीमा निर्माण गर्ने भएको छ । वसन्तपुर क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत भएको हुदाँ जुद्ध वारुण यन्त्र भवन पुरानै शैलीमा निर्माण गर्न लागेका इन्जिनियर श्रेष्ठले बताए ।

‘विश्व सम्पदा सूचीमा सूचीकृत भएको हुदाँ ‘स्मारक संरक्षण ऐन २०१३’ अनुसार पुरानै शैलीमा निर्माण गर्न लागिएको हो,’ इन्जिनियर श्रेष्ठले भने ।

३५ फिटको उचाई रहने उक्त भवन भुईतला सहित दुईतले हुनेछ ।

‘बाहिरबाट हेर्दा तीनतलाको उचाई देखिए पनि भूईतलामा दमकल राखिने हुदाँ त्यसले दुईतला बराबरको स्थान ओगटने हुदाँ दुईतले भवन निर्माण गर्न लागिएको हो,’ श्रेष्ठले भने ।

सांस्कृतिक सम्पदा भएको हुदाँ ३५ फिट भन्दा माथि जान नमल्निे श्रेष्ठले स्पष्ट पारे । भूँइतलामा जुद्ध वारुणयन्त्रको ५ वटा दमकल राखिने छ । त्यसको माथि महानगरको सभा हल हुनेछ ।

‘पर्यटकीय क्षेत्र भएको हुदाँ महानगरले विशेष गरी विदेशीहरुसँगको भेटघाट तथा छलफलको लागि भन्दै उक्त हल निर्माण गर्न लागिएको हो,’ इन्जिनियर श्रेष्ठले भने ।

जुद्ध वारुण यन्त्रको भवन हाल जस्तो स्वरुप छ त्यस्तै नै हुने र बाहिर भने सुर्खे चुना(इट्टाँको धुलो र चुना) लगाइनेछ ।

‘भवनको बाहिरी भागको चार वटै क्षेत्रमा सुर्खे चुना लगाईने तथा भित्र निर्माण भने अन्य घरहरुसरह इट्टाँ , बालुवा , सिमेन्ट तथा छडहरुको प्रयोग गछौं,’ श्रेष्ठले बताए ।

यस्तै महानगरले वाघदरबारको भवन निर्माणको विषय भने अदालतमा रहेकोले निर्माण अघि बढ्न नसकेको जनाएको छ ।


पुष्प दुलाल