कोटेश्वर कंलकी सडक ‘एक्सप्रेस वे’लाई ‘सिटी रोड’मा परिवर्तन गर्नुपर्ने



काठमाडौं । गत सोमबार चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गरेको कोटोश्वर कंलकी चक्रपथखण्ड ‘एक्सप्रेस वे’ लाई ‘सिटी रोड’ मा परिवर्तन गर्नुपर्ने देखिएको छ ।

निर्माण गलत नभए पनि जनचाहना अनुरुप यसलाई ‘सिटी रोड’ मा परिवर्तन गर्नुपर्ने देखिएको चक्रपथ सुधार योजना कार्यालयले जनाएको छ ।

‘कंलकी कोटेश्वर सडकखण्ड जुन उद्देश्य राखेर निर्माण गरिएको थियोे त्यो गलत छैन, सडक एक्सप्रेस वेको उद्देश्य अनुरुप बनेको हो त्यसमा गलत छैन, तर शहरको बीचमा यस्तो सडक बन्न हुने थिएन । यसमा सरकारले ध्यान दिएन,’ शाखाका एक अधिकारीले भने ।

यस्तै कंलकी कोटेश्वर सडक गलत नभएको शाखाका इन्जिनयर निरन्जन शर्माले पनि स्वीकार गरेका छन् ।

‘सम्झौता अनुसार नै सडक निर्माण भएको हो । सडक ‘सिटी रोड’ भन्दा पनि एक्सप्रेस वेको उद्देश्यका लागि बनेको हो, तर जनचाहना ‘सिटी रोड’ को लागि आएको छ यसलाई परिवर्तन गर्नु छ,’ उनले भने ।

‘सिटी रोड’ मा परिवर्तन हुनुपर्छ भन्ने माग आएको देखिन्छ परिवर्तन गर्न सकिन्छ, परिवर्तन गर्ने प्रक्रिया पनि चलिरहेको छ त्यसको लागि समय लाग्छ,’ शर्माले अघि भने ।

एक्सप्रेस ‘वे’ मा बनेको कंलकी कोटेश्वर सडकमा ८ लेन थियो जसको ४ लेनमा प्रतिघन्टा ५० किलोमिटर र दाँयाबाँया रहेको ४ वटा लेनमा भने प्रतिघन्टा २० किलोमिटरको गतिमा गाडी चल्न सक्ने गरी निर्माण गरिएको भएपनि ‘सिटी रोड’ मा परिवर्तन भएपछि भने यो सम्भव नहुने उनको भनाइ थियो ।

‘सिटी रोड’ मा परिवर्तन गरेसँगै गति सिमित हुने, डिभाइडर, ट्राफिक धेरै आवश्यक पर्नुको साथै छोटो दुरीमा यात्रुहरु झर्ने र उक्लने प्रक्रिया हुन्छ । शाखाका अनुसार ‘सिटी रोड’ इन्घन तथा ट्राफिकको खपत पनि ज्यादा हुन्छ ।

एक्सप्रेस ‘वे’ बाट ‘सिटी रोड’ मा परिवर्तन गर्दा जेब्राक्रस, डिभाइडरहरुलाई बढाइँदै लगिन्छ भने आकाशेपुल पनि थप गर्नु आवश्यक हुने इन्जिनियर शर्माले बताए ।

लम्बाई १०.३७४ किलोमिटर र चौडाई करिब ४ मिटर रहेको उक्त सडकखण्ड निर्माण कै क्रममा गलत डिजाइन भएको भन्दै आलोचना भएको थियो । तर सरकारले त्यसलाई वेवास्ता गर्दै आएको छ ।

चिनियाँ पक्षले ४० वटा गाडी सहायक सडकबाट पस्न सक्ने कंलकी कोटेश्वर सडक निर्माण गरेका थिए । जुन सडकखण्डको साँचो गत सोमबारमात्र चीनियाँ राजदूत हउ याङ्चीले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी थिईन् ।

कंलकी कोटेश्वर पछि कंलकी महाराजगञ्ज दास्रो खण्ड निर्माणको विषय भने अन्यौल अवस्थामा रहेको इन्जिनियर शर्माले बताए ।

‘सरकारले भने निर्माण गरिदिन चीनियाँ पक्षसँग पहल गरेको छ तर चिनियाँ पक्षबाट भने कुनै जानकारी आएको छैन,’ उनले भने ।

चीनियाँ पक्षले ०७३/७४ मा कंलकी महाराजगञ्ज सडक खण्डको सर्वे गरेको थियो । कंलकीदेखि महाराजगञ्ज सम्मको दुरी भनेको करिब ८ किलोमिटर रहेको छ ।


पुष्प दुलाल