सीता जन्मिएको जनकपुरमा विश्व महिला सम्मेलन र मुक्तिनाथमा ऋषिमुनि ल्याएर महायज्ञ गरौंः सुरज बैद्य



२० लाख पर्यटकको संख्या ठूलो होइन । नेपालले यसअघि नै वर्षमा २० लाख पर्यटक भित्र्याइसकेको हुनुपर्थ्यो । म एउटा सानो उदाहारण दिन्छु, तिब्बत भन्ने ठाउँमा ह्लासा बाहेक धेरै कम ठाउँमा मात्रै पर्यटक जान्छन् । तिब्बतमा गत वर्ष २५ करोड पर्यटक गए । स्लामबुल शहरमा ३० करोड पर्यटकले भ्रमण गर्छन् ।

सिंगापुरमा ६० करोडले भ्रमण गर्छन् । सिंगापुरमा प्राकृतिक कुरा केही पनि छैन । सबै आर्टिफिसियल छन् । तर, सिंगापुर विश्वकै सबैभन्दा धेरै पर्यटक भित्र्याउने शहर हो ।

नेपालमा के छैन ? हामी यहाँबाट कुरा शुरु गरौं । हिमाल छ । पहाड छ । कला र संस्कृतिमा हामी कम छैनौं । धार्मिक संस्कारमा हामी कम छैनौं । हिन्दू होस् बौद्ध । हामी नेपालीहरुको स्वभाव नै हेर्ने हो भने पनि इमानदार दक्षिण एशियामा केही पनि छैन । यी यावत कुरा हुँदाहुँदै किन हामीले अहिलेसम्म २० लाख पर्यटक भित्र्याउन सकेका छैनौं । कहाँनेर हाम्रो कमजोरी रह्यो भनेर हामीले सोच्नुपर्ने बेला भइसकेको छ ।

हामीसँग छोटो समय छ । प्रचार गर्नु छ । ब्राण्डिङ गर्नु छ । प्याकेज बनाउनु छ । र, पर्यटक भित्र्याएर पनि देखाउनु छ । त्यसैले यो काम चुनौतिपूर्ण पनि छ ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने भनेर भनिएको छ । यो महत्वपूर्ण कुरा होइन । त्यो संख्या त म पुर्याउँछु पुर्याउँछु । महत्वपूर्ण कुरा के हो भने पर्यटनलाई यो मेरो पनि हो भनेर जनताले अपनत्व फिल गर्ने अवस्था सिर्जना गर्नु जरुरी छ । दार्चुलामा बस्ने होस् या धनकुटामा बस्ने नेपाली होस् । पर्यटन मेरा मेरा लागि हो भन्ने कुरा बुझाउन जरुरी छ । अहिले पर्यटक काठमाडौं, चितवन र पोखरामा केन्द्रित छन् ।


नेपालमा आउने पर्यटकहरुमध्ये १/२ प्रतिशत मात्रै पूर्व र पश्चिममा जान्छन् । जबकि पूर्व र पश्चिममा पनि पर्यटकीय संभावना प्रसस्तै छन् । पर्यटनलाई नेपालको आर्थिक विकासको मूल क्षेत्रको रुपमा लिएर अघि बढ्ने हो भने यो अत्यन्तै ठूलो संभावना भएको क्षेत्र हो ।

पर्यटनले ठूलो रोजगारी सिर्जना गर्छ भन्ने हामी सबैलाई थाहा छ । आज नेपालका युवाहरु कृषि गर्न चाहँदैनन् । युवाहरुको चाहानालाई पर्यटनले पूरा गर्न सक्छ । एउटा सानो गाउँलाई पनि पर्यटकीय हिसाबले विकास गर्ने हो भने मनग्ये आम्दानी हुन्छ । नेपालमा धेरै यस्तो संभावना बोकेका ठाउँहरु छन् । हामीले त्यस्ता ठाउँहरुको पहिचान गर्न सकिरहेका छैनौं ।

आज हामीले सगरमाथा र लुम्बीनीको प्रचार गरेर विदेशमा चिनाउँछौं । के विदेशीलाई चिनाउन सक्ने अरु पहिचान केही पनि छैन ?

संसारको दुई ठूला बजारको बीचमा हामी छौं । भारत र चीनको बीचमा बसेर म्यानिफ्याक्चरिङ इन्ड्रस्टी गरेर कसरी प्रतिस्पर्धात्मक बन्न सकौंला र ? तर, हामीले भवगानले दिएको प्रकृतिको प्रचार गरेर पर्यटनमार्फत् ठूलो आर्थिक फड्को मार्न सक्छौं । बिहारमा ५० डिग्री तापक्रम हुँदा काठमाडौंमा २४ डिग्री हुन्छ । हामीले यसको मार्केटिङ र ब्राण्डिङ गर्न सक्नुपर्यो ।

बुद्ध जन्मस्थल लुम्बीनीमा माटोको भाँडामा पानी बेच्ने हो भने पनि राम्रो कमाउन सकिन्छ । लुम्बीनी मै कालो चामल पाइन्छ । त्यसलाई राम्रोसँग प्याकेजिङ गरेर ब्राण्डिङ गर्ने हो भने बुद्ध जन्मेको ठाउँको चामल भन्दै मान्छेहरुले प्रतिकिलो ५ डलरमा किन्छन् । पशुपतिनाथ घुम्न आउने पर्यटकलाई के किनूकिनूँ लाग्ने बनाउने ?

नेपालमा पर्यटक त ल्याउने तर पर्यटकलाई काठमाडौंमै ६ बजेपछि बेच्ने प्रोडक्ट खै ? नेशनल ट्रेडिङ खाली जग्गा छ । त्यसलाई पर्यटकका लागि रात्रीकालीन बजारको रुपमा बिस्तार गरौं । हस्तकलाका सामान र  नेपाली/ नेवारी खाना मात्रै बिक्री गरौं ।

२०२० मा महाशिवरात्रीलाई विषेश तरिकाले मनाऔं । भारतमा हिन्दू धर्म मान्नेहरुलाई कसरी नेपालमा जानुपर्छ भनेर आकर्षित गर्ने ? म एउटा ब्यापारी हुँ । व्यापारीले कुनै पनि सामान बिक्री गर्नलाई प्याकेज बनाउँछ ।

अमिताभ बच्चन, ज्याक्मा जस्ता विश्वविख्यात कलाकारलाई राखेर नेपाल जाऔं भन्ने विज्ञापन बनाएर अन्तराष्ट्रिय मिडियामा प्रचार गर्ने हो भने त्यसको धेरै नै ठूलो प्रभाव पर्छ । यो भ्रमण वर्षलाई मैले नेपालको ब्राण्डिङ गर्ने सोच बनाएको छु ।

हामीसँग छोटो समय छ । प्रचार गर्नु छ । ब्राण्डिङ गर्नु छ । प्याकेज बनाउनु छ । र, पर्यटक भित्र्याएर पनि देखाउनु छ । त्यसैले यो काम चुनौतिपूर्ण पनि छ ।

नेपालमा पर्यटक त ल्याउने तर पर्यटकलाई काठमाडौंमै ६ बजेपछि बेच्ने प्रोडक्ट खै ? म त भन्छु नेशनल ट्रेडिङ खाली जग्गा छ । त्यसलाई पर्यटकका लागि रात्रीकालीन बजारको रुपमा बिस्तार गरौं । त्यहाँ हस्तकलाका सामान मात्रै बिक्री गरौं । नेपाली र नेवारी खाना मात्रै बिक्री गरौं ।

सीता नेपालमा जन्मिएकी हुन् । विश्व महिला सम्मेलन जनकपुरमा गरौं । त्यस्तै, मुक्तिनाथ, स्वर्गद्वारी लगायतका ठाउँमा भारतका ठूल्ठूला ऋषिमुनिहरु ल्याएर महायज्ञ गरौं । ब्राण्डिङ पनि हुन्छ । पर्यटक पनि आउँछन् ।

(नेपाल भ्रमण वर्ष २०२०का संयोजक बैद्यसँग गरिएको कुराकानीमा आधारित)


पुष्प दुलाल