हेजिङ नियमावलीको मस्यौदाः ४ प्रकारको क्षेत्रमा आउने लगानीको मात्रै हेजिङ हुने




काठमाडौं । नेपाल राष्ट्र बैंकले हेजिङ नियमावलीको मस्यौदा तयार पारेर अर्थमन्त्रालयमा बुझाएको छ । नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भएको निष्कर्षमा सरकार पुगेपछि राष्ट्र बैंकले नियामवलीको मस्यौदा बनाएर बुझाएको हो ।

राष्ट्र बैंकले हेजिङ नियमावलीको मस्यौदा बनाएर अर्थमन्त्रालयमा बुझाइ सकेको राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भिष्मराज ढुंगानाले बताए । सरकारले सो नियमावली स्वीकृत भने गरिसकेको छैन ।

अर्थमन्त्रालय स्रोतका अनुसार राष्ट्र बैंकले तयार पारेको मस्यौदामा ४ प्रकारको क्षेत्रमा आउने विदेशी ऋणको हेजिङ गर्ने उल्लेख गरिएको छ । नेपालका विकास परियोजनामा आउने अमेरिकी डलर ऋणको मात्रै हेजिङ गर्ने गरी मस्यौदा तयार पारिएको छ ।

मस्यौदामा सय मेगावाटभन्दा माथिका जलविद्युत आयोजना, ५० किलोमिटरभन्दा लामो ‘स्पीड’ सडक, ट्रान्समिसन लाइन र सरकारले तोकेका राष्ट्रिय महत्वका परियोजनामा आउने अमेरिकी डलर ऋणको हेजिङ गर्ने भनिएको छ ।

मस्यौदामा कति रकम बराबरको हेजिङ गर्ने भन्ने उल्लेख नभएको बताइएको छ ।

के हुन्छ हेजिङ गरेपछि ?
हेजिङ भनेको विदेशी ऋणदाताले ऋण दिएको मितिको विनिमय दर अनुसार अमेरिकी डलर खरिद गर्ने र सोही दरमा उसले तोकेको समयमा डलर दिने भन्ने हो । जस्तो कि आज कुनै विदेशी ऋण दाताले तोकिएका यी ४ क्षेत्र (वा अरु थप भए त्यसमा पनि) ऋण दिदा प्रतिअमेरिकी डलर ११० रुपैयाँ ८२ पैसामा नेपाल सरकारलाई डलर बेच्ने छ । र, सो ऋण दाताले अबको १० वा २० बर्षपछि सो ऋण लगानी फिर्ता लिने अबस्थामा सोही दरमा नेपाली रुपैयाँ बुझाएर अमेरिकी डलर लिन सक्नेछ ।

मस्यौदामा कति समयको लागि नेपालका परियोजनाले लिने ऋणको हेजिङ गर्ने भन्ने पनि उल्लेख नभएको बताइएको छ । हेजिङ गरेपछि अमेरिकी डलरको एउटा निश्चित विनिमयदर तय हुने र यसले गर्दा विदेशी ऋणदातामा विश्वास बढ्ने सरकारको अनुमान छ । यस्तो हेजिङ सरकारले गरिदिने हो ।

नेपाललाई फाइदा हुन्छ कि नोक्सान ?
यो कुराको ग्यारेन्टी अहिले नै गर्न नसकिने जानकारहरु बताउँछन् । हेजिङ समयपछि अमेरिकी डलर थप बलियो भएको अबस्थामा नेपाललाई फाइदा हुने र डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको अबस्थामा नेपाललाई नोक्सानी हुने अबस्था रहन्छ ।


क्लिकमान्डु