सरकारी प्रयासलाई पत्याएन पुँजी बजारले, १७ अंकले घट्यो नेप्से




काठमाडौं । सरकारले पुँजी बजार बृद्धिको लागि गरेको प्रयासलाई बजारले अस्वीकार गरिदिएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वको समितिले बजार बृद्धिको लागि गरेको सिफारिस कार्यान्वयन भएपनि पुँजी बजार मापक नेप्से परिसुचक भने घट्दो क्रममा नै देखिएको छ ।

सोमबार नेप्सेपरिसुचक १७.२६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । सो दिन ४० करोड ३ लाख रुपैयाँमा ११ लाख ७९ हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।

परिसुचक घटेपनि सो दिन जलविद्युत समुह ६.९५ अंकले, वित्त कम्पनी समुहको सुचक १.३९ अंकले र उत्पादनशील समुहको सुचक ७.१३ अंकले बढेका छन् । बाँकी समुहको सुचक भने घटेका छन् ।

नेप्सेका अनुसार सो दिन बैंकिङ समुहको सुचक १४.९४ अंकले, होटल समुहको सुचक १९.२७ अंकले, विकास बैंक समुहको सुचक १३ अंकले, निर्जीबन बीमा समुहको सुचक १६०.२३ अंकले, अन्य समुहको सुचक १०.४८ अंकले, लघुवित्त समुहको सुचक २३.५८ अंकले र जीबन बीमा समुहको सुचक १५३ अंकले घटेका छन् ।

घटेको बजारमा पनि जेविल्स फाइनान्सका लगानीकर्ताले ४.९ प्रतिशतले, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.२ प्रतिशतले, कालिका पावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतले र अरुण काबेली पावरका लगानीकर्ताले ३.२१ प्रतिशतले कमाएका छन् ।

सो दिन सबैभन्दा बढी गुमाउनेमा महिला सहयात्रा लघुवित्तीय संस्थाका लगानीकर्ता परेका छन् । सो कम्पनीका लगानीकर्ताले ८.२५ प्रतिशतले गुमाए । यस्तै पूर्णिमा विकास बैंकका लगानीकर्ताले ७.१८ प्रतिशत, हिमालयन बैंकका लगानीकर्ताले ६.८ प्रतिशत र जनता बैंकका लगानीकर्ताले ५.९८ प्रतिशतले गुमाए ।

लगानीकर्ताको माग सम्बोधन गर्न भन्दै डेपुटी गभर्नर श्रेष्ठ संयोजकत्वको समितिले मार्जिन ऋणलाई ५० प्रतिशतबाट बढाए ६५ प्रतिशत गर्न तथा ब्याजदर नियन्त्रणको लागि बैंकहरुको आधार दरमा सम्पत्तिको प्रतिफल लागत ०.७५ प्रतिशतले गणना नगर्न सिफारिस गरेको थियो । यस्तै कर्जा र निक्षेपबीचको ब्याज अन्तर आगामी चैत मसान्तपछि अहिलेको ५ प्रतिशतबाट घटाएर ४.७५ र असार मसान्तपछि ४.५ प्रतिशत गर्न सुझाव दिएको थियो ।

समितिले यस्तो सुझाव दिएपछि नेपाल राष्ट्र बैंकले यी सबै सुझाव कार्यान्वयन गरिसकेको छ । सुझाव कार्यान्वयनमा आएपछि गत अघिल्लो आइतबार नेप्से परिसुचक बढेको भएपनि त्यसयता बढ्न सकेको छैन ।

बजार केही बढ्ने वित्तिकै विक्रीको लागि धेरै सेयर आउने गरेको लगानीकर्ताहरुले बताएका छन् । यस्तो तथ्यले बजारमा लगानीकर्ताको अझै विश्वास नबढेको र मौका पाउनासाथ आफ्नो सेयर विक्री गरेर बाहिर निस्कने प्रबृत्ति देखिएको छ ।


क्लिकमान्डु