एजेन्टलाई बीमा कम्पनीले विदेश घुमाउन नपाउने



काठमाडौं । बीमा कम्पनीलहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने भएका छन् । एजेन्टलाई आकर्षित गर्न पछिल्लो समय बीमा कम्पनीलहरुले तालिमका नाममा विदेश घुमाउन लैजाँदै आएका थिए ।

बीमा भनेको एजेन्ट बेस बिजनेश हो । त्यसैले बीमा कम्पनीहरुले एजेन्टलाई खुसी पार्न मोटो रकम खर्च गर्दै आएका थिए ।

एजेन्टलाई विदेश घुमाउन लाने प्रतिस्पर्धाले संस्थागत सुशासनमा समस्या आएको भन्दै नियामक निकाय बीमा समितिले त्यसमा रोक लगाएको छ । समितिले सर्कुरल जारी गर्दै अर्को ब्यवस्था नभएसम्मका लागि एजेन्टलाई विदेश भ्रमणमा नलान बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

विदेशमा एजेन्टहरुलाई के कस्ता तालिम दिइन्छ ? भनेर बीमा कम्पनीहरुसँग समितिले बिवरण पनि मागेको छ । समितिलाई बिबरण दिएपछि समितिको स्वीकृति लिएर मात्रै एजेन्टलाई तालिम दिन पाइने छ ।

एजेन्टलाई विदेश घुमाउन लाँदा ठूलो खर्च भएको र त्यसले मोटो रकम विदेशी पैसा पनि खर्च भएकाले समितिले कडाइ गरेको हो । सरकारले वैदेशिक मुद्रा खर्च गर्नमा कडाइको नीति अबलम्बन गर्दै आएको छ ।

मुलुकको भुक्तानी सन्तुलन लगातार कहालीलाग्दो गरी घाटामा जान थालेपछि सरकारले एकपछि अर्को गर्दै विदेशी मुद्रा खर्चमा कडाइ गरेको हो । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा मात्रै मुलुकको भुक्तानी सन्तुलन ५७ अर्ब रुपैयाँभन्दा बढीले घाटामा गएको छ । त्यसैगरी, चालू खाता पनि घाटामा छ ।

सरकारले सवारीसाधनको आयातलाई निरुत्साहित गरेको छ भने विदेश भ्रमाण्मा जाँदा प्रतिव्यक्ति २५ सय डलरको सटही सुविधालाई घटाएर १५ सय डलरमा झारिसकेको छ । त्यसैगरी, भारतीय बजारमा सामन किन्दा कार्डबाट एक महिनामा एक व्यक्तिले १ लाखमात्रै भुक्तानी गर्न मिल्ने सीमा तोकेको छ ।


पुष्प दुलाल