दुर्गम गाउँपालिकाका यी अध्यक्ष, जो २०५१ सालदेखि गाउँमा बाटो खनेका खन्यै छन्



रामेछाप । देश संघीय संरचनामा गएपछि रामेछाप जिल्लामा आठ स्थानीय तह बने । ती आठ स्थानीय तहहरुमध्येको एक हो गोकुलगंगा गाउँपालिका । र, गोकुलगंगा गाउँपालिकामा अध्यक्ष बनेका छन् खड्कबहादुर सुनुवार । उनले गाउँमा विं.स २०४९ सालमा पहिलो पटक गाउँ विकास समितिको अध्यक्ष जितेका थिए । त्यसपछि शुरु भयो उनको गाउँ विकास गर्ने अभियान ।

कुनै पनि ठाउँको विकास हुनका लागि सडक अत्याबश्यक पूर्वाधार हो । जुन कुरा अध्यक्ष सुनुवारले पहिल्यै बुझेका थिए । त्यही कुरालाई मध्यनजर गर्दै उनले बाटो खन्ने योजना बनाए ।

तर २०५१ सालदेखि शुरु गरेको बाटो खन्ने अभियान अहिले गाउँपालिका अध्यक्ष बन्दा पनि जारी छ । उनी भन्छन्-२०५१ सालदेखि बाटो खन्न शुरु गरेको अहिले गाउँपालिका अध्यक्ष हुँदा समेत खनेको खनै खनेको खनै छु, अझै कत्ति खन्नु ?’

२०५१ सालमा उनले दोलखाको जिरीदेखि आफ्नो तत्कालीन गाविस रस्नालुसम्म बाटो खन्ने अभियान शुरु गरेको बताउँछन् । २०५४ सालमा भएको निर्वाचनमा पनि उनले गाउँ विकास समितिको अध्यक्षमा जित हासिल गरे । त्यतिबेला गाविसको लागि पाँच लाख रुपैयाँ बजेट आउथ्यो, त्यति बेला धेरै बाटो खनेको स्मरण गर्छन् उनी ।

त्यतिबेला उनको गाविसमा सरदर अन्ठाउन्न वटा टोल थिए । त्यतिबेला देखि सबै टोलटोलमा बाटो खन्न शरु गरेको र अहिलेसम्म पनि निरन्तर बाटो खनेको खन्यै गरेको उनको भनाई छ । अहिलेको अवस्थामा तत्कालिन सन्ताउन्न वटा टोलमा सडक पु¥याइसकेको उनी बताउँछन् ।

तर ती सबै बाटो कच्ची रहेका छन । ती बाटोहरु ठाउँ–ठाउँमा सोलिङ भएका छन् भने कतिपय ठाउँमा डोजरले खनेर राखिएको छ । कतिपय ठाउँमा भने मानिस आफैंले खनेका छन् ।

त्यो बेलादेखि बाटो खन्ने काम शुरु भए पनि अहिले आफु गाउँपालिका अध्यक्ष हुदाँ समेत बाटो खन्ने क्रम नरोकिएको बरु झन व्यापक भएको उनले बताए । तर उनले समाचारहरुमा गाउँपालिका अध्यक्षहरु आफैले डोजर किनेर चलाउकमो समाचार आएजस्तो आफ्नो डोजर पनि नभएको र डोजरको कमिसन पनि नलिने बताए ।

आफू आफ्नो गाउँको विकास होस भन्ने चाहाना बोक्ने मान्छे भएको उनको भनाई छ । उनको पहिलाको र अहिलेको आर्थिक अवस्थामा त्यति धेरै भिन्नता नभएको समेत बताए । अहिले स्थानीय तहमा नौ वटा बाटोलाई विशेष प्राथामिकता दिएर उनी अगाडि बढेका छन् । ती सबै आयोजना पाँच वर्पे योजना हुन । नौ वटा सडक योजनामध्ये अहिले दुइ वटा आयोजनाको डिपिआर भइसकेको छ । एउटा सडक बुर्के बाट देउराली डाडाँसम्म पुग्छ जुन २५ किलो मिटर लामो छ । अर्को सडक आयोजनाा २३ किलोमिटर लामो छ जुन भिमसेनस्थानदेखि फर्पुसम्म पुग्दछ ।

खिम्तीबेशीदेखि गर्जाङसम्मको बाटो कालोपत्रे नभएसम्म गाउँको खाका नखुल्ने उनको सोचाइ छ । २०५१ सालदेखि अहिलेसम्म आउँदा कच्ची सडकहरु प्रशस्त भएका छन । अव सडक खन्ने काम मात्र नभइ त्यसलाई स्थायित्व दिनुपर्ने उनको बुझाइ छ । अब आगामी बर्षदेखि सडक खन्ने काम सम्पन्न गरी ती सडकहरु ग्राभल र पिच गर्ने काम अगाडि बढाउन पर्ने उनको सोच छ ।


पुष्प दुलाल