खाद्य पदार्थ सेवन गर्दा मृत्यु भएमा १० लाख क्षतिपूर्ति !
काठमाडौं । कुनै व्यक्ति वा संस्थाले उत्पादन गरेको अथवा आयातकर्ताले आयात गरेको खाद्य पदार्थ उपभोग गर्दा उपभोक्ताको मृत्यु भएमा कम्तिमा १० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने भएको छ ।
खाद्य पदार्थ स्वच्छता तथा गुणस्तर ऐन २०७५ मा भएको व्यवस्था अनुसार कुनै कम्पनी तथा व्यक्तिले बनाएको खाद्य पदार्थले उपभोक्ताको अङ्गभङ्ग भएमा ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति तिर्नु पर्नेछ । अन्य क्षति भएको खण्डमा २ लाख रुपैयाँसम्मको क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।
सो ऐन अनुसार कुनैपनि खाद्य पदार्थ आयात गर्दा अनुमति लिएर मात्र खाद्य पदार्थ आयात गर्न पाइने भएको छ ।
नेपाल खाद्य तथा गुण नियन्त्रण विभागले आज खाद्य पदार्थ स्वच्छता तथा गुणस्तर ऐन २०७५ बारे छलफल गर्न आयोजित कार्यक्रममा खाद्य पदार्थहरु अनुमति लिएर मात्र आयात गर्न पाइने जानकारी दिइएको हो ।
विधेयकमा प्रवेश विन्दुमा आईसकेका खाद्य पदार्थ विभाग वा मातहत निकायले परीक्षण गरी गरेपछि मात्र प्रवेश गराइले विधेयकमा उल्लेख छ । साथै खाद्य पदार्थ ढुवानी गर्दा अन्य गैर खाद्य पदार्थसँगै हुनु नहुने ऐनमा उल्लेख छ ।
यस्तै, कुनै खाद्य पदार्थ उपभोग गर्दा व्यक्तिको मृत्यु हुने सम्भावना, मृत्यु भए वा शरीरलाई अपुरणीय क्षति भएमा अथवा हुने सम्भावना भएमा त्यस्तो कसुर गर्ने वा गराउनेलाई २ वर्षदेखि ५ वर्षसम्मको कैद वा ४ लाख रुपैयाँदेखि ६ लाख रुपैयँसम्मको जरिवाना अथवा दुबै सजाय गराउन सकिने विधेयकमा उल्लेख छ ।
खाद्य तथा खाद्य पदार्थमा स्वास्थ्यलाई असर पर्ने रोगकारक शुक्ष्म जीवाणुको उपस्थिति वा हानिकारक तत्व अथवा रसायनको अधिक उपस्थिति भएमा त्यसको कसुर गर्ने र गराउनेलाई ६ महिनादेखि १ वर्षसम्मको कैद वा १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको जरिवाना अथवा दुबै सजाय हुन सक्ने विधेयकमा उल्लेख छ ।
यस्तै, खाद्य पदार्थ स्वच्छता तथा गुणस्तर ऐन २०७५ अन्तर्गन अन्य कसुर फेला परेमा ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको जरिवाना वा ३ महिनादेखि ६ महिनाको जेल सजाय अथवा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।
कुनै व्यक्तिले यस ऐन वमोजिमको कसूर पटक पटक दोहोर्याएमा निजलाई पहिलेको भएको सजायको दोब्बर सजाय गर्न सकिने समेत विधेयकमा उल्लेख गरिएको छ ।