बीमा कम्पनीको पुँजी बृद्धिको म्याद थपिदै हो ? समिति भन्छः छलफल गर्दैछौं




काठमाडौं । बीमा समितिले दिएको निर्देशन अनुसार आगामी पुस मसान्तभित्रमा जीबन बीमा कम्पनीहरुको २ अर्ब रुपैयाँ र निर्जीबन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्छ ।

तर, अहिले संचालनमा रहेका पुराना कम्पनीमध्ये नेपाल लाइफ, नेसनल लाइफ, शिखर, हिमालयन, नेको र प्रभु इन्स्योरेन्सको मात्रै चुक्ता पुँजी पुगेको छ । यसमध्ये नेपाल लाइफ र नेसनल लाइफ जीबन बीमा कम्पनी हुन् । बाँकी निर्जीबन बीमा कम्पनी हुन् ।

निर्जीबन बीमा कम्पनीहरु तर्फ द ओरियण्टल, युनाइटेड, प्रिमियर, एभरेष्ट, सगरमाथा, प्रुडेन्सियल, लुम्बिनी, सिद्धार्थ, नेसनल इन्स्योरेन्स, आइएमइ जनरल, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, एनएलजी र जनरल इन्स्यारेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको ब्यालेन्ससीटमा देखिदैन । निर्जीबन बीमा कम्पनी तर्फकै अजोड इन्स्योरेन्स कम्पनी भने नयाँ कम्पनी हो ।

जीबन बीमा कम्पनीहरु तर्फ राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल, एसियन लाइफ, सूर्या र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ ब्यालेन्ससीटमा पुगेको छैन ।

जीबन बीमा तर्फकै आइएमइ लाइफ, युनियन, ज्योति, सन नेपाल, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, र प्रभु नयाँ कम्पनी हुन् ।

जीबन र निर्जीबन दुबै तर्फका बीमा कम्पनीहरुको चुक्ता पुँजी तोकिए अनुसार छ । उनीहरुले सर्बसाधारणलाई छुट्टयाएको सेयर विक्री गर्न नभ्याइसकेकोले मात्रै पुँजी कम देखिएको हो । प्रमोटरले आफ्नो तर्फबाट हाल्नु पर्ने जति रकम पहिल्यै हालिसकेका छन् ।

तोकिए अनुसार पुग्छ त पुस मसान्तमा पुँजी ?
यो सम्भावना अत्यन्तै कम छ । किनभने चुक्ता पुँजी बृद्धि गर्नुपर्ने पुराना कम्पनीहरुले गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिएर पनि तोकिए अनुसार चुक्ता पुँजी पुर्याउने प्रस्ताव बीमा समितिमा पेश गरेका थिए । समितिले पनि कम्पनीहरुको त्यस्तो प्रस्ताव स्वीकार गरेको छ ।

तर गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिनको लागि बार्षिक साधारणसभा गरिसक्नु पर्छ । अधिकांश बीमा कम्पनीहरुले अहिलेसम्म बीमा समितिबाट गत आर्थिक बर्षको ब्यालेन्ससीट स्वीकृत गराएका छैनन् । समितिबाट ब्यालेन्ससीट स्वीकृत नगराइ बार्षिक साधारणसभा गर्नै पाइदैन ।

तोकिएको समयभित्र बार्षिक साधारणसभा गर्न नसकिने अबस्था आएपछि बोनस सेयर दिएर तोकिए अनुसारको चुक्ता पुँजी पुर्याउन सम्भव हुने भएन । त्यसैले पुस मसान्तभित्रमा तोकिए अनुसारको चुक्ता पुँजी पुग्ने सम्भावना अत्यन्तै कम छ ।

साधारणसभा गर्न किन भयो ढिलाई ?
यो आर्थिक बर्षदेखि कार्यान्वयनमा आएको नेपाल लेखामान मापदण्ड (एनएफआरएस) अनुसार सबै बीमा कम्पनीहरुले आफ्नो सम्पत्ति र भविष्यमा आइपर्ने दायित्वको यकिन मूल्यांकन (ल्याट) गराउनु पर्छ । ल्याट गराउने बिमांकीय मूल्यांकनकर्ता (एक्चुरी) बाट हो । नेपालमा एक्चुरी नै छैनन् ।

यस्तो अबस्थामा सबै बीमा कम्पनीहरुले विदेशी (खासगरी भारतीय) एक्चुरीबाट आफ्नो ल्याट गराउनु पर्ने अबस्था छ । यो कार्य गर्न ढिलाइ भएकोले तोकिएको समयभित्रमा बार्षिक साधारणसभा गर्न नसकिने अबस्था आएको जानकारी बीमा कम्पनीहरुको साझा संस्था नेपाल विमक संघले बीमा समितिलाई गराइसकेको छ ।

पुँजी बृद्धिको समय थपिन्छ त ?
अधिकांश बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा तोकिए अनुसार चुक्ता पुँजी पुगेको देखिए पनि प्राविधिक कारणले त्यस्तो उल्लेख गर्न नसकिने अबस्था आएकोले यसमा पुनरविचार गर्न सकिने बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईँ बताउँछन् ।

‘विमक संघले यो बर्ष ल्याट गर्नुपर्ने भएकोले पुस मसान्तभित्रमा बार्षिक साधारणसभा गर्न भ्याइएन भनेर संस्थागत रुपमै जानकारी गराएको छ, ब्यालेन्ससीटमा हेर्दा अधिकांश बीमा कम्पनीहरुको चुक्ता पुँजी पुग्ने अबस्था देखिन्छ, तर ल्याट नगरी बार्षिक साधारणसभा गर्न दिन नसकिने र बार्षिक साधारणसभा नगरी बोनस सेयर दिएर तोकिए अनुसार चुक्ता पुँजी पुर्याउन कम्पनीहरुलाई समस्या हुने प्राविधिक अबस्था छ, यसमा हामी छलफल गर्दैछौं, उपयुक्त निकास दिइन्छ,’ अध्यक्ष चापागाईँले क्लिकमाण्डूसँग भने ।

विमक संघले बार्षिक साधारणसभा गरिसक्ने म्याद पुस मसान्तबाट बढाएर असार मसान्त गरिदिन समितिसँग अनुरोध गरेको छ । समितिले बार्षिक साधारणसभा गरिसक्नको लागि जति समय थप गरिदिन्छ, तोकिए अनुसार चुक्ता पुँजी पुर्याउने समय पनि त्यति नै बढ्ने देखिएको छ ।


क्लिकमान्डु