किन घटिरहेको छ सेयर बजार ?




२०७३ साउन दोस्रो साता १८८१ विन्दुमा पुगेको नेप्से परिसुचक आज (मंसिर १८, २०७५ मा) ११४२ विन्दुमा छ ।

२०७३ साउनको भन्दा अहिले सुचिकृत कम्पनीको अबस्था कमजोर छैन । अझ बलिया भएका छन् । कुनै पनि सुचक कमजोर भएकै छैन । तर, पनि किन घटिरहेको छ सेयर बजार ?

सेयर बजारलाई सबैभन्दा बढी प्रभाव राजनीतिक कारणले पार्ने गर्छ । नेप्से परिसुचक १८८१ विन्दुमा पुगेपछिको समयमा त्यस्तो कुनै राजनीतिक परिवेश बन्यो त, जसले सेयर बजारमा निरासा र वितृष्ण उत्पन्न गर्यो । त्यो पनि हेरौं ।

२०७४ सालमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । निर्वाचनपछि तीनवटै तहमा सरकार बने । तीनवटै तहका सरकारले अहिले सौहार्द रुपमा काम गरिरहेका छन् ।

यति मात्रै होइन, राजनीतिक अस्थिरताको कारण आर्थिक विकासले गति लिन सकेन भनेर नीति निर्माण तहका अधिकारीहरुले गर्ने गुनासो समेत सो निर्वाचनले सकिदियो । किनभने केन्द्र सरकार दुई तिहाई बहुमत सहितको नेकपाको नेतृत्वमा छ ।

नेकपाको आन्तरिक बाहेकका कारणले यो सरकार ५ बर्ष टिक्न कुनै गाह्रो छैन । स्थीर सरकार नै आर्थिक विकासको शर्त हो भने त्यो प्राप्त भएको छ ।

२०७२ सालमा बनेको संविधान मधेश केन्द्रीत राजनीतिक दलबाहेकको सर्बसम्मतिमा संविधानसभाले बनायो । संविधान निर्माणताका असहमत रहेका मधेश केन्द्रीत राजनीतिक दल पनि यो संविधानको संरचनामा आएका छन्, संविधानले तोके अनुसारको क्रियाकलापमा सहभागी भएका छन् ।

अहिलेसम्म आइपुग्दा यो संविधानलाई सबै पक्षले स्वीकार गरेको छ । भलै मधेश केन्द्रीत केही राजनीतिक दल अझै पनि संविधान संशोधनको कुरा उठाइरहेका छन् भने विप्लब नेतृत्वको र मोहन बैद्य नेतृत्वको कम्युनिष्ट पार्टी सहितका केही राजनीतिक दलहरुको संविधानप्रतिको असहमति छदैछ । संविधानप्रति असहमति राख्ने बहुसंख्यक दल पनि यो संविधान अन्तरगत नै आएर असहमति राखिरहेका छन् ।

यो कुरा दोहोर्याइरहनु परेन कि यो संविधान बहुसंख्यकको सहमतिमा आएको हो । संविधानले गरेको ब्यवस्था कुनै पनि ऐन कानुनले काट्न सक्दैन । संविधानले नै सबै पक्षलाई सन्तुष्ट नबनाएपनि सहमत हुन सक्ने अबस्था बनाएको छ भने ऐन वा कानुनले अप्ठेरो पार्ने भन्ने नै भएन । यस्तो अबस्थामा अहिले किन घटिरहेको छ सेयर बजार ?

विगत ३ आर्थिक बर्षदेखि नेपालको आर्थिक बृद्धिदर लगातार ६ प्रतिशतको हाराहारीमा छ । यो आर्थिक बर्ष ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य सरकारले लिएको छ । पुँजी बजारलाई अर्थतन्त्रको ऐना मान्ने हो भने यस्तो बेलामा किन घटिरहेको छ सेयर बजार ?

अर्थमन्त्री डा. युवराज खतिवडाले आवेशमा आएर कहिले सेयर बजारलाई अनुत्पादक वा कहिले जमिन ब्यक्तिको नाममा राख्दा समस्या भयो भन्ने प्रकारका अभिब्यक्ति दिनु बाहेक नीतिगत रुपमा सरकारले लगानीकर्तालाई अप्ठेरो हुने नियम वा कानुन बनाएको छैन । कुनै मन्त्रीलाई कुनै लहडमा के भन्न मन लाग्यो भन्ने कुराले खासै माने राख्दैन । यो उसको ब्यक्तिगत विचार हुन सक्ला । तर, नीतिगत र कानुनी रुपमा हेर्ने हो भने सरकारले लगानीमैत्री वातावरण बनाउन प्रयास गरिरहेको छ । यस्तो बेलामा पनि सेयर बजार किन घटिरहेको छ ?

संविधानले ब्यक्तिको सम्पत्तिको हक सुरक्षित गरेको छ । ब्यक्तिलाई पेशा ब्यवसाय गर्ने हकको ग्यारेन्टी गरेको छ । सेयर बजारमा लगानी गर्न पाउने ब्यक्तिको अधिकार संविधान विरोधी हुन सक्दैन । यस्तो लगानीलाई सरकारले कुनै पनि वहाना वा नाममा संकुचित गर्न संविधानले नै दिदैन । यस्तो बेलामा पनि सेयर बजार किन घटिरहेको छ ?

माथि उल्लेख गरिएका विषय सैद्धान्तिक विषय भए । ब्यवहारमा के भएको छ, त्यो हेरेपछि मात्रै यस्तो अबस्थामा किन घटिरहेछ सेयर बजार भन्ने प्रश्नको जवाफ पाउन सकिएला ।

जस्तो कि चालु आर्थिक बर्षको बजेटमा ‘एक अर्ब वा सोभन्दा बढीको पुँजीमा स्थापित सबै उत्पादनमुलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भइ पुँजी बजारमा सुचिकृत हुनुपर्ने ब्यवस्था गरिनेछ, प्राइभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थाहरुलाई पुँजी बजारमा प्रवेश गराइनेछ, नेपालको क्रेडिट रेटिङ गराइ विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिनेछ,’ भन्ने उल्लेख गरियो ।

चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमै आएको पनि ५ महिना सकिन लाग्यो । बजेटमार्फत सरकारले गर्छु भनेको काम गर्यो ? अहिलेसम्म त गरेको छैन ।

त्यतिमात्रै होइन, अर्थमन्त्रीमा डा. खतिवडा नियुक्त हुने वित्तिकैदेखि विवादमा आएको बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकरको विषय अहिले चर्चामा छैन । केही गर्नु थिएन भने पुँजीगत लाभकरको विषय उठाएर पुँजी बजारमा रडाको किन मच्चाएको ? यो कार्यले पनि लगानीकर्तालाई केही हदसम्म तर्साएको छ ।

चालु आर्थिक बर्षको बजेट मार्फत सेयरको पुँजीगत लाभकरलाई ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत बनाइयो । जम्मा साढे २ प्रतिशत मात्रै बढाइएको हो । तर, साविकको दरमा ५० प्रतिशत कर बढाउने कार्य कति उपयुक्त थियो ? यसले सेयर लगानीकर्ताको मनोबल कमजोर पारिदियो ।

अर्काे कुरा धितोपत्र बोर्ड अहिले सबै नेपालीको एउटा डिम्याट खाता अभियानमा छ । उर्जामन्त्री बर्षमान पुन जलविद्युतको सेयर हुनेलाई खोजीखोजी ज्वाइ बनाउने दिन आउँदैछ भनेर भाषण गर्छन् । सबै नेपालीले किन्ने पर्ने वा पाउनै पर्ने चिज हो सेयर ?

लगानीको सबैभन्दा संबेदनशील क्षेत्र नै सेयर बजार हो । लगानीकर्ताले पाइपाइको हिसाब गरेर लगानी थप्ने वा बेचेर नाफा बुक गर्नेदेखि लगानी एभरेजिङ गर्नेसम्मका कार्य विवेकसम्मत रुपमा विश्लेषण गर्नुपर्छ । सबै नागरिकमा सेयर बजारको जोखिम विश्लेषण गर्ने क्षमता हुन्छ ? जोखिम बहन गर्ने क्षमता हुन्छ ? अनि सबै नेपालीलाई किन दिनु पर्यो सेयर ? सक्नेले लगानी गर्दा हुदैन ? सबैको डिम्याट खाता किन चाहियो ? जलविद्युतको सेयर हुनेलाई खोजीखोजी ज्वाइ किन बनाउनु पर्यो ?

सम्बन्धित ऐनले बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्बसाधारणलाई दिनै पर्ने ब्यवस्था गरेको छ । कानुनले बाध्य नबनाएपनि सर्बसाधारणलाई सेयर बेच्न हौसियर आएको क्षेत्र भनेको जलविद्युत मात्रै हो । अरु क्षेत्र किन हौसिएर आएन ?

यसको साझो कारण छ । जलविद्युत क्षेत्रको नियामक छैन भन्दा हुन्छ । परियोजना निर्माणकै चरणमा सेयर बेच्न पाइन्छ । सेयर बेच्न थालेको ३ बर्षपछि लकिङ पिरियड सकिन्छ, अनि जलविद्युत कम्पनीका प्रमोटरहरु नै आफ्नो सेयर बेचेर भाग्छन् । एउटा पानीघट्ट चल्ने खोलाको लाइसेन्स लियो, सेयर बेच्यो, प्रमोटर भाग्यो । कसैले हेर्दैन, कसैले खोज्दैन, कसैले रोक्दैन ।

यस्तोमा फस्ने सर्बसाधारण नेपाली होइन र ? जसलाई जलविद्युतको सेयर हुनेलाई खोजीखोजी ज्वाइ बनाउने दिन आउदैछ भनेर मन्त्रीले गरेका भाषण, एक नेपाली एक डिम्याट योजनाले सेयर किन्न प्रेरित गर्ने सरकारी नीतिले फसाएको होइन र ?

धितोपत्र बोर्डले आवेदन भर्ने सबैलाई १० कित्ता भएपनि सेयर दिनै पर्ने नियम बनाएको छ । सेयर भन्ने चिज पनि सबैलाई समानुपातिक रुपमा बाढ्नै पर्ने चिज हो ?

सेयर सम्बन्धी जनचेतना अभिबृद्धि गर्न राज्य संयन्त्रले के प्रयास गरेको छ ? सेयर सम्बन्धी आधारभूत शिक्षा नदिइ सेयर थमाइदिदा आइपरेको समस्यामा बारेमा राज्यका निकाय किन संवेदनाशील भइरहेका छैनन् ? सेयर सम्बन्धी सामान्य पनि ज्ञान नभएको ब्यक्ति त १५० रुपैयाँमा किनेको सेयर १४५ रुपैयाँमा आउने वित्तिकै आत्तिन्छ नै । सेयर बजार घटेको वा बढेको दुबै बेलामा लगानीकर्ताले फाइदा लिन सक्छन् । तर, बाँठाले लिन्छन्, अहिले भइरहेको यही हो ।

बजेटमा अर्काे पनि ब्यवस्था छ । ‘५० करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका प्राइभेट लिमिटेड कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन प्रोत्साहन स्वरुप ३ बर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने प्रस्ताव गरेको छु,’ चालु आर्थिक बर्षको बजेटमा अर्थमन्त्रीले भनेका छन् । यो ब्यवस्था लागू भयो ? यो नीति ठीक रहेछ ?

ठीक थियो भने अहिलेसम्म ३५ अर्ब रुपैयाँभन्दा बढी नाफा लगिसकेको र ८४ अर्ब रुपैयाँ नाफा लान ठिक्क परेर बसेको कम्पनी एनसेल किन सर्बसाधारणलाई सेयर दिन तयार भइरहेको छैन ? यति धेरै नाफा गरिरहेको नेपाल टेलिकम सरकारले बाध्य गरेर बेचेको ६ प्रतिशत बाहेकको सेयर सर्बसाधारणलाई दिन किन तयार भइरहेको छैन ? वाइवाइ, नर्भिक अस्पताल, ग्राण्डी हस्पिटल, मेडिसीटी अस्पताल, ठूला कलेज वा गोर्खा ब्रुअरी जस्ता सफल कम्पनीहरु किन पुँजी बजारमा आइरहेका छैनन् ? यसको जवाफ हो, कहि कतै नीतिगत समस्या बाँकी नै छ ।

यस्तै नीतिगत समस्या र केही सरकारी उच्च अधिकारीको अभिब्यक्तिले सेयर बजारमा नकारात्मक असर पारिरहेको छ । यी असरको साकार रुप ‘लगानीकर्ताको मनोबलमा आएको कमी’का रुपमा देखिएको छ ।

सेयर बजारका जानकार दिलिप मुनकर्मी अहिले सेयर बजार घट्नुका पछाडि प्रमुख ६ वटा कारण भएको बताउँछन् । उनले दिएका कारणबाटै यो आलेखको बिट मारौं ।

१. सेयरको आपूर्ति धेरै भयो, त्यसैले सेयर बजार घट्यो ।

२. मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई कोर क्यापिटलको २५ प्रतिशतसम्म सेयर धितो कर्जा दिन पाउने ब्यवस्था गर्यो । सबै बैंक तथा वित्तीय संस्था सेयर धितो कर्जा दिन चाहदैनन् । दिन चाहनेसँग सीमा नाघ्ने अबस्था भयो । बजारमा तरलताको कमी छ । बैंक ब्याजदर धेरै भयो । त्यसैले सेयर किन्न चाहनेसँग पैसा भएन । पुँजीको उपलब्धता कमी भयो ।

३. प्राविधिक विश्लेषणले बजार अझै घट्ने देखाएको छ भन्ने हल्ला फिजियो । यस्तो हल्लाले सेयर लगानीकर्तामा मनोबैज्ञानिक त्रास सिर्जना गर्यो ।

४. नेपाली सेयर बजारमा कारोबारी धेरै भए । जसले पनि घटाएर सेयर किन्न चाहे । बजारबाट घटीमा सेयर किन्दा आफ्नो सम्पत्ति पनि घट्छ भन्नेतर्फ कसैले ध्यान दिएन । लगानी प्रतिफलभन्दा पुँजीगत लाभमा ध्यान बढी गयो । यसैले सेयर बजार घट्यो ।

५. म्युचुअल फण्ड बजारमैत्री भएनन् ।

६. सस्तोमा सेयर किन्ने होडले आफ्नै सम्पत्ति घटाउने प्रतिस्पर्धा चल्यो ।


क्लिकमान्डु