पूरा भयो बैंकरको माग, स्थानीय तहको साढे ३८ अर्ब निक्षेप बैंकहरुमा



काठमाडौं। सरकारले स्थानीय तहको बजेटको ५० प्रतिशत वाणिज्य बैंकहरुमा पठाएको छ । स्थानीय तहहरुले खोलेको वाणिज्य बैंकमा सरकारले आजै ३८ अर्ब ४६ करोड रुपैयाँ जम्मा गरिदिएको हो ।

स्थानीय तहको बजेट राष्ट्र बैंकमा रहेको सरकारको खातामा बसेको भन्दै बैंकरहरुले स्थानीय तहले नै बैंकहरुको खातामा राख्न पाउने ब्यवस्था मिलाउन आग्रह गर्दै आएको थियो । महालेखा नियन्त्रकले नमान्दा नमान्दै पनि सरकारले कार्यविधि संसोधन गरेरै भएपनि डेढ वर्षपछि स्थानीय तहको पैसा बाणिज्य बैंकहरुमा निक्षेप राख्न पाउने ब्यवस्था गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंसिर १ गतेदेखि नै यो पैसा बजारमा पठाउने प्रतिवद्धता गरेका थिए । तर, केही प्रक्रियातग कुराहरु मिलाउनु पर्ने भएकाले दुई हप्ताभन्दा बढी ढिला भएको हो ।

‘हामीले आजै स्थानीय तहको ३८ अर्ब ४६ करोड रुपैयाँ बैंकहरुमा निक्षेपको रुपमा राख्न पाउनेगरी बजारमा पठाएका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

मंसिर ९ गतेलाई आधार मान्दा स्थानी तहमा विकास निर्माणका काम गर्न सरकारले दिएको बजेटमध्ये ७६ अर्ब रुपैयाँ सरकारको खातामा थियो । उक्त रकमबाट आधा आज पठाइएको हो ।

यसअघि भने स्थानीय तहको बैंक खातामा पैसा हालिदिने वित्तिकै भोलिपल्टै राष्ट्र बैंकको खातामा सारिहाल्ने ब्यवस्था थियो । यसरी सरकारी ढुकुटीमा पैसा बस्दा बैंकहरुमा लगानी योग्य पुँजीको अभाव भएको थियो ।

स्थानीय तहले खर्च गरेपछि मात्र त्यो पैसा बैंकहरुले निक्षेपका रुपमा परिचालन गर्न पाउँथे। संघीय सरकारले जस्तै स्थानीय तहले पनि बजेट खर्च गर्न सकिरहेका छैनन् ।

‘थोरै भएपनि बैंकिङ प्रणालीको तरलतामा राहत हुनेछ,’ शिवाकोटीले भने ।

एकैदिन साढे ३८ अर्ब रुपैयाँ निक्षेप थपिएपछि बैंकहरुको औषतमा ७८/७९ प्रतिशत रहेको सीसीडी रेसियो अलि तल झरेको छ । त्यस्तै, भोलिदेखि नै लगानी गर्न मिल्ने ३१ अर्ब रुपैयाँ पुँजी थपिएको हो ।

७५३ वटा स्थानीय तहमध्ये ६७७ स्थानीय तहमा बैंक पुगेका छन्। स्थानीय तहमा धेरै शाखा हुने बैंकलाई भने बढी फाइदा हुने देखिएको छ ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले डेढ वर्षको मिहेनत पछि सरकारले स्थानीय तहको पैसा बैंकहरुमा निक्षेपको रुपमा राख्न पाउने ब्यवस्था मिलाएको भन्दै खुसी ब्यक्त गरे ।

‘हाम्रो माग पूरा भएको छ, यो पैसा आएसँगै बैंकहरुमा विद्यमान रहेको तरलताको समस्याको समस्या धेरै हदसम्म हुने निश्चित छ,’ ढुंगानाले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल