सामाजिक सुरक्षा कार्यक्रम, कर्मचारीले पाउने तलब बढ्ने



काठमाडौं । केपी शर्मा ओलीको सरकारले आज निकै न प्रचार गरेर सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्यो ।

सबैजसो दैनिक पत्रिकामा ज्याकेट विज्ञापन,अनलाइनहरुमा रोडब्लक तथा काठमाडौंको प्रमुख चोकहरुमा होर्डिङ बोर्ड सहित नयाँ युगको शुरुवात भनेको केपी ओलीको तस्बिर सहितको विज्ञापन छ ।

योगदानमा आधारित सामाजिक सुरक्षाको नेपालमा बहस भएको करिब १० वर्ष पुगेको छ । संविधानको मौलिक हकमा समेत यसलाई राखिएको छ ।

योसँग सम्बन्धित भएको विधेयक योगदानमा आधारित सामाजिक सुरक्षा कानून गतवर्ष नै पारित भएको थियो । ओली सरकार आएपछि नियमावली बन्यो र यसलाई कार्यान्वयनमा लगेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षामा ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत रकम थपेर दिने छन् । यस आधारले हेर्दा तत्काल श्रमिक तथा कर्मचारीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दर्ता हुँदा पाएको तलब घट्ने छ ।

पाउने तलब घटेपनि एकमुष्ट रुपमा भने कर्मचारीको तलब बढ्ने छ । यसले रोजगारदातालाई थप २० प्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेको छ । जसको कारण रोजगारदाताले श्रमिकलाई गर्नुपर्ने खर्च बढ्ने छ । कर्मचारी संचय कोषमा रकम पठाउदा १० प्रतिशत श्रमिकको तथा १० प्रतिशत रोजगारदाताले पठाउने व्यवस्था छ । यसमा २० प्रतिशत पठाउने व्यवस्था गरिएको छ । श्रमिकले यसअघिनै सामाजिक सुरक्षा कोषको लागि तिर्दै आएको १ प्रतिशत र अफ थपिने १ प्रतिशत रकम यसमा थपिने छ ।

यसरी सामाजिक सुरक्षा कोषमा योगदान गरेको ६ महिनापछि सुविधा पाउनको लागि योग्य हुन्छ । पेन्सको लागि भने १५ वर्ष योगदान गरेको हुनुपर्ने छ ।
सामाजिक सुरक्षा योजनामा औषधी उपचार,स्वास्थ्य सेवा,मातृत्व तथा दुर्घटना सुरक्षा लगायत जागिर छाडेपछि पनि पाइने सुविधा उल्लेख छ ।

यो योगदानमा आधारित सामाजिक सुरक्षा हो । यसको संचालनको लागि श्रम मन्त्रालय अन्तर्गत एउटा कोष बन्ने छ । कोषमा रोजगारदाता सूचिकरण हुनुपर्ने छ । रोजगारदाताले सूचि बनाएर कोषमा दिएपछि श्रमिकले आफ्नो परिचयपत्र र नम्बर पाउने छन् । जुन नम्बरबाट आफुले योगदान गरेको रकमको जानकारी प्राप्त हुने छ । यो कोषलाई सबैभन्दा ठूलो बनाउने लक्ष्य सरकारको छ । यसमा अनौपचारिक रुपमा काम गर्ने श्रमिकलाई समेत समेट्ने योजना बनाइएको छ ।


क्लिकमान्डु