अन्तर्राष्ट्रिय बजारमा एकैदिन ८ प्रतिशतले घट्यो इन्धनको मूल्य, किन घटाउँदैन आयल निगम ?



काठमाडौं । पेट्रोलियम पदार्थमा व्यापारसँगै राजनीति पनि जोडिएर आएको हुन्छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानाको तेल किने कारवाही गर्ने धम्की दिए ।

जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतार–चढाव देखियो । यद्यपी चीन, भारत जस्ता ८ देशले इरानको तेल किन्न भने कुनै अवरोध नहुने ट्रम्पको आदेशमा उल्लेख थियो ।

बजार उतार–चढावपूर्ण भइरहेको बेला अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ एकै दिन ८ प्रतिशतले गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा समेत इन्धनको मूल्यमा गिरावट आएको छ । तर नेपालको बजारमा भने तेलको मूल्य घट्ने कुनै संकेत देखा परेको छैन । कारण नेपाल आयल निगमले घाटाको शोधभर्नाका लागि भन्दै इन्धनको मूल्य घटाउन अस्वीकार गर्दै आएको छ ।

भारतमा तेलको मूल्य निरन्तर ओरालो लागेको भारतीय सञ्चारमाध्यमहरुले विवरण सार्वजनिक गरेका छन् । लगातार ३ दिनदेखि भारतमा इन्धनको मूल्यमा गिरावट आएको छ ।

भारतीय आयल कर्पोरेशनले प्रतिलिटर २३ पैसा मूल्य घटाएको छ । शनिबारको उक्त विवरण सार्वजनिक भएसँगै भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोल ७५ रुपैयाँ २३ पैसामा कारोबार भएको छ । भारतमा आज आइतबार विदा हुने भएपनि अझै इन्धनको मूल्यमा गिरावट आउने अनुमान सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा ५० डलर ४२ सेन्टमा इन्धनको मूल्य आइपुगेको छ । शुत्रबार न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जमा ४ डलर २१ सेन्टले अर्थात. ७ दशमलब ७ प्रतिशतका दरले इन्धनको मूल्य घटेको हो । उक्त मूल्य सन् २०१७ को अक्टोबरको तुलनमा न्यून हो ।

यस्तै लण्डनको आसीइ एक्सचेञ्जको कोमेक्स डिभिजनमा बेण्ट क्रुड आयलको मूल्य ३ दशमलब ६६ सेन्ट अर्थात् ५ दशमलबव ९ प्रतिशतले घटेको हो ।

नोभेम्बर यता इन्धनको मूल्यमा २० प्रतिशतले गिरावट आएको छ । तर नेपाल आयल निगम भने इन्धनको मूल्य घटाउन तयार रहेको देखिएको छैन ।

उसले निमग ३ अर्ब ४२ करोड घाटामा रहेको र स्थिर कोषको रकम समेत सकिएको दावी गरेको छ । भारतीय आयल कर्पोरेशनले पछिल्लो पटक पठाएको मूल्य सूचीमा इन्धनको भउ घटेर आएको बताइएको छ । तर निगम इन्धनको मूल्य घटाउन तयार देखिएको छैन ।

तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक)ले पनि इन्धनको पछिल्लो मूल्य गिरावटलाई नजिकबाट हेरिरहेको बताएका छन् । एक डलरको मूल्यवृद्धि सँगै निगमको घाटा १७ करोड रुपैयाँ हुने प्रवक्ता विरेन्द्र गोइत दाबी गर्छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले स्वचालित मूल्यको नाममा नागरिकलाई भार पर्ने गरी इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएका थिए । गत साउन यता लगातार अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण इन्धनको आयात गर्दा निगम समस्यामा परेको बताइन्छ ।

तर भारतीय आयल कर्पोरेशनले लगातार मूल्य घटेको विवरण पठाइरहेका कारण निगमलाई केही राहत मिलेको बताइन्छ । तर निगम भने त्यो मान्न तयार छैन । उसले साउन यता भोगेको घाटा परिपूर्ति पछि मात्रै इन्धनको मूल्य समायोजन गर्न सकिने दावी गर्दै आएको छ ।

हिउँदको समयमा विकास निर्माणको काम समेत तिव्र गतिमा अगाडि बढ्ने र जाडोको समयमा ग्याँसको आपूर्ति समेत बढ्ने भएकाले माग भने उच्च रहेको छ । त्यसलाई परिपूर्तिका लागि पनि आयात बढाउनुपर्ने वाध्यातामा निगम छ ।

तर अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार घटिरहँदा मूल्य वृद्धि गर्नुपर्छ भन्ने आशय राखिनु भने गलत हुन जाने देखिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार तेल उत्पादक साउदी अरबले दैनिक १ करोड ६ लाख व्यारेल इन्धन उत्पादन गरिरहेको छ । रुसले पनि अत्याधिक रुपमा इन्धन उत्पादन गरिरहेका छन् ।

अमेरिकाको इन्धन उत्पादन त नयाँ कीर्तिमानी उचाईमा पुगेको छ । यस्तै ओपेकको बैठक आगामी डिसेम्बर ६ मा भियनामा बोलाइएको छ । सो बैठकमा तेल उत्पादन कटौती गर्ने प्रस्ताव ल्याउने तयारी गरिएको दावी गरिएको छ ।


पुष्प दुलाल