शिखरको १५ वर्षे यात्रा: लगानीकर्तालाई २२६ प्रतिशत प्रतिफल, बजारमा यसरी भयो लिडर



काठमाडौं ।  निर्जीवन बीमा कम्पनीको स्थापनाको वर्षलाई आधार मानेर हेर्दा शिखर इन्स्योरेन्स स्थापनाको १५ वर्ष पार गर्यो ।

गतवर्ष लाइसेन्स पाएर थपिएका तीनवटा कम्पनी र त्यसपछि आएका दुई कम्पनी मात्र शिखरभन्दा पछि आएका हुन् । यस हिसाबले निर्जीवन बीमा कम्पनीहरुमा शिखर पछिल्लो समय आएको कम्पनीमा पर्छ । तर,व्यवसाय र प्रतिफलको आधार हेर्ने हो भने कम्पनीले छोटो अवधीमा नै शिखरको स्थानमा पुगेको छ ।

१५ वर्षको किशोर अवस्थामा पुगेको शिखरले भने निर्जीवन बीमा व्यवसायमा भने शिखर चुमेको छ । हरेक सूचकमा निर्जीवन बीमा कम्पनीमा शिखर शिखरकै स्थानमा छ । अर्थात पहिलो नम्बर ।

१० करोड चुक्ता पुँजीबाट सुरु भएको कम्पनीको यात्रा १ अर्ब रुपैयाँको चुक्ता पुँजीमा पुगेको छ । नियामकले तोकेको चुक्ता पुँजी पुगिसकेको छ । २९ करोड ५६ लाख रुपैयाँ रिजर्बमा रहेको कम्पनीको ९० करोड रुपैयाँ बीमा कोषमा छ । अघिल्लो वर्ष ४० करोड नाफा गरेको कम्पनीले यो वर्ष पहिलो त्रैमासिक अवधीमा १० करोड नाफा गरेको छ ।

१५ वर्ष अगाडि एभरेष्ट छाडेर शिखरमा आउदा दीपप्रकाश पाण्डे कम्पनीलाई एक नम्बर बनाउने उद्देश्यले आएका थिए ।  एभरेष्ट निर्जीवन बीमा कम्पनीमा अग्रस्थानमा थियो । अग्रस्थानमा रहेको कम्पनी छाडेर आउदा पहिलो नम्बरको कम्पनी बनाउने इच्छा भने पुरा भएको छ ।

निर्जीवन बीमा कम्पनीले व्यवसाय र नाफाको आधारमा पहिलो स्थान प्राप्त गरेको भूकम्पपछि हो ।

‘भूकम्पपछि क्लेमलाई प्राथमिकता दिदा ग्राहकको विश्वास बढ्यो,जसले गर्दा कम्पनीमा आउने व्यवसाय बढ्यो,’ पाण्डेले क्लिकमाण्डूसँग कुरा गर्दै भने ।
कम्पनीले पुँजी बढाउनको लागि थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गर्यो जसले गर्दा क्षमता बढ्यो ।

‘पुँजीको क्षमता बढ्दै गएपछि व्यवसाय विस्तार तथा नाफा बढ्दै गयो,पुँजी बढ्दा नै व्यवसाय बढाउन सफल भएको हो,’उनले थपे ।

शिखरलाई शिखरको स्थानमा पुर्याउन पाण्डे सहितको टिमवर्कको प्रतिफल हो । जसले गर्दा निर्जीवन बीमा व्यवसायमा शिखर पहिलो स्थानमा निकै नै मजबुत छ ।
कम्पनी अहिले शाखा संख्या,कर्मचारी,नेटवर्थ,बीमा शुल्क आर्जन सबै आधारले पहिलो स्थानमा छ ।

भूकम्प अगाडिसम्म १ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन गर्न कठिन भएको कम्पनीले अहिले पहिलो त्रैमासिक अवधीमा नै करिब १ अर्ब जति बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको वित्तीय विवरण हेर्ने हो भने कम्पनीले पहिलो तीन महिनामा ८७ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

‘दुईवर्षभित्रमा हामीले ५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य छ, त्यसपछि कम्पनीलाई अर्को तरिकाले संचालन गर्ने हो,’ पाण्डेले भने ।

कम्पनीले दाबी भुक्तानीलाई अझै सहज बनाउने र ग्राहकलाई थप सन्तुष्ट बनाउने रणनीतिसँगै नयाँ प्रोडक्टको तयारी गरेको पाण्डे बताउँछन् ।
‘मार्केटको लिडरको हिसाबले शुसासन हाम्रो पहिलो प्राथमिकता हो,लिडर भएको हुनाले अरुभन्दा हामी थप चनाखो भएर अगाडि बढ्ने हो,’ पाण्डेले भने ।

अहिले कम्पनीमा ५५० जना कर्मचारी छन् अबको अर्को वर्षसम्म यो संख्या बढ्ने छ । केही वर्षभित्रमा ७ सयजना कर्मचारी शिखरमा आबद्ध हुने छन् ।

यस्तो छ लगानीकर्ताले पाएको प्रतिफल

१५ वर्षको प्रतिफल २३६ प्रतिशत छ । अझै अघिल्लो आर्थिक वर्षको प्रतिफल घोषणा नभएको हुँदा यो प्रतिफल रकम अझै बढ्ने नै छ । १५ वर्ष अगाडि १ लाख रुपैयाँको सेयर हुने लगानीकर्तासँग आज ४८ लाख रुपैयाँ बराबर सेयर छ ।

अझ बोनस सेयर मात्र खोज्ने साधारण लगानीकर्तालाई भने शिखरमा गरिएको लगानी निकै नै प्रतिफलयुक्त छ । कम्पनीले नगद लाभांश भन्दा बोनस सेयर बढी दिएको छ । प्रति सेयर आम्दानी औसतमा ४० रुपैयाँ छ ।

कम्पनीले तीनवटा वर्ष बाहेक अन्य वर्ष बोनस सेयर दिएको छ । तीन आर्थिक वर्षमा नगद लाभांश दिएको कम्पनीले एक पटक ५० प्रतिशत हकप्रद निकालेको छ भने एकपटक एफपिओ जारी गरेको थियो ।


क्लिकमान्डु